बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

बितेको सिंगो एक वर्ष महामारीको त्रासदीमा बित्यो । स्थिति अझै संबेदनशील छ । हामीले चाहेका धेरै काम वर्षभरि गर्न पाएनौ, जानुपर्ने गन्तब्यमा पुग्न सकेनौ । सामाजिक, आर्थिक, साँस्कृतिक, शैक्षिक र पारिवारिक क्षेत्रमा पुगेको यसको क्षति र असर अबको बर्षौसम्म झेल्नुपर्ने निश्चित छ । मानिसहरुको जनजीवन पुरानै र सामान्य लयमा फर्कन अझै कति समय लाग्ने हो, यसै भन्न सक्ने अवस्था छैन ।
ठीक यति नै बेला हामी विसं २०७७ ले बिदा लिदै गरेको र नयाँ वर्ष २०७८ लाई स्वागत गर्ने पूर्वसन्ध्यामा उभिएका छौं । जापानको नेपाली समुदाय र परिवर्तित सन्दर्भमा मुलुकको समग्र पाटोका बारेमा वर्षभरिको समीक्षा गर्ने बेला हो यो । समीक्षाबाट सिक्दै आगामी वर्षको रेखा कोर्ने, भावी योजना तय गर्ने संघारमा उभिरहँदा बितेको वर्षमा भए गरेका उपलब्धि र आत्मालोचना गर्नुपर्ने बिषयहरुमा केन्द्रित हुनु जरुरी छ ।
वितेको वर्ष जापानको नेपाली समुदायका लागि मात्र नभएर सिंगो मानव समुदायका लागि उत्साहप्रद रहेन । धेरै पहिलेदेखि नियमित हुँदै आएका थुप्रै कार्यक्रमहरु हुन सकेनन् । संक्रमणको त्रासमा मानिसहरु घरभित्रै निसास्सिएर, थुनिएर बस्नुपर्दाको पीडा र छटपटी आफ्नै ठाउँमा रहे भने ब्यवसायिक क्षेत्रमा परेको असर र यसको प्रभाव क्रमशः देखिन थालेका छन् । कतिपयको रोजगारी गुमेका छन् भने कतिपयको रोजगारीसंगै भिसाको समस्या पनि एकैचोटी परेको अवस्था छ । आपसी सद्भाव र भाइचारा बढाउने तिज, दसैं, तिहारजस्ता वर्षभरिका पर्वहरु खुलेर मनाउन पाईएन र अबको स्थिति के हुने हो, त्यो पनि भविष्यकै गर्भमा छ ।
बिश्वभरका वैज्ञानिक र स्वास्थ्यकर्मी सक्रिय हुँदाहुँदै पनि समस्या नियन्त्रणमा आउन सकिरहेको छैन । बिश्वभर कोभिड-१९ का कारण मृत्यु हुनेको संख्या २७ लाख २७ हजार नाघिसकेको छ भने हालसम्म १२ करोड ३८ लाखभन्दा बढी मानिस यो भाइरसको चपेटामा परिसकेका छन् । अहिले पनि विश्वभर सक्रिय संक्रमितको संख्या दुई करोड १३ लाखभन्दा बढी छ । नेपालमा यो भाइरसले तीन हजार १६ जनाको ज्यान लिइसकेको छ भने दुई लाख ७५ हजारभन्दा बढी संक्रमित भइसकेका छन् । विश्वभरका हजारौं वैज्ञानिकको दिनरातको कठोर परिश्रमपछि कोभिड-१९ विरुद्ध केही खोप अस्तित्वमा आएका छन् । विश्वका विभिन्न भूगोलमा बस्ने सात अर्ब ५० करोडभन्दा बढी मानव जातिका लागि यो खुसीको विषय हो । यद्यपि, छोटो समयको परीक्षण र अनुसन्धानपछि ल्याइएका यस्ता खोपको प्रभावकारितालाई लिएर उठेका प्रश्न आफ्नो ठाउँमा यथावत् छन् । खोप बजारमा आए पनि अझै ढुक्क हुने अवस्था सिर्जना भइसकेको छैन ।
पछिल्लो समय विश्वभर पुनः कोभिड-१९ को दोस्रो लहर सुरु भएको छ । यो नयाँ भाइरसले मानव जीवनमा पुर्‍याउन सक्ने क्षतिको जोखिम कायमै छ । विश्वभरका वैज्ञानिक र चिकित्सकले कोरोनाको दोस्रो लहर आउन सक्ने चेतावनी निकै अघि दिएका थिए । छिमेकी मुलुक भारत पनि कोरोना भाइरसको दोस्रो लहरबाट नराम्ररी प्रभावित भएको देखिन्छ । भारतसंगको खुला सीमानाका कारण नेपालका लागि पनि अवस्था झनै भयावह हुने संभावना देखिन्छ । यसतर्फ बेलैमा सचेत हुन सकेनौं भने त्यसले पुर्‍याउने क्षति अकल्पनीय हुन सक्छ ।
हामी बसेको देश जापानमा पनि कोरोनाको दोस्रो लहरको जोखिम पछिल्ला दिनहरुमा अझ बढेर गएको छ । यसतर्फ सबै बेलैमा अझ सजग र सचेत हुनु आवश्यक छ । यसोहुँदा इतिहासकै बडो संबेदनशील घडिमा हामी नयाँ बर्षको स्वागत गर्न गईरहेका छौं । बितेका कष्टप्रद समयका कहरहरुबाट पाठ सिक्दै अधिकतम सजगता अपनाउँदै आसन्न बर्ष हामी सबैका लागि सुखद, सहज र सार्थक बन्न सकोस् भन्ने अपेक्षा गरौं । यस महत्वपूर्ण अवसरमा नयाँ बर्ष नेपाल र नेपालीका लागि सार्थक र उपलब्धिको बर्ष साबित हुन सकोस् सबैमा शुभकामना ।***

तपाईको प्रतिक्रिया