मंगलबार, बैशाख ०४, २०८१
Tuesday, April 16, 2024

कोभिड-१९ को महामारीले विश्वकै अर्थतन्त्र र रोजगारी क्षेत्र नराम्ररी प्रभावित भईरहेको सन्दर्भमा यसको असर जापानमा पनि नपर्ने कुरै भएन । महामारीबाट पर्न गएको चरणवद्ध असर र यसलाई रोकथाम गर्नका लागि विभिन्न देशहरुले अवलम्बन गरेको सरकारी नीति एवं प्रभावित आर्थिक क्षेत्रलाई टेको दिन भईरहेका प्रयासहरु आ-आफ्नै खालका देखिन्छन् । त्यस अन्तर्गत हामी रहे-बसेको देश जापानको सन्दर्भमा चर्चा गर्नुपर्दा अन्य राष्ट्रहरुसंग तुलना गर्नुपर्ने हुन्छ । महामारीको कहरमा बितेको एक वर्षको अनुभवलाई समष्टिगतरुपमा भन्नुपर्दा सबैभन्दा प्रभावित क्षेत्र भनेकै रोजगारी र ब्यवसायिक क्षेत्र हो जुन प्रत्यक्षरुपमा अर्थतन्त्रसंग जोडिएको हुन्छ । यी क्षेत्रसंग सम्बन्धित नागरिकलाई सक्दो आडभरोसा प्रदान गर्ने सवालमा जापान सरकारले देखाएको उदारता हरेक मानेमा सह्रानीय छ ।

यति हुँदा हुँदै कतिपय ठूलो धनराशी लगानी गरी दशकौंको मिहिनेत र विरासतमा स्थापित ब्यवसायिक धरोहर र यसको जग सँधैको लागि खलबलिन पुगेको छ । यस्ता ब्यवसायिक घरानाहरुका लागि राज्यले प्रदान गरेको साँकेतिक एवं न्यूनतम राहत अनुदानले खासै संरक्षण गर्न नसक्ने भएकोले त्यहाँ कार्यरत ठूलो संख्याका कर्मचारीहरुले रोजगारी गुमाएको अवस्था छ । अर्कोतिर साना तथा मझौला स्केलका ब्यवसाय र त्यस क्षेत्रमा रोजगाररत पेशाकर्मीहरुको हालत पनि लम्बिदो महामारीका कारण झन अन्यौलतातिर धकेलिदैं गईरहेको स्थिति छ । केही महिना नभएर वषौंसम्म घाटा सहेर ब्यवसाय टिकाउन र धानिन धेरैका लागि संभावना भन्दा बाहिरको बिषय बन्दै गइरहेको छ । अर्कोतिर के का लागि सँधै घाटा सहेर ब्यवसाय अर्थात कम्पनी टिकाईरहने भन्ने प्रश्नले मान्छेहरुको मनमा अड्डा जमाउन थालेका छन् ।

जापानमा रहेका ब्यवसायी नेपालीहरु मध्य अधिकाँश रेष्टुरेन्ट क्षेत्रमा संलग्न छन् । महामारीका कारण पर्यटनपछि प्रत्यक्ष मारमा परेको क्षेत्र भनेको रेष्टुरेन्ट क्षेत्र भएकोले अपवादलाई छोडेर उनीहरुको ब्यवसायिक लडाई अहिले जीवन मरणको दोसाँधमा छ भन्दा फरक नपर्ला । त्यसो भएको हुनाले ती क्षेत्रमा रोजगारत ठूलो संख्याका नेपालीहरु पनि स्वतः प्रभावित हुने नै भए अर्थात उनीहरुको रोजगारी धरमरको स्थितिमा छ । कतिपय ब्यवसायीहरुले कर्मचारीको संख्या कम गर्दै गईरहेका छन् भने कतिपयले उनीहरुको कामको समय घटाईरहेको स्थिति छ । कतिपयले भने अबउप्रान्त काम दिन नसक्ने भन्दै अर्को काम खोज्न पूर्व जानकारी समेत गराईसकेका छन् । रेष्टुरेन्ट बाहेकका अन्य ब्यवसायिक क्षेत्रको स्थिति पनि खासै भिन्न छैन । उनीहरुलाई पनि कोभिड-१९ ले मुश्किलले धानिने र टिक्ने स्थितिमा पुर्‍याएको जग जाहेरै छ । त्यसो भएको हुनाले सर्बत्र परेको प्रभाव संगै जापानमा नेपाली ब्यवसायी तथा रोजगारीको क्षेत्र पनि अझ भयावह र विकराल हुने प्रक्षेपण गर्न सकिन्छ, तथ्यहरुले त्यतै संकेत गर्दैछन् । त्यसकारण विषम र प्रतिकुल समयको मिहिन ढंगले पहिचान गरी आत्तिने र मात्तिने भन्दा धर्य र संयमित भई विचलित मानसिकताबाट टाढा रहनुपर्ने अहिलेको स्थिति हो ।

धेरैलाई यतिबेला के लागेको छ भने ’रात रहे अग्राख पलाउँछ’ । यो भनाईले आशाबादी हुन प्रेरित गर्छ नै । निराशाबादीभन्दा आशाबादीले जीवनमा अरु केही गर्न ऊर्जा दिन्छ । तथापि महामारीको दीर्घकालिन असरका बारेमा सोच्ने धेरैलाई अझै फुर्सद नहोला । यसको अब अल्पकालिन र दीर्घकालिन असरका बारेमा आ-आफ्नै ढंगले विश्लेषण गर्दै सोही अनुरुपको ब्यवसायिक तथा रोजगारीसंग सम्बन्धित भावी योजना तय गरिनु उपयुक्त देखिन्छ । निरन्तरतामा आत्मरती र आत्मरतीमा निरन्तरता ब्यवसायिक धर्म हुन सक्दैन । सन्नाटापछिको हरेक आँधीबेरी र आँधीबेरीपछिको हरेक नयाँ बिहानीले नयाँ आधार त तयार गर्छ नै, तर त्यतिबेलासम्मको यात्रालाई पुग्ने इन्धन आफु सवार भएको साधनमा जुटाउन सक्ने सामर्थ्य रहन्छ कि रहदैंन भन्ने मुल प्रश्न हो । यस अर्थमा जापानमा रोजगारी क्षेत्रका साथै ब्यवसायिक क्षेत्र पनि धरमरको स्थितिमा छ भनेर विश्लेषण गर्न सकिन्छ ।***

तपाईको प्रतिक्रिया