Deneme Bonusu Veren Siteler
आइतबार, मंसिर ०९, २०८१
Sunday, November 24, 2024

टोकियो – नेपालको दूरदराजका उत्पादन टिमुरको धुलो, सिस्नोको धुलो, गुन्द्रुक, कोदोको पिठो, फापरको पिठो, मकैको च्याख्ला, जिम्बु, सिद्रा, खुकुरी रम, एभरेष्ट बियर, नेपाल आइस, सोमरस लगायतका स्वदेशी उत्पादनलाई जापानको बजारमा विक्री वितरण गर्दै आइरहेका अरुणकुमार श्रेष्ठ जापानको नेपाली समुदायमा नौलो नाम होईन । आज भन्दा २१ वर्ष अगाडि नै उनले नेपाली ब्राण्डको खुकुरी रम, एभरेष्ट बियर जस्ता रक्सीजन्य स्वदेशी उत्पादनलाई जापानमा भित्र्याईसकेका थिए । श्रेष्ठको मयुर कर्पोरेशनले हाल २ सय भन्दा बढि नेपाली उत्पादनहरु जापानको बजारमा विक्री वितरण गर्दै आईरहेको छ । श्रेष्ठका अनुसार हरेक वर्ष २० देखि ३० वटा नेपाली उत्पादन जापानी बजारमा थपिने क्रममा रहेका छन् । नेपाली पसल, रेष्टुरेन्ट, ग्रसरी शप, हलाल फुड लगायत जापानी सुपरमार्केट, डिपार्टमेन्टल स्टोर, दोन्की होउते, अन्य चेनतेन पसलहरुमा मयुर कर्पोरेशनले ती स्वदेशी उत्पादनको आपूर्ती गर्दै आईरहेको छ । स्वदेशी उत्पादनलाई जापानको बजारमा विक्री वितरण गरी विदेशी पूँजीलाई स्वदेश भित्र्याएर ब्यवसायसंगै देशको अर्थतन्त्रमा सघाउदैं आएका उनै मयुर कर्पोरेशनका कार्यकारी प्रमुख श्रेष्ठसंग जापानी बजारमा नेपाली उत्पादनको महत्व, जापानमा नेपाली ब्यवसायीहरुको भविष्य, अवसर र चुनौती, देशको अर्थतन्त्रमा प्रवासबाट पुर्‍याउन सकिने योगदान, देशको वर्तमान राजनैतिक अवस्था लगायतका बिषयमा केन्द्रित रहेर नेपाली समाचार र समुद्रपारिका लागि गरिएको भलाकुसारीको सम्पादित अंशः

यहाँले जापाननै किन रोज्नुभयो ?
सर्बप्रथम म सन् १९८८ मा भिजिटरकारुपमा जापान आएको थिएँ । सानैदेखि जापानको बारेमा जान्ने उत्सुकता त छँदै थियो, त्यसले गर्दा ममा जापानको गहिरो प्रभाव पर्न गयो । तात्कालिन समयमा आफ्नो गृहजिल्ला चितवनमा विदेशी सहयोगमा भएका बिकास निर्माणका कार्यहरु र त्यसक्रममा हुने विदेशीहरुको आवतजावतले विदेशका बारेमा र त्यसमा पनि जापानको बारेमा ममा अलि बढि नै झुकाव थियो । जब मैले जापानमा पाइला टेके, जापान र जापानीहरु मलाई मन पर्‍यो, जसले गर्दा मेरो रोजाई जापान बन्न गएको हो । त्यसपछि त जापानले मोहनी नै लगायो ।

स्वदेशी उत्पादनलाई जापानसम्म ल्याईपुर्‍याउन के कस्ता चुनौतीको सामना गर्नुपर्‍यो ?
जापानमा विदेशी खाद्य तथा पेय पदार्थ आयात गर्ने अनुमति लिन सजिलो छैन । यहाँको धेरै मापदण्डहरु पूरा गर्नुपर्ने, कानूनी प्रक्रियाहरु पूरा गर्नुपर्ने जस्ता थुप्रै झमेलाहरु छन् । ती सबै पूरा गर्न करीव अढाई वर्ष जति निरन्तर कानूनी लडाई लड्नुपर्‍यो भने उता नेपालमा पनि निकै सास्ती भोग्नुपरेको अनुभव छ । विश्वकै टप टेनमा पर्ने रक्सीजन्य पेय पदार्थ जापानमै प्रशस्तै हुँदा हुँदै नेपाली बियर नै लैजानुपर्ने कारण बारे सम्बन्धित निकायद्वारा सोधिएको स्पष्टिकरणको जबाफ दिदैं करीव ६ महिनासम्मको निरन्तर संघर्षपछि नेपाल सरकारबाट अनुमति प्राप्त गर्नुपरेको थियो ।

थुप्रै अन्य ब्यवसाय गर्न छोडेर स्वदेशी उत्पादनलाई जापानमा भित्र्याउने र विक्री वितरण गर्ने ब्यवसाय नै किन रोज्नुपरेको ?
भौतिक शरीर विदेशमा भए पनि हाम्रो मन नेपाली हो, मैले गर्ने हरेक कार्यबाट देशलाई पनि केही अंश सहयोग पुग्छ भने त्यो ठूलो सन्तुष्टिको कुरो हुन्छ । एकातिर देशलाई चिनाउँदै स्वदेशी उत्पादनको प्रचारप्रसार र प्रबर्द्धन गर्न सकिने र अर्कोतिर बेरोजगारी समस्या भएको देशमा केही हद भए पनि रोजगारी सिर्जना हुनुका साथै विदेशी पूँजी भित्रिने, जसले गर्दा देशको अर्थतन्त्रमा समेत मदत पुग्ने भएकोले मैले यो ब्यवसाय सुरु गरेको हो । मैले आफ्नो निजी ब्यवसाय गर्दै गर्दा सानै स्केलमा भएपनि देशको सेवा भईरहेको अनुभूतिले मलाई थप ऊर्जा प्रदान गर्ने गरेको छ ।

नेपाली उत्पादनको जापानी बजारमा कस्तो प्रतिक्रिया छ ?
जापानी सेवाग्राहीहरुको प्रतिक्रिया मिश्रित पाईएको छ । हाम्रो देश भूपरिवेष्ठित भएको कारण समुद्री बन्दरगाहसम्म पुग्न निकै समय लाग्ने, छिमेकी मुलुक भारत भएरै ल्याउनु्पर्ने जस्ता बाध्यतात्मक परिस्थितिका कारण आयातित उत्पादनहरु जापानसम्म आईपुग्न निकै समय लाग्छ । त्यस बिचमा मौसमी परिवर्तन र सो अनुसारको तापक्रमले गर्दा कहिलेकाँही केमिकल मिश्रित वस्तुहरुको गुणस्तरमा फरक पर्ने गरेको पाइन्छ । जसले गर्दा कहिलेकाँही समस्या पर्ने गरेको छ । यसका साथै नेपाली उत्पादनको फिनिसिङमा पनि अन्य देशको तुलनामा अझै स्तरोन्नती गर्नुपर्ने देखिन्छ । यसबाहेक अन्य बिषयमा नेपाली उत्पादनको प्रतिक्रिया जापानमा राम्रो छ । नत्र यतिका वर्षसम्म जापानीहरुले हाम्रो सामान नियमित उपभोग गर्ने थिएनन् । तथापि सुधार गर्दै जानुपर्ने पक्षहरु नभएका होईनन् ।

अब जापानमा नेपाली ब्यवसायीहरुको भविष्य कस्तो देख्नुहुन्छ ?
हामीले ब्यवसाय सुरु गर्दा सबैथोक आफै सोधी, खोजी गर्नुपर्दा धेरै चुनौतीहरुको सामना त गर्नुपर्‍यो नै, त्यसमाथि बजारमा बिश्वास आर्जन गरेर नयाँ उत्पादनलाई बिकाउ माल बनाउन त्यति सजिलो थिएन । अब ब्यवसायका हरेक क्षेत्रमा प्लेटर्फम बनेकोले सजिलो भएको छ, सरसल्लाह, सुझाव आदानप्रदान गर्नका लागि अनुभवीहरुको खाँचो छैन । मात्र इच्छाशक्ति हुनुपर्‍यो, जापान बुझेको हुनुपर्‍यो, जापानमा इमान्दारिता र लगनशीलताका साथ सेवाग्राहीको मनोविज्ञानलाई बुझेर निरन्तर लागिपरेमा जुनसुकै ब्यवसायको पनि भविष्य राम्रो देखिन्छ ।

ब्यवसायिकरुपले हाल कुन कुन क्षेत्रमा संलग्न हुनुहुन्छ ?
नेपाली तथा जापानी रेष्टुरेन्ट, स्वदेशी उत्पादन सप्लायर्स, ग्रसरी शप, रेमिट्यान्स, ट्राभल लगायतका ब्यवसायमा संलग्न छु ।

शिनओकुबोमा पनि हालै ग्लोबल बजार सुरु गरेर आफ्नो ब्यवसायलाई बिस्तार गर्नुभएको छ, शिनओकुबो नै किन रोज्नुभयो ?
शिनओकुबो अहिले नेपालीहरुको हब भएको छ । ब्यवसायिक गतिविधि, भेटघाट र अन्य प्रयोजनका लागि पनि यहाँ नेपालीहरुको सँधै चहलपहल भईरहन्छ । यसले गर्दा यो एउटा सेन्टर बन्न पुगेको यथार्थ हो । स्वदेशी उत्पादनलाई जापानमा प्रबर्द्धन गर्ने कार्य हरेक नेपालीहरुको कर्त्तब्य पनि हो । कोसेली (ओमिआगे) आदानप्रदान गर्न रुचाउने सँस्कृति भएका जापानीहरुमाझ हाम्रा स्वदेशी उत्पादन बारे यथेष्ट जानकारी दिन सक्यौं भने यसको बजार बिस्तार हुन समय लाग्दैन । त्यसका लागि पनि शिनओकुबो एउटा उपयुक्त बजार हो भन्ने लागेकोले यता पनि बिस्तार गरिएको हो ।

नेपालीहरुको लागि हब बन्दै गएको शिनओकुबोको भविष्य कस्तो देख्नुहुन्छ ?
नेपालीहरुका लागि यो केन्द्र रातारात स्थापित भएको थिएन । सुरुवाती चरणमा धेरै अगुवा नेपाली साथीहरुको निरन्तर लगाव र निकै लामो कालखण्डको बिकासक्रम पछि यो ठाउँ हालको स्थितिमा आएको हो । कालान्तरमा वैकल्पिक स्थानको बिकास हुन सक्ला तर २, ४ वर्षमै बिस्थापित हुन सक्दैन बरु थप बिस्तार हुन सक्ला । त्यसकारण नेपाली बजारीकरणका हिसाबले शिनओकुबोको भविष्य सुरक्षित छ जस्तो लाग्छ ।

अब प्रसंग बदलौं, हाल देशको अवस्थालाई कसरी हेर्नुभएको छ ?
ठूलो आशा र अपेक्षाका साथ नेपाली जनताले देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरे । नयाँ र समृद्ध नेपालको सपना ब्यापकरुपमा बाँडियो । जनता उत्साहित भए, तर विडम्बना देशका शासकहरु कुर्सीमोहमा बरालिएको देख्दा निराशा उत्पन्न हुनु स्वभाविकै हो । पटक पटक र लामो समयसम्म नेपाली काँग्रेसको शासन भोगेका नेपाली जनताको मनोविज्ञानले कम्युनिष्टलाई सत्तामा पुर्‍याएकै हुन् त्यसको परिणाम अहिलेको दिन देख्नुपर्दा लज्जाबोध भएको छ । आपसी खिचातानी र बलमिच्याईमा सत्ता र शक्तिको दुरुपयोग हुनु दूर्भाग्य हो । सत्तामा रहेको दलभित्रको झगडामा देश बन्धक हुनुहुँदैन । मुख्य जिम्मेवारीमा हुनेहरुले निकास दिन सक्नुपर्छ ।

यतिका लामो समयसम्म पनि देशले अपेक्षित बिकासको गति लिन नसक्नुमा प्रणाली, पात्र र प्रवृत्तिमा को बढी दोषी देख्नुहुन्छ ?
मेरो बिचारमा पहिलो कुरो त देशमा भिजन भएको लिडरशीप अगाडि आउन सकेनन्, जो शासक बनेर आए उनीहरुको प्रवृत्तिमा खोट छ त्यसकारण उनीहरुको भागमा ५० प्रतिशत दोष जान्छ । दोस्रो, राज्यका स्थायी सरकार मानिने ब्युरोक्र्यासीमा पनि खोट छ, उनीहरु शतप्रतिशत इमान्दार र कामकाजी हुन मात्र सक्ने हो भने देशमा ब्याप्त अनियमितता, भ्रष्टाचार, ढिलासुस्ती जस्ता विकृति आफै हटेर जान्छन् र बिकासले फड्को मार्न बेर लाग्दैन, त्यसैले उनीहरुको भागमा २५ प्रतिशत दोष जान्छ भने तेस्रो, सिष्टममा पनि कतै न कतै १५ प्रतिशत जति खोट देखिन्छ, यसलाई अत्यन्त सुझबुझका साथ अझ परिष्कृत र उन्नत बनाउन जरुरी छ । यसैगरी १० प्रतिशत दोषका भागिदार स्वयम नेपाली जनता पनि हुन् । उनीहरुले सक्षम र योग्य मान्छे नचिनेर हैन नछानेर गलत मान्छे सत्तामा पुग्ने गरेका छन् । चुनावको बेला प्रलोभन, नातागोता, भोजभतेरमा देशको भविष्यसंग खेलबाड गरिदिंदा सहि ब्यक्तिको छनौट हुन नसकेको जग जाहेर छ । वैचारिक चिन्तनका हिसाबले पुर्ख्यौली विरासत छोड्नै नसक्ने बानी परेका नेपाली जनताहरुले उनै बासी र पटक पटक परीक्षणमा फेल भएका नेताहरुलाई पटक पटक सत्तामा पुर्‍याउने भुल अब गर्नुहुँदैन । त्यसैले उच्च राजनैतिक चेतना सहितको नागरिक सर्बोच्चताको अधिकार प्रयोग गर्दै नेपाली जनताले उपयुक्त ठाउँमा उपयुक्त ब्यक्ति छनौट गर्न सक्नुपर्दछ ।

आफु बिदेशमा भुलेर देशमा यो भएन, त्यो भएन भन्न मिल्छ र ?
आजको दुनियाँ ग्लोबल भिलेज हो । संसारको हरेक कुनामा मानिसहरु आ-आफ्नो ईच्छाअनुसार माइग्रेशन भईरहेका छन् । बिदेशमै भएपनि आफ्नो देशको माटोका लागि सक्दो टेवा पुग्ने खालका कामहरु गरिरहेका हामी विदेशमा भएका नेपालीहरुले आफ्नो देशको बारेमा चिन्ता र चासो ब्यक्त गर्न पाउनु नैसर्गिक अधिकार हो, हामी देशका नागरिक र करदाता पनि हौं । नेताहरु सुध्रिए हुन्थ्यो भन्ने लाग्नु स्वभाविकै हो । त्यसमाथि हामी सँधैका लागि बिदेश पलायन भएका पनि त होइन नि ?

कहिलेसम्म यसरी बिदेशमा बस्ने त, अबको भावी योजना के छ ?
फर्कने त नेपालै हो, जहाँ हाम्रो आफ्नो माटो छ, अपनत्व छ र सबथोक छ । अबको केही बर्षभित्रमा स्वदेश फर्केर हालसम्म बटुलेको अनुभवलाई सदुपयोग गर्दै नेपालमै केही नयाँ र बिल्कुल भिन्न मोडलमा फरक काम गर्ने योजना छ ।

परिवार यता आफु उता, के यो संभव होला त ?
आउने जाने त भईहाल्छ नि, अहिलेसम्म पनि ६ महिना यता ६ महिना उता गरिरहेको अवस्था हो । कोभिड-१९ ले गर्दा मात्रै केही समयदेखि यतै अल्झिनुपरेको छ ।

अन्तमा, जापानबासी नेपालीहरुलाई के भन्न चाहानुहुन्छ ?
हामी अहिले कोभिड-१९ को महामारीमा छौं । सजग र सचेत भई आफ्ना नियमित आर्थिक गतिविधि सुचारु गर्नुपर्ने अहिलेको बाध्यता हो । निरन्तर कर्ममा जुटौं । नेपालीहरुबीच सहयोगी र भाइचाराको भावना कायमै राख्दै जापानमा अझ राम्रा कामहरु गर्दै जान सक्नुपर्दछ । एक नेपालीका कारण सबै नेपालीको शिर झुकाउने काम कसैले नगरौं । आसन्न अंग्रेजी नयाँ वर्ष २०२१ को पुनित उपलक्षमा जापानबासी समस्त नेपालीहरुमा मयुर कर्पोरेशन र ग्लोबल बजारको तर्फबाट हार्दिक शुभकामना ब्यक्त गर्न चाहान्छु । अन्तमा, सिंगो इतिहास बोकेको जापानमा एक मात्र र पहिलो नेपाली भाषाको पत्रिका नेपाली समाचार सहित समुद्रपारि डट कममा आफ्ना केही अभिब्यक्तिहरु राख्ने अवसर दिनुभएकोमा नेपाली समाचार र समुद्रपारि परिवारप्रति आभार प्रकट गर्न चाहान्छु ।
– प्रस्तुती : तिलक मल्ल

तपाईको प्रतिक्रिया