शुक्रबार, जेठ ०४, २०८१
Friday, May 17, 2024

काठमाडौं – सर्वाेच्च अदालतले नेकपा खारेज गर्ने यसअघिको फैसला पुनरावलोकन गर्नेमा आफू विश्वस्त रहेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई बदर गरी एमाले र माओवादी केन्द्र ब्यूँताउने फैसला पुनरावलोकन गर्न निवेदन बोकेर मंगलबार प्रचण्ड सर्वोच्च अदालत पुगेका थिए ।

पुनरावलोकन निवेदन बुझाएर फर्केपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले सर्वाेच्चको यसअघिको फैसला अस्वभाविक, अप्राकृतिक र राजनीतिक खालको भएको भन्दै त्यसमा पुनरावलोकन हुनेमा ढुक्क रहेको भनाइ राखेका हुन् । देश अग्रगमन र राजनीतिक स्थायित्वको निम्ति अघि बढिरहेका बेला एक भइसकेको पार्टीलाई विभाजन गरी फैसला आउनु उचित नभएको प्रचण्डले बताए ।

प्रचण्डसँगै नारायणकाजी श्रेष्ठ, कृष्ण बहादुर महरा, वर्षमान पुन, मात्रिका यादव, जनार्दन शर्मा लगायतका माओवादी नेताहरु सर्वोच्च पुगेका छन् । वरिष्ठ अधिवक्ता शम्भु थापा लगायतका अधिवक्ताहरू पनि प्रचण्डसँगै सर्वाेच्च गएका थिए ।

-प्रचण्डले सर्वाेच्च अदालतमा दर्ता गराएको निवेदन :-

तपाईको प्रतिक्रिया