शुक्रबार, जेठ ०४, २०८१
Friday, May 17, 2024

काठमाडौं – सत्तारुढ नेकपा एमालेले सिरहाकी जानकी देवी रामलाई समानुपातिक सांसद बनाउने निर्णय गरेको छ । एमालेका प्रमुख सचेतक विशाल भट्टराईले यसबारेको जानकारी दिएका हुन् ।

समानुपातिक सांसद सानु सिवाको मृत्यु भएपछि खाली रहेको स्थानमा सिरहाकी रामले सांसद बन्‍ने अवसर पाएकी हुन् । एमाले केन्द्रीय कमिटीको बैठक अनुसार समानुपातिक उम्मेदवार बन्द सूचीको ८८ नम्बरकी जानकी देवीलाई निर्वाचित गर्न निर्वाचन आयोगलाई पत्र पठाउने निर्णय भएको भट्टराईले बताए ।

गत चैत ७ गतेको केन्द्रीय कमिटी बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सांसद हटाउने या राख्ने अधिकार दिएको थियो । दलित महिलाबाट उम्मेदवार जानकी देवीले उनीभन्दा अगाडिको नम्बरमा उम्मेदवार रहेकी धनकुमारी सुनारले पार्टी छाडेपछि अवसर पाएकी हुन् ।

यसअघि एमालेको बन्द सूचीको ८६ औं नम्बरकी सानु शिवा समानुपातिक सांसद निर्वाचित भएकी थिइन् । तर उनको गत असोज २८ गते उपचारका क्रममा काठमाडौं मेडिकल कलेजमा निधन भएको थियो ।

तपाईको प्रतिक्रिया