बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

पेरिस – नेपाल फ्रान्स कुटनीतिक सम्बन्ध स्थापनाको ७०औं वर्षगाँठको उपलक्ष्यमा पेरिसमा ‘कर्म’ स्मारिका विमोचन गरिएको छ । स्मारिकाको नेपालस्थित फ्रान्सेली राजदूत फ्रन्स्वा जाभिए लेजे र पेरिसस्थित नेपाली राजदूत दीपक अधिकारीले भर्चुअल माध्यमबाट संयुक्तरुपमा शुक्रबार विमोचन गरेका हुन् ।

यो पुस्तक नेपाली साहित्यिक मन्च फ्रान्सले प्रकाशन गरेको हो । शुक्रबार फ्रासेली महान साहित्यकार भिक्टर ह्यूगो को २१९ औं जन्म जयन्ती पनि हो । विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै नेपालस्थित फ्रान्सेली राजदूत जाभिए लेजेले कोभिड १९ ले सिर्जना गरेको विषम् परिस्थितिमा पनि यो स्मारिका प्रकाशित गरिएको गर्व गर्दै स्मारिकाले नेपाल र फ्रान्स बीचको सुमधुर सम्बन्धलाई अझ प्रगाढ पार्ने विश्वास व्यक्त गरे ।

नेपाल र फ्रान्सको सम्बन्ध दुई देशका नागरिकहरुको आत्मिय विश्वासमा अडेको उल्लेख गर्दै उनले नेपाल र फ्रान्स दुवैले पर्यटनका क्षेत्रमा विविध विकासमा विविधीकरणको खाँचो रहेको औल्याए ।

यसैगरी पेरिसस्थित नेपाली राजदूत दीपक अधिकारीले नेपाल र फ्रान्सको कुटनीतिक सम्बन्धको विकास २० अप्रिल १९४९ मा भएको स्मरण गर्दै दुवै मुलकका बीच विगतमा ऐतिहासिक भ्रमणहरु भएका र दुई देशहरुका हिमाली सस्कृति र जीवन पद्दति उस्तै खालका देखिने गरेको उल्लेख गरे । उनले दुई देश बीचको सम्बन्ध प्रगाढ बनाउन आपसी सहयोग समाझदारी र समानातालाई ध्यान दिइएको उल्लेख गरे ।

कार्यक्रममा मानार्थ सांसद तथा नेपाल फ्रान्स मैत्री समूहका पूराना सभापति रोबर्ट ल फलले नेपाल र नेपालीको सम्झना कायम रहेको बताए । उनले पनौतीमा रहेको एक मन्दिर पुनर्निर्माण, एक टेक्निकल स्कूल र गोरखामा स्कूल भवनहरु निर्माण गर्न फ्रान्सेली सहयोग रहेको स्मण गराए । कार्यक्रममा नेपालबारे गहन अध्ययन गर्ने खोजकर्ता जेरार्ड तोफाँले नेपाल प्राकृतिक दृश्यमा मात्र नभए)र भाषा र संस्स्कृतिमा धेरै रहेको बताए ।

यसैगरी महाकवि लक्ष्मीप्रसाद देवकोटाको बारेमा विद्यावारिधि गरेका फ्रान्सेली विद्वान रेमी बोर्दोले महाकवि देवकोटाका केही चुनिएका गीतहरुको फ्रान्सेली भाषामा अनुवाद गरिसकेको बताए । आउने हप्ता यिनै गीतहरुको सँगालो ‘ल सँतर अम्बुलन्त’ भन्ने पुस्तक प्रकाशन गर्न गइरहेको उनले जानकारी दिए । कार्यक्रममा नेपालका तर्फबाट फ्रान्सका पूराना राजदूतहरु मोहन कृष्ण श्रेष्ठ र अम्बिका माननधर लुइँटेल, अवैतानिक राजदूत डिडिए बेनार्ड, द्वन्द कालमा नेपाललाई कर्मथलो बनाएकी आमन्दिन लामाले मन्तव्य राखेका थिए ।

पुस्तकमा विभिन्न विद्यामा पोख्त फ्रान्सेली तथा नेपालीहरुद्वारा लिखित कुल ४४ वटा लेख तथा रचनाहरु छापिएका छन् । जसमा सगरमाथा आरोहण गर्ने पहिलो फ्रान्सेली वृद्ध नागरिक पियर माजो, पूराना फ्रान्सेली राजदूत मिशेल लुमो, नेपालको बारेमा गहन अध्ययन गरिररहेका फ्रान्सेली विद्धान जेरार्ड तोफाँ, अवैतानिक बणिज्यदूत दिदिए बेनार्ड, मानार्थ सांसद रोबर्ट ल फल, विद्धान जुलियँ भासोका फ्रान्सेली भाषाका लेखहरु समेटिएका छन् ।

पुस्तकमा फ्रान्सको तल्लो सदनमा रहेको फ्रान्स नेपाल मैत्री समूहकी अध्यक्ष भेरोनिक रियोर्तोँ र नेपाल फ्रान्स इन्टरपार्लियामेन्टरी ग्रुपका संयोजक एंवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको शुभकामना समावेश गरिएको छ । पुस्तक भित्र नेपाल र फ्रान्समा काम गरिसकेका विभिन्न राजदूत तथा उपयोगी ठेगानाहरु पनि दिइएको छ ।

मञ्चका सदस्य डा. भानु न्यौपाने द्वारा सन्चालित उक्त कार्यक्रममा मञ्चका अर्का सदस्य सुधीर रानाले विमोचित पुस्तकका बारेमा, डा. राजेश खतिवडाले फ्रान्सेली महाकवि भिक्टर ह्युगोका बारेमा र अनुराधा पौडेलले महाकवि लक्ष्मीप्रसाद देवकोटाको बारेमा बोलेका थिए । कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै सँस्थाका सँयोजक एंवम् साहित्यकार हरिहर अर्यालले पुस्तक निर्माण गरि प्रकाशन र विमोचन गर्ने काम संलग्न सबैप्रति आभार व्यक्त गर्दै धन्यवाद दिए ।

तपाईको प्रतिक्रिया