शुक्रबार, जेठ ०४, २०८१
Friday, May 17, 2024

काठमाडौं – भारतको उत्तराखण्ड हरिद्वारमा अहिले कुम्भ मेला चलिरहेको छ । सबैभन्दा धेरै मान्छे जम्मा हुने मेला हो कुम्भ मेला । भारतको कोरोना संक्रमणले रफ्तार लिइरहेको बेला कुम्भ मेलाका कारण संक्रमणलाई थप बल पुगेको छ ।

कुम्भ मेलामा सहभागी एक साधुको कोरोना संक्रमणबाट मृत्यु भएको छ । उत्तराखण्ड प्रशासनलाई उद्धृत गर्दै भारतीय मिडियाले दिएको खबर अनुसार कुम्भ मेलामा सहभागी एक महामण्डलेश्वर साधुको कोरोनाबाट मृत्यु भएको हो ।

कपिल देवदास नामका ती साधु ६५ वर्षका थिए । मेलामा सहभागी भइरहेका उनलाई केही दिनदेखि उच्च ज्वरो देखिएको थियो । श्वास-प्रश्वासमा समेत समस्या देखिएको थियो । १२ अप्रिलमा देहरादुनको एक अस्पतालमा भर्ना भएका उनको पिसिआर परीक्षण गर्दा कोभिड-१९ पोजेटिभ देखियो । बिहीबार ती साधुको मृत्यु भएको हो ।

त्यहाँको प्रशासनले जनाए अनुसार अहिलेसम्म कुम्भ मेलामा सहभागी ३० भन्दा धेरै साधुहरूलाई संक्रमण देखिइसकेको छ । संक्रमित हुने साधुको संख्या बढिरहेको छ। शनिबारबाट मेलामा सहभागी साधु-सन्तहरुको पिसिआर परीक्षणको दर बढाउने तयारी गरिएको छ। महाकुम्भ मेलाकै कारण उत्तराखण्डमा संक्रमितको संख्या तीब्र गतिमा बढिरहेको छ ।

तपाईको प्रतिक्रिया