Deneme Bonusu Veren Siteler
शनिबार, आषाढ २९, २०८१
Saturday, July 13, 2024

समाज परिवर्तनका लागि अगुवाई गर्नेहरुको भूमिका महत्वपूर्ण हुन्छ । कुशल अगुवा अर्थात नेतृत्वदायी भूमिका निर्बाह गर्न सक्ने सक्षम ब्यक्ति तयार गर्न समाजले ठूलो लगानी गरेको हुन्छ । स्वयम ब्यक्ति पनि अनेकौ पटकको परीक्षाबाट खारिएर भुक्तभोगी एवं परिपक्क भएपछि मात्र एउटा समुदायको अगुवाई गर्न लायक अर्थात सक्षम र जिम्मेवार बन्न सक्दछ । हरेक क्षेत्रमा एक कुशल नेतृत्वको आवश्यक पर्दछ । चाहे त्यो घरपरिवार, ब्यापार-ब्यवसाय होस् या राजनीतिक, सामाजिक, आर्थिक वा अन्य क्षेत्र होस् । एक कुशल अगुवाको अगुवाईमा मात्रै लक्षित परियोजना सफलतापूर्वक गन्तब्यमा अवतरण हुनेगर्दछ ।

यहाँ उठाउन खोजिएको प्रसंग देश चलाउने नेतृत्वको नभएर हामी बसेको जापानको नेपाली समुदायको हो । जापान आफैमा एउटा सुन्दर विश्वविद्यालय हो, जहाँ हरेक दिनको भोगाई र दैनिकी सिकाईसंग सम्बन्धित छन् । झट्ट सुन्दा अति सामान्य लागेपनि टेलिफोन कसरी उठाउने, दोस्रो पक्षलाई फोन गर्दा आफु कसरी प्रस्तुत हुने, इमेल वा चिठीपत्र पठाउँदा दोस्रो पक्षलाई आफ्नो बिषयमा कसरी ध्यानाकर्षण गराउने, दैनिक कार्यसम्पादनलाई कसरी प्रभावकारी ब्यवस्थापन गर्ने जस्ता बिषयले अत्यन्त उच्च महत्व राख्दछन् । यसैको आधारमा मानिसको ब्यक्तित्व झल्कने गर्दछ । मानव सभ्यताको उच्चतम बिन्दुमा पुगेको जापानको उन्नत र आदर्श समाजमा घुलमिल भएर बस्दै आएका हामी नेपालीहरु भने सो अनुरुपको अपेक्षित सिकाई हासिल गर्ने बिषयमा अझै पछाडि नै छौ भन्दा फरक नपर्ला ।

जापानमा सयौंको संख्यामा नेपाली संघसंस्थाहरु रहेको मानिन्छ । उनीहरुमध्य धेरैको रोडम्याप, कार्ययोजना, लक्षित गन्तब्य, कार्यक्रमिक एजेण्डा प्रष्ट छैनन् । त्यसकारण उनीहरु कुहिरोका काग झैं अन्यौलमा देखिन्छन् । यसो हुनुमा स्पष्ट दृष्टिकोण सहितको सक्षम लिडरशिपको अभाव हो । हामीलाई अति आवश्यक पर्ने जनशक्ति हामी आफैले उत्पादन गर्ने दिशामा हामीले कहिलै सोचेनौं । लाज नमानिकन भन्नुपर्दा हामीमा जे छ त्यसैमा सन्तोष मान्दै आत्मरतिमा रमाउँदै कर्मकाण्डी अर्थात काम चलाउ पारामा घिस्रिएको अवस्थामा हामी छौं ।

नेतृत्व भनेको हुनका लागि बन्ने र बन्नका लागि हुने मात्रै बिषय होइन । आफुले नेतृत्व गरेको समुदायलाई पहिलेको अवस्थाबाट परिष्कृत र उन्नत अवस्थामा लैजान सकेमा मात्र नेतृत्व क्षमता झल्किन्छ । अहिलेको परिदृश्य हेर्दा लाग्छ हामीले खादा, माला, आसनग्रहण, बिना प्रसंग र बिना तैयारीका भाषणभिषण एवं फुर्तीफार्तीमा रमाउने औसत जमात मात्रै हुर्काईरहेका छौं । थोरै भए पनि हाम्रो समाजलाई काम लाग्ने क्वालिटीका मान्छेहरु उत्पादन गर्न किन सकिरहेका छैनौं ? त्यतातिर ध्यान दिने हामी कसैलाई फुर्सद छैन या त्यहाँसम्म सोच्ने कसैमा चिन्तन नै छैन ।

बिषयगत ज्ञान र अगुवाई क्षमता ब्यक्तिले पहिलेदेखिनै बोकेर आउने जिनिस होईनन् । सिक्दै, भोग्दै, अध्ययन गर्दै परीक्षण हुँदै नारिएर, खारिएर, अभ्यस्त भएर उत्तीर्ण हुने बिषय हुन् । जसरी सिकारु कालिगढले मूर्ती बनाउन सक्दैन, सिक्दै गरेको खेलाडिले प्रतियोगितामा राम्रो नतिजा हासिल गर्न सक्दैन र सिक्दै गरेको प्रशिक्षार्थी पाइलटले सफलतापूर्वक जहाज अवतरण गराउनेमा आशंका रहन्छ, त्यसैगरी समाज हाँक्ने अगुवा पनि परिपक्व, निखारिएको र सक्षम एवं जिम्मेवार हुनुपर्दछ नत्र सकारात्मक परिणामको अपेक्षा गर्न सकिदैंन र दुर्घटना हुने प्रवल संभावना सँधै रहन्छ ।
संघसंस्थाहरुले सक्षम नेतृत्व तयार गर्नका लागि पहिलेदेखि नै सो अनुरुपको गतिबिधि सञ्चालन गरिनु आवश्यक छ । हामीकहाँ एकै ब्यक्ति दुई वा दुईभन्दा बढि संघसंस्थाको नेतृत्वदायी भूमिकामा रहने सँस्कार झाँगिन थालेको छ । यसो गरिनु स्वयम ब्यक्तिका लागि मात्र नभएर समाजकै लागि पनि उन्नत र वैज्ञानिक मान्न सकिदैंन । एकातिरको जिम्मेवारी वा कार्यकाल पूरा भएपछि मात्र अर्कोतिरको जिम्मेवारी लिनु सबैभन्दा राम्रो हो तर एकै समयमा दुई वा दुईभन्दा धेरै संघसंस्थाको नेतृत्वदायी जिम्मेवारीमा रहनुले राम्रो सन्देश प्रवाह त गर्दै गर्दैन र अपेक्षित नतिजा हासिल गर्न पनि सकिदैन । त्यसैले हामी यस्तो नेतृत्वको कल्पना गरौं र उत्पादन गर्नेतिर लागौं, स्वयमको इच्छाले हैन समाजले नै उसको अनिवार्य आवश्यकता ठानोस् ।***

तपाईको प्रतिक्रिया