शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडौं – झण्डै तीन वर्ष भूमिगत गतिविधि गरेको नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी भर्खरै शान्तिपूर्ण राजनीतिमा आएको छ । र यतिखेर देशभित्र मात्र हैन, बाहिरबाट समेत धेरैको ध्यान विप्लव नेकपातिर मोडिएको छ । तीन बुँदे सहमतिपछि यो पार्टी शान्तिपूर्ण राजनीतिमा आए पनि केहि प्रश्नहरु अनुत्तरित छन् । खासगरी हतियार र राजनीतिक बिषयबारे सहमति पत्र स्पष्ट छैन । यो समूहले उठाएका एजेण्डा यथावत् छन् वा सहमतिसँगै फेरिए ? अबको राजनीति कसरी अगाडि बढ्छ ? यही सेरोफेरो रहेर पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ संग समुद्रपारिका लागि नृप रावलले गरेको कुराकानीको सम्पादित अंशः-

राजनीतिक संघर्ष जारी रहँदा तपाईं एकाएक शान्तिपूर्ण राजनीतिमा आउनुभयो किन ?
बाहिर सरप्राइज जस्तो भएको रहेछ तर, यो एक्कासी भएको वार्ता र सहमति भने होइन । प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा विगत दुई वर्षदेखि हामी वार्ता मै थियौं । यद्यपि हाम्रो र सरकारको बीचमा संघर्ष चलिरहेको थियो तर पनि त्यसबीचमा पनि हाम्रो वार्ता चलिरहेको नै थियो । सरकारले हस्तक्षेप गर्‍यो हामीले त्यसलाई काउण्टर गरिरहेकै थियौं । त्यस समयमा मुख्य स्वरुप संघर्ष रहेको थियो भने वार्ता सहायक रहेको थियो । अहिले वार्ता मुख्य बन्न पुग्यो भने संघर्ष सहायक बन्यो । यसैकारण चाँहिं जनमानसमा सरप्राइज हो कि भन्ने बन्न पुगेको हो तर, यो सरप्राइज होइन, लामो समयदेखिको एक्सरसाइज हो । आन्दोलन भनेको सहिदको विचार, आस्था र सहिदको उद्देश्यको प्रतिनिधित्व हो । नेपालको परिप्रेक्षमा के भयो जनताले बलिदान गरे, नेता कार्यकर्ताले बलिदानी गरे, जो इमान्दार छ । तर आन्दोलनचाहिँ नेताहरूको आफ्नो व्यक्तिगत स्वार्थ पूर्ति गर्ने र सत्तामा जाने साधन बनाइयो । देश अहिले ०६२-६३ को भन्दा डरलाग्दो अवस्थामा छ, चाहे राष्ट्रिय स्वाधिनताको दृष्टिले वा जनताको जनजिविकाको दृष्टिले भन्नुस् । यसबेला हामी के ठान्यौ भने राजनीतिक दृष्टिले नयाँ नीति अगाडि सारेर फेरी एक पटक यो दुईवटै खतराबाट बचाउनको निम्ति पहल नगर्ने हो भने देश ‘कोल्याप्स’ हुन्छ भन्ने लाग्यो । त्यसकारण यो समय रोजेका हौं ।

०६३ देखि अहिलेसम्म १४ वर्षमा के उपलब्धि भयो र तपाईले हिंसा छोड्नुभो ?
विगतमा हामीले जे निष्कर्ष निकालेका थियौं त्यो सहि भयो । त्यहीबेला हामीले षडयन्त्र भयो, प्रतिक्रान्ति भयो भन्यौं । कथित दोस्रो संविधानसभाको नाटक गरिँदा हामीले त्यसलाई अस्वीकार गर्‍यौ र सडकमा आयौं । त्यतिबेला प्रतिक्रान्तिलाई क्रान्तिको डेन्टिङ-पेन्टिङ गर्ने अवसरवादी, धोकेवाज नेताहरु जो थिए, उनीहरुले गरेको ‘बकबास’ अहिलेसम्म आइपुग्दा आम नेपाली जनतामा प्रष्ट भएको छ । त्यो मुकुण्डो उत्रिएको छ । अब नेपाल कम्यिूनिस्ट पार्टीले यो देशको नेतृत्व नलिने हो भने बचाउने कोहि पनि छैन । संसदबादले बचाउँदैन र संसदीय परिपाटीले बचाउँदैन भन्ने कुरा सामान्य मान्छेले पनि बुझ्ने गरी स्पष्ट भएको छ । त्यसैले अहिलेको सम्झौता भनेको धोका अनि संसदबादले पैदा गरेको समस्याको समाधान गर्नको निम्ति अथवा नेपालको अहिलेको राजनीतिक संकटको क्रान्तिकारी, अग्रगामी निकास दिनको निम्ति यो सम्झौता भएको छ ।

उसो भए तपाईंहरुको मुख्य मुद्दा यथावत् नै छ ?
यो धेरै महत्वपूर्ण प्रश्न हो । हामीले सम्झौता गरिसकेपछि राष्ट्रिय राजनीतिमा समाजमा उठेका प्रश्न र बहस हो यो । यो वार्ता र सहमति ऐतिहासिक, अतुलनीय र भव्य छ । २०६२/०६३ को आन्दोलनसम्म आउँदा नेपाली जनताले एउटा ठूलो मुक्तिको अपेक्षा गरेका थिए । जनताले आफ्नो राजनीतिक, आर्थिक, साँस्कृतिक लगायत सम्पूर्ण अधिकार र राष्ट्रको स्वाधिनता स्थापित भएको हेर्न चाहन्थे । राजतन्त्रको अन्त्य त भयो, तर जनताको शासन आएन । त्यसकारण हामीले नेपाली राजनीतिको रिभ्यू गर्नुपर्छ भनेका छौं । हाम्रो मुद्दा भनेको अहिलेको दलाल पुँजीपती बर्गको सत्ता बदल्नु हो । त्यहाँ श्रमजीवि, उत्पीडित जनताको सत्ता बनाउनुपर्छ भन्ने हो । अहिले संसदीय व्यवस्थाले जनताको स्थिति झन् खस्किएको छ । त्यसो हुनाले यो व्यवस्था नेपाली जनताको प्रतिनिधित्व गर्ने ब्यवस्था भएन । जनतालाई वैज्ञानिक समाजवादी व्यवस्था चाहिन्छ । र व्यवस्था बदल्ने हाम्रो राजनीतिक एजेण्डा कायमै छ ।

तपाईहरु पनि सत्ता नै हेर्नुभएको त होइन ?
राजनीति भनेको स्वयंसेवकको रुपमा देश र जनताको सेवा गर्ने हो । तर नेपालमा त्यस्तो भएको छैन । यो फाइदाको लागि चल्ने र लुटको पेशा बनेको छ । त्यसैले त नेपालको राजनीति यति छिट्टै ‘ड्यामेज’ भयो । राजनीति गर्ने मानिस, पार्टी पनि ‘ड्यामेज’ भए । हामीलाई त अशान्ति मच्चाउने र संविधान नमान्ने भनेर प्रतिबन्धित नै गरियो तर, अहिले सत्ता र संसदीय राजनीतिभित्र भएका कसैप्रति जनताको आशा र विश्वास छ ? १० वर्षको जनयुद्धमा जनताको आशा बोकेको पार्टीलाई छिछि र दुरदुर गर्ने हामीले बनाइदिएको हो र ? नेतामा पैदा भएको विचलन, राष्ट्र र जनताप्रति गरेको गद्दारी र धोकाको परिणाम हो यो । हामीले पनि त्यसै गर्‍यौ भने भोलि हामी पनि त्यही हुन्छौं । तर हाम्रो राजनीतिक लाइन र प्रतिबद्धताको दृष्टिले त्यसो गर्दैनौं । बरु हाम्रो बलिदानी हुनेछ ।

केपी ओलीसंग सहकार्य गर्ने कुरा बाहिर आएको छ, यसलाई कसरी स्पष्ट पार्नुहुन्छ ?
हामीले अगाडि सारेका मुद्दाहरु जो थिए, ती विषयको समाधान वार्ताको टेबुलबाट भयो । यो कुरा कुनै पार्टीको नभई जसको नेतृत्वमा सरकार छ, उसैसंग हुन्थ्यो । अहिले ओलीजी भएकाले उहाँसंगै भयो । र हामीले सहकार्य गर्ने भन्ने सोचेका पनि छैनौं, अफवाह फैलाउनेप्रति आपत्ति छ । साँचो कुरा के हो भने-अब हामी हाम्रो एजेण्डाबारे ओलीजीं, प्रचण्डजी, देउवाजी, महन्थजी, बाबुरामजीको पार्टीसंग कुरा गर्छौ। अहिलेको समाधानको रुपमा हामीले वैज्ञानिक समाजवाद अघि सारेका छौं । एजेण्डामा सहमत हुने पार्टीसंग सहकार्य हुनसक्छ । र हाम्रो एजेण्डा मात्र होइन, समग्रमा हेर्दा अहिलेको अवस्थामा प्रचण्डभन्दा ओली राष्ट्र्रबादी देखिन्छन् । त्यसो हुँदा वैज्ञानिक समाजवाद र संसदीय व्यवस्थाबारे जनमत संग्रह र प्रगतिशील संयुक्त सरकार हाम्रो माग हो ।

मुख्य दलका शीर्ष नेताहरु असफल भए भन्ने तपाईको निष्कर्ष हो ?
हेर्नुहोला, जस्तै ०४६ देखि अहिले ७७ सम्म आउँदा ३ दशक भयो । यो ३० वर्ष त उहाँहरुलाई दिएको हो नि त, नेपाली जनताले विश्वास गरेको होइन ? उहाँहरुलाई अवसर होइन, अनि किन नगरेको त नि ? त्यसकारण उहाँहरु फेलियर हुनुभयो सम्भव छैन अब । यो त हामीले भन्ने कुरा होइन, उहाँ प्राटिकल्ली फेलियर हुनुभयो । ०६२-६३ देखि ७२ सम्म आउँदा माओवादीलाई थिएन ठूलो अवसर ? प्रचण्ड, बाबुराम र किरणजीले त्यो अवसर पाएका होइनन् ? किन नगरेको त ? जनता कहाँ छन् थाहा छ, उहाँहरुलाई अहिले ? अनि राजनीति भनेको पण्डित्याई हो ? त्यसकारणले हामीले के भन्यौं भन्दाखेरी अहिलेको संकटबाट बचाउन पार्टीलाई नयाँ नीति लिएर अगाडि नजाने हो भने देश डुब्ने भयो भन्ने निष्कर्षका साथ हामी यहाँ आएको हो । अब हामी नेतृत्व गर्छौ, संकटको समाधान हुन्छ ।

सरकारसंगको सम्झौतामा हतियारको कुरा आएन भनेर प्रश्न उठाएका छन् नि ?
हामीसंग हतियार छैन । देशमा युद्ध चलेको थियो भने सेना र हतियारको कुरा आउँछ तर, युद्ध चलेको थिएन भने हतियारको कुरा सान्दर्भिक हुँदैन । राज्यसंग हतियार र सेना छ, युद्ध नभएको हुनाले पार्टीसंग हतियार हुने कुरा भएन । कुरा यत्ति हो ।

तर प्रहरीले हतियार बरामद गरेको भन्ने कुरा चाहिँ के हो ?
एउटा कुरा के हो भने, हतियारभन्दा पहिला राजनीतिको व्यवस्थापन गर्नुपर्छ । कपिलवस्तु र दाङबीच धानखोला भन्ने ठाउँमा सातवटा एसएमजी र कतिवटा हतियार ‘क्याप्चर’ गरियो भनेर अफवाह फैलाए । त्यो हाम्रोबिरुद्ध षडयन्त्र थियो, हतियार हाम्रो थिएन । पछि त्यही प्रमाणित भयो । अहिले म यत्ति भनुँ ।

अन्त्यमा, ०६३ सालसम्मको तपाईहरुको नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गर्न नसकेको बाँकी काम तपाईं कसरी पूरा गर्नुहुन्छ ?
हाम्रो क्रान्ति जारी छ, क्रान्तिबाट पूरा गर्छौ। क्रान्तिको अहिलेको मोर्चा भनेको शान्तिपूर्ण राजनीति भनेका छौं, त्यो बाटोबाट हामी जनताको बिचमा जान्छौं । र यो सत्ता बदल्छौं, शासन बदल्छौ, संविधान बदल्छौं अनि नेतृत्व बदल्छौं र हामी पूरा गर्छौं । ‘जिस्ट’ कुरा यहि हो । नेपालको भविष्य चुनौतीपूर्ण छ तर, धेरै उज्वल छ । जब द्वन्द्व बढ्छ त्यसले सहि नेतृत्व पाए अग्रगामी निकास पाउँछ र नेतृत्व पाएन भने द्वन्द्व चर्किन्छ । ***

तपाईको प्रतिक्रिया