शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौं – प्रतिनिधि सभा विघटनको विवाद निरुपण भएसंगै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको ध्यान अब महाधिवेशनतिर हुने देखिएको छ । कांग्रेसले आफ्नो १४ औं महाधिवेशन तोकिएको समयमा गर्न नसकेपछि संविधानको सहारा लिँदै सभापति शेरबहादुर देउवा कार्यसमितिको म्याद ६ महिना थपेर महाधिवेशनको मिति भदौ ७ का लागि तोकेको छ । योसँगै कांग्रेसमा महाधिवेशनको माहोल तातेको त छ । उम्मेदवारका आंकाक्षीहरु खुल्दैछन् र तीमध्येका एक हुन् केन्द्रीय सदस्य सुजाता कोइराला । कांग्रेसलाई बलियो बनाउन ‘नयाँ अनुहार’ सभापति बन्नुपर्ने उनको तर्क छ । यसै सन्दर्भमा वर्तमान राजनीतिक परिवेश र उहाँको उम्मेदवारीका विषयमा केन्द्रीत रहेर नेतृ कोइरालासंग समुद्रपारिका लागि नृप रावलले गरेको कुराकानीको सम्पादित अंशः-

नेपाली कांग्रेसले तोकिएको समयमा महाधिवेशन गर्न सकेन किन ?
हामीले के कुरा बिर्सन हुन्न भने १४ औं महाधिवेशन फागुन ७ गतेको कार्यतालिका थियो तर, त्यो समयभित्र अधिवेशन हुन सकेन । हामीले संविधानको सहयोग लिएर महाधिवेशन गर्ने मिति ६ महिना बढाएका छौं । अझै पनि महाधिवेशनको तयारी धेरै अगाडि बढेको छैन । महाधिवेशन सम्पन्न गर्ने तयारी गर्न पनि लामो समय लाग्ने स्थिति छ तर, अब थपेको समयभित्र महाधिवेशन सक्नैपर्ने बाध्यकारी अवस्थामा हामी छौं । त्यो मितिभित्र महाधिवेशन हुनुपर्छ । कार्यतालिका प्रकाशन गर्ने मात्रै होइन, त्यसलाई कार्यान्वयन गर्ने बाध्यकारी निर्णय गरी अगाडि बढ्नुपर्छ । जसरी पनि हामीले अब तोकिएको समयमा महाधिवेशन सम्पन्न गर्नुपर्छ ।

महाधिवेशन हुनेमा आशंका गर्नुभयो नि ?
विकल्प रहेसम्म कुर्सीमा बसिरहने मनोविज्ञानले कांग्रेसमा महाधिवेशन गर्नमै समस्या उत्पन्न भएको हो । अब साढे ५ वर्षभन्दा बढी समय हामीले थप गरेर हुने अवस्था संविधानतः छैन । संवैधानिक व्यवस्था साढे ५ वर्षभन्दा बढी नभएको र हामीसँग यो ६ महिना अन्तिम समय भएको कारणले यो समयभित्र वैधानिक पक्षबाट हामी महाधिवेशन गर्न बाध्य हुन्छौं । आशंका गर्ने ठाउँ भएपनि विगतमा जस्तो विकल्प नभएकाले यो पटकको कार्यतालिका कार्यान्वयन नगरी सुखै छैन ।

पार्टी सभापति शेरबहादुर देउवाको भूमिकालाई कसरी लिनुभएको छ ?
देउवाजी धेरै ठाउँमा चुक्नुभो । उहाँले धेरै ठूलो अवसर पाउनुभएको थियो, जुन गुमाउनुभयो । जुन किसिमले पार्टीभित्र मेहनत गर्न सक्नुपर्थ्यो उहाँले सक्नुभएन । व्यापारी, पत्रकार, नागरिक समाजसम्म उहाँ पुग्न सक्नुभएन । छलफल र बहसमा उहाँ सहभागी हुन सक्नुभएन । गिरिजाबाबु प्रतिपक्षमा हुँदा मन्त्रालयका कर्मचारीसंग छलफल गर्नुहुन्थ्यो वा बुझ्न पठाउनुहुन्थ्यो र बाहिर ल्याउनुहुन्थ्यो त्यो देउवाजीको नेतृत्वमा हुन सकेन । समग्रमा भन्नुपर्दा देउवाजीले जति गर्न सक्नुहुन्थ्यो त्यो उहाँले गर्नुभएन, उहाँको नेतृत्व राम्रो देखिएन ।

आगामी महाधिवेशनको लागि तपाईंको तयारी चाहिं के छ ?
सभापतिको उम्मेदवार बन्ने तयारीमा जुटिसकेको छु । जिल्ला सभापतिदेखि विभिन्न नेता-कार्यकर्तासँग भेटघाट, छलफल र जुम मिटिङमा व्यस्त छु । यी भेटघाट र छलफलमा मैले उम्मेदवारीको कुरा गर्दा धेरैजना खुशी र उत्साहित हुनुहुन्छ ।

तपाईंको उम्मेदवारी किन ?
पहिलो कुरा, अहिलेको गुट-उपगुट समाप्त पार्न सक्छु । ठूलो पार्टीमा गुट नहुने भन्ने त नहोला, तर तल्लो तहसम्म गुटका कारण पार्टी निस्क्रिय र अस्तव्यस्त हुन दिन्नँ । पार्टीले भ्रातृ संस्थाहरुलाई क्रियाशील बनाउनै सकेन । भ्रातृ संस्था पार्टीको खम्बा भएकाले यसलाई क्रियाशील बनाइराख्न सक्छु । क्रियाशील सदस्यदेखि हरेक तहका संरचनालाई सक्रिय बनाइराख्न सक्छु र गुट-उपगुट अन्त्य गर्दै गिरिजाबाबुले भन्ने सहमति, सहकार्य र एकताको पक्षबाट पार्टीलाई अगाडि बढाउँछु । पार्टी राजनीतिलाई आर्थिक विकाससंग जोडेर अगाडि बढाउने मेरो सोच छ । ‘पोलिटिक्स विथ डेभलपमेन्ट’ को अवधारणाबाट मैले काम पनि सुरु गरिसकेको छु । र अहिलेसम्म कुनै पनि महिलाले उम्मेदवारी दिनसकेका छैनन्, यसले नेपाली कांग्रेसले इतिहास पनि बनाउँछ । म आशावादी छु कि मैले सभापति बन्नसक्दा, पार्टीलाई पुरानै हैसियतमा लैजान सक्छु र मुलुकलाई पनि फेरि स्थायित्व दिनसक्छु भन्ने मलाई पूरा विश्वास छ ।

राजनीति र विकासलाई सँगसँगै लैजाने कस्तो अवधारणा हो ?
अब राजनीति मात्र गरेर हुँदैन, भोटको लागि मात्र कार्यकर्ताको बीचमा पुगेर हुँदैन । पार्टीका आफ्ना सदस्यहरूलाई आर्थिक विकासमा लगाउनुपर्छ । कोरोना महामारीका कारण मानिसको रोजगारी गुमेको छ, देश झन गरीबीतिर जाँदैछ । यो अवस्थालाई सोचेर योजना बनाउनुपर्छ । हरेक व्यक्तिले राजनीति र आर्थिक विकासलाई सँगै लैजाने भन्ने अवधारणा हो, यो । यसै अनुसार मैले जीपी फाउन्डेसन वा अन्य माध्यमबाट काम शुरु गरिसकेको छु । अहिले मुख्य रूपमा तीन क्षेत्र पर्यटन, कृषि र सम्बन्धित ठाउँको प्राकृतिक स्रोत-साधनमा प्राथमिकता दिएको छु । विज्ञ, प्राविधिकहरु समेतको टीम बनाएर काम हुन थालिसकेको छ । मान्छेको आयस्तर बढाउने र कुनै गाउँ-बस्तीलाई सबै सुविधायुक्त नमूना सिटी बनाउने योजना छ । त्यो निर्माण कार्यमा सम्बन्धित ठाउँकै बासिन्दाले रोजगारी पाउँछन् । मेरो त्यो ‘ड्रिम प्रोजेक्ट’ अनुसार धादिङको दुर्गम क्षेत्र रुबीभ्यालीमा यो शुरु भइसकेको छ, अन्य केही ठाउँमा पनि शुरु हुँदैछ । यस्तो विकासको काम पार्टीले नगरेपछि मैले शुरु गरेको हो ।

कोइराला परिवारबाट शेखर, शशांक पनि उम्मेदवार दावी गरिराख्नु भएको छ, तपाईं पनि उम्मेदवार, किन कोइराला परिवारको साझा उम्मेदवार आउन सक्दैन ?
होइन, हामी सबैजना मिलेका छौं । सबैजना मिलेर एकजना नै आउने हो र त्यसमा चाँहि सबैले मलाई सहयोग गर्नुहुन्छ । मलाई पूरा विश्वास छ- किनभने अब परिवर्तन पनि चाहिन्छ, नयाँ अनुहार, नयाँ विचारलाई अगाडि बढाउँनुपर्छ र नेपाली काँग्रेसले अब अर्को इतिहास पनि रच्नुपर्छ । काँग्रेस अब पुरानो विचार लिएर जाँदैन सबैले सहयोग गर्नुहुन्छ । मलाई कोइराला परिवारको मात्रै समर्थनले पुग्दैन, सबैको समर्थन चाहिँन्छ । म आम जनताको बिचमा जान्छु, कार्यकर्ताको बिचमा जान्छु । अब पार्टी बचाउनका लागि पनि शेरबहादुरजीले, रामचन्द्रजीले त्याग्नुहुन्छ । हामीलाई सपोर्ट गरेर जानुहुन्छ । म हारेपनि जिते पनि सभापतिको उम्मेदवारबाट पछि हट्दैन । शशांक, शेखर, रामचन्द्रजी, शेरबहादुरजीलगायत अन्य शीर्ष नेता र युवा नेताहरु सबैको सहयोगबाटै म सभापति बन्छु ।

उसो भए देउवा अब दोहोरिनुहुन्न भन्ने जिकिर हो ?
देउवाजी पनि दोहोरिनुहुन्न र रामचन्द्र पौडेल पनि दोहोरिनुहुन्न । विगत ३० वर्षदेखि उहाँहरुले नै पार्टीको नेतृत्व गरिराख्नु भएको छ । उहाँहरुलाई जनताले जाँचिसक्नुभयो । अबको नयाँ नेतृत्व ऊर्जाशील नयाँ युवा पुस्तालाई हस्तान्तरण गर्नुपर्छ । र अहिले सबै मिलेर जानुको विकल्प पनि छैन, भोलिको चुनावको सामना गर्नुछ हामीले । १४ औं महाधिवेशनपछि चुनाव कसरी जित्ने भनेर छलफल गरेर कुन जिल्लामा को चर्चित छ ? कसलाई उठाउँदा चुनाव जितिन्छ त्यसको गृहकार्य गर्ने बेला हो यो ।

तर, क्रियाशील सदस्यताबारे सँधैं विवाद भइरहन्छ ?
आफूलाई भोट हाल्छ भनेर आ-आफ्ना मान्छेलाई क्रियाशील सदस्यता दिंदा विवाद निम्तिने गरेको हो । एउटा परिवारका सबैलाई सदस्यता बाँडिन्छ । यो प्रवृत्तिले त पार्टी सकिंदै जान्छ । पार्टी अनुशासनमा रहनुपर्छ । देशभरि हरेक घरमा एकजनालाई क्रियाशील सदस्यता दिनुपर्छ । अझ म त भन्छु, एक घरमा दुई वटा क्रियाशील सदस्यता दिने गरी तयार गर्नुपर्छ र दुई जनामध्ये एकजना अनिवार्य महिला हुनुपर्छ । र, क्रियाशील सदस्यता दिएर बस्ने होइन, तालिम वा प्रशिक्षण दिने, पार्टीको काममा पनि लगाउने र आर्थिक विकासमा पनि लगाउने गरे अनुशासित कार्यकर्ता उत्पादन हुन्छन् । अतः थुप्रै समस्या बाबजुद पनि हामीले समयमै अधिवेशन सम्पन्न गर्ने बाध्यकारी अवस्थामा हामी छौं । तसर्थ ‘फास्ट-ट्रयाक’मा काम गरेर भएपनि काम सम्पन्न गर्नैपर्ने छ ।

प्रसंग बदलौं, संसद् पुनर्स्थापनाको फैसलामा तपाईंको प्रतिक्रिया के छ ?
संसद् विघटनको मुद्दामा सर्वोच्च अदालतमा न्यायिक परीक्षण चलिरहेको थियो। सर्वोच्च अदालतसँग संविधानले दिएको कर्तव्य पूरा गर्ने त्यो साहस छ कि छैन ? भन्ने त्यसको परीक्षणचाहिँ जनताको अदालतले गएको ६० दिनमा निरन्तर गरिरहेको थियो। र, अहिले अदालतले प्रमाणित गरिदिएको छ, कि संविधानले दिएको कर्तव्य पूरा गर्ने साहस छ, त्यो क्षमता छ भन्ने कुरा अदालतले प्रमाणित गरेको छ। यसले सर्वोच्च अदालतको साख त जोगायो-जोगायो, तर सँगसँगै यसले यो व्यवस्थाप्रतिको आड-भरोसालाई कायम राख्यो। यो प्रधानमन्त्रीद्वारा राष्ट्रपति पनि सँगसँगै चुकेका बेलामा अदालत पनि चुक्छ भन्ने ठूलो आशंका थियो, एउटा भयको वातावरण थियो, तर अब यो सबै कुरालाई चिरेको छ । र, संविधानलाई सहि बाटोमा ल्याएर फेरि संसदतिर फर्केको छ। संससभित्र रहेका दलहरूले सुझबुझपूर्ण ढंगबाट यो विषयलाई निकास पनि दिनुपर्छ। र, यत्रो ठूलो अपराध गर्ने पात्रहरूलाई दण्डित पनि गर्नुपर्छ।

अन्त्यमा, संसद् विघटनविरुद्ध काँग्रेसले आफ्नो भूमिका निभायो कि निभाएन, के लाग्छ ?
नेपाली कांग्रेस पार्टीले जे निर्णय गर्‍यो, त्यो समयमा उपयुक्त निर्णय गर्‍यो। पार्टीको निर्णय भनेकोचाहिँ कागजमा के निर्णय गर्‍यो भन्ने कुराले मात्रै स्थापित गर्दैन। त्यो निर्णयलाई जनताको बीचमा स्थापित गर्ने भूमिकाले तय गर्छ। पार्टीको नेतृत्वले निर्णय गर्ने सन्दर्भमा जुन खालको द्विविधा राख्यो, त्यसले चाहिँ कांग्रेसको भूमिकामाथि आवश्यकता नै नभएको प्रश्न खडा गरिदियो। यो विषयको सन्दर्भमा नेतृत्वलाई सच्याउने प्रयास प्रारम्भबाटै गर्दै आइएको हो। कांग्रेसको परिचय भनेकै विधिको शासनलाई स्थापित गर्ने हो। यो गएको ६०-६५ दिनले प्रधानमन्त्रीको असंवैधानिक कदमलाई निष्फल बनाएको मात्रै होइन, कसको राजनीतिक आधार के रहेछ, कसको विश्वास के रहेछ भन्ने कुराले पनि धेरैको कित्ताकाट गरिदिएको छ। को कहाँ उभिँदोरहेछ भन्ने कुरा स्पष्ट भएको छ। दलभित्र, समाजमा यी सबैको कित्ताकाट गरिदिएको परिचयलाई सबैले बुझछन् र त्यो अनुसार भविष्यमा निर्णय गर्छन् भन्ने कुराको अपेक्षा गर्दछु। ***

तपाईको प्रतिक्रिया