नेपाली जनतालाई ठूला ठूला सपना बाँडेर झण्डै दुईतिहाईको नजिक पुगेको इतिहासकै सर्बशक्तिमान वर्तमान सरकार एवं सत्तासिन पार्टीका महानायकहरु अहिले जग हँसाउने नाटक मञ्चनमा ब्यस्त देखिन्छन् । भ्रष्टाचारमा नेपालको नाम अन्तर्राष्ट्रिय रुपमै चरम बेइजतीको बिन्दुमा पुगेको ट्रान्सपरेन्सी इन्टरनेशनलले उदांगो बनाईसक्यो । कथनी र करनीमा कति अन्तर रहेछ भन्ने नेकपा नामको बोइङका पाइलटद्वयलाई अब त हेक्का हुनुपर्ने हो । शक्ति र सत्ताको दम्भले मैमत्ता हात्तीझैं सिंहदरबार, बालुवाटार र खुमलटारमा नेपालको राजनीति खुम्चिएको छ । बिधि, बिधान, पार्टी, पद्धती, अनुशासन तिनै छोटे महाराजहरुको कोटको गोजीमा थन्किएका छन् । कोभिड-१९ को महामारीले जनता ब्याकुल छन्, कुर्सीको झिनीझम्टामा उनीहरुको कुस्ती बडो बिचित्रको देखिन्छ । विचार, बहस, मन्थनलाई निषेध गर्दै आरोप-प्रत्यारोपको पत्रयुद्धको तमासा देखाईरहेका छन् । जहाँ समस्या हुन्छ, समाधान पनि त्यहि बिन्दुमै भेटिन्छ र खोजिनुपर्छ, यसको पहलकदमी मुल जिम्मेवारीमा हुनेले लिनुपर्नेमा त्यस्तो देखिएको छैन । घरभित्रको झगडालाई घरभित्रै छलफल र बहसबाट निरुपण गरिनुपर्नेमा इतिहासका तानाशाहहरुको झझल्को दिनेगरी सर्बेसर्बा शैली थोपर्न जो खोजिएको छ, यसलाई किमार्थ राम्रो संकेत मान्न सकिदैंन । नेपालको राजनीतिको कखरा मात्रै बुझेकाहरुका लागि अहिलेको स्थिति आउनुमा मुख्य दोषी को भन्ने घामजस्तै छर्लङ्गै छ । दुर्घटना हुनुअघि विवेक प्रयोग गर्ने काम निजहरुकै हो, जो सत्ताको ठेक्का लिएर कुर्सीमा बिराजमान छन् ।
देश दुनियाँमा मिलनबिन्दु नै चाहेको हो भने लचकताको पनि हद हुन्छ र पेलानको पनि हद हुन्छ, अति भए खति अवश्य हुन्छ । दुईचार थान टाउकाको जुंगाको लडाईमा नेपाली जनता अन्यायको जाँतोमा पिसिनु हुँदैन । इतिहासले सुम्पेको गौरवपूर्ण जिम्मेवारीबाट चुक्ने ऐतिहासिक भुल गरे भने निज पात्रहरु सँधैका लागि रछ्यानमा मिल्काईने छन् । देश बदल्ने र जनतालाई समृद्धिको लोकमा पुर्याउने भजन गाएर कहिलै नथाक्ने अहिलेका शासकहरुको नौ नाडी अब सबैले छामिसकेका छन्, उनीहरुको खोक्रो आश्वासन र उधारो बिकासे रटान सँधैभरि पत्याईदिनुपर्ने अवस्था अब रहेन । त्यसैले शासकहरुले अब कि त सुध्रिएर कर्म गर्नुपर्छ कि त मार्ग प्रशस्त गर्नुपर्छ । जनताको अनुहारमा खुशी ल्याउने केही त होस् । सँधैको घोटाला, प्रकरण, बबण्डर, गञ्जागोल, ढाकछोप, भरौटेहरुको भरणपोषण, नाताबाद, फरियाबादले अब देश चल्दैन । मुलुकलाई बन्धक बनाउने अधिकार कुनै महाराज र तानाशाहलाई छैन । नेपाली जनताले देश निर्बाधरुपले बिकासे राजमार्गमा अगाडि बढेको हेर्न चाहन्छन् । यस महान अभियानमा छद्म भेषमा प्रस्तुत भएर भाँजो हाल्ने यो वा त्यो नामको कुनै पनि धुन्धुकारीलाई छूट छैन । अहिलेसम्म गफैमा भुलेका र भुलाईएका नेपाली जनताले ढिलै भएपनि पात्र र प्रबृत्ति राम्रोसंग चिनिसकेका छन् । नेपालको संबिधानले ब्यवस्था गरेको सार्बभौम सत्ता सम्पन्न नेपाली जनता र नागरिक सर्बोच्चताको उपहास गर्दै मनपरितन्त्र लाद्न खोज्ने बिना श्रीपेचका महाराजहरुलाई बिस्तारै समयले ठेगान लगाउने अपेक्षा गर्न सकिन्छ । जुन क्रम संसारकै सर्बशक्तिमान राष्ट्र अमेरिकाबाट सुरु भईसकेको छ ।
देश हाँक्नेहरुमा लोभ, लालचरहित रहेको कसीद्वारा प्रमाणित हुनु आवश्यक छ । उनीहरुका वरिपरि घेरिएका भान्सेहरुको अनुहार पनि सोहीअनुरुपको सक्कल हुनु आवश्यक छ । वर्तमानमा यसो नहुनु दुर्भाग्य हो । योग्यता र क्षमतावान भन्दा आफ्नै भनिएकाहरुबाट मात्र घेरिएर बस्न रुचाउने शासक भएको देशका जनताले दुख पाएको इतिहासमा पढ्न पाईन्छ । जनताको नाममा राजनीति गर्दै चप्पल लगाएर राजधानी छिरेकाहरुको हिजोको विगत सबैले जानेबुझेकै छन् । उनीहरुको रवाफ हिजोका महाराजाहरुको भन्दा कुनै कमी छैन । शासकहरुलाई कवच सिकाउने जनताले हो । यसको उपयोग गर्ने अवसर भनेको निर्वाचन हो । नामको मात्रै संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल जपेर बस्ने अवस्था अब रहेन । झण्डै १८ प्रतिशत जनता साँझबिहानको चुल्हो बाल्न नसक्ने अवस्था भएको देशका शासकहरुका लागि मात्र समृद्धि ल्याउन नेपाली जनताले गणतन्त्र ल्याएका हैनन् । दुरदराजका विपन्न वर्गका लागि गणतन्त्र भनेको कुन चरोको नाम हो शासकहरुले प्रमाणित गरेर देखाउन सक्नुपर्छ । वास्तविकता मै गाउँ गाउँमै सिंहदरबारको झझल्को दिन सक्नुपर्छ, गफै मात्र लगाएर अब देश चल्दैन सरकार !