Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

नेपाली कांग्रेसले संसद विघटनविरुद्ध कैलालीलगायत सुदूरपश्चिमका ९ वटा जिल्लामा विरोध प्रदर्शन गरेको छ । सुदूरपश्चिमका १६ वटा निर्वाचन क्षेत्रमा कांग्रेसले विरोध प्रदर्शन गरेको हो ।

प्रदेशको अस्थायी मुकाम धनगढीमा कांग्रेसको विरोध कार्यक्रम भयो । विरोध सभालाई सम्बोधन गर्दै प्रदेश सभा सदस्य डिल्लीराज पन्तले जनताले बहुमत दिएको कम्युनिस्ट सरकारले जनतालाई नै धोका दिएको आरोप लगाए । व्यक्तिगत स्वार्थका कारण प्रतिनिधिसभा विघटन गराएको भन्दै पन्तले अझै पनि आफ्रअनुकुल परिस्थिति नआए प्रधानमन्त्री ओलीले अझै अप्रिय कदम चाल्न सक्ने भन्दै सचेत रहन आह्वान गरे ।

‘प्रतिनिधि सभा विघटनपछि हाल सबैको ध्यान सर्वोच्च अदालतप्रति केन्द्रित छ । केपी ओलीको राजनीतिक प्रभाव न्यायालयमा पर्ने देखिएको छ । संसद पनुर्बहाली भयो भने राम्रो होला । तर, केपी शर्मा ओलीले संकटकाल लगाउन सक्ने सम्भावना छ ।’

प्रधानमन्त्री ओलीले राजनीतिक ‘कु’ गरेको बताउँदै उनले संकटकाल लगाए आफूहरुलाई जेल–नेल हुन सक्ने भन्दै सामनाको लागि तयारी बस्नुपर्ने बताए ।

सभालाई सम्बोधन गर्दै प्रदेशसभा सदस्य दिव्यश्वरी शाहले वर्तमान सरकार र नेकपाले देश र जनतालाई अनिर्णयको बन्दी बनाएको बताइन् । जसको विरुद्ध कांग्रेसले सशक्त प्रतिवाद गर्ने उनको भनाइ थियो ।

कांग्रेस महासमिति सदस्य सुनिल भण्डारीले नेकपा सरकारले जग हँसाइ मच्चाएको बताए । निर्मला पन्तको बलात्कारी खोई ? भनेर लेखिएको भेस्ट लगाउँदा प्रहरीले पक्राउ गर्नु दुर्भाग्य रहेको उनको भनाइ छ । साथै प्रधानमन्त्रीलाई स्वागत गर्ने वा नगर्नेबारे सवालमा कांग्रेस नलाग्ने पनि भण्डारीले बताए ।

सभालाई सम्बोधन गर्दै धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले नेपाली जनताले बनाएको संविधानलाई कम्युनिस्टले मिचेको आरोप लगाए । उनले संविधान र जनताका लागि कांग्रेस सडकमा उत्रेको बताए ।

कांग्रेसले धनगढीको पार्क मोडबाट रातो पुलसम्म विरोध जुलुससमेत प्रदर्शन गरेको थियो । पार्कमोडबाट सुरु भएको र्याली बसपार्क अगाडि पुगेर विरोधसभामा परिणत भएको थियो ।

यससँगै कैलालीका ५ वटै क्षेत्रमा कांग्रेसले विरोध प्रदर्शन गरेको छ । कैलाली क्षेत्र नम्बर ४ प्रदेश ‘ख’ले विरोध र्याली पार्टी कार्यालयबाट सुरु भएर अत्तरिया चोकमा पुगेर सभामा परिणत भएको थियो ।

सो कार्यक्रम प्रदेश ‘ख’का सभापति खेमबहादुर साउँदको सभापतित्वमा सम्पन्न भएको हो । कार्यक्रममा महासमिति सदस्य पदमराज भट्ट, पूर्वराष्ट्रिय सभा सदस्य हिरादत्त भट्ट, पूर्वकेन्द्रीय सदस्य सुनील भण्डारीलगायतले सम्बोधन गरेका थिए ।

त्यसैगरी क्षेत्र नं ४ प्रदेश ‘क’ले समेत गौरीगंगा नगरपालिकामा बृहत विरोध कार्यक्रम गरेको छ । मोन्याल मन्दिरबाट सुरु भएको विरोध र्याली चौमाल बजारमा सभामा परिणत भएको हो । सभामा प्रदेश ‘क’का सभापति दलबहादुर साउँदले अध्यक्षता गरेका थिए । सभालाई पूर्वराज्यमन्त्री दीर्घराज भाट, कांग्रेस जिल्ला कार्यसमितिका उप–सभापति प्रकाश बम, नेता यज्ञराज चौधरी, कांग्रेस क्षेत्रीय सभापति दिनेशराज जोशीलगायतले सम्बोधन गरेका थिए ।

तपाईको प्रतिक्रिया