शुक्रबार, जेठ ०४, २०८१
Friday, May 17, 2024

काठमाडौँ – अबको २३ दिनपछि अमेरिकामा राष्ट्रपतिकाे निर्वाचन हुँदै छ । दोस्रोपटक पनि राष्ट्रपति बन्ने अभिलाषाका साथ डोनाल्ड ट्रम्प चुनावी माहोलमा सक्रियताका साथ लागेका छन् । यस्तै उनका प्रतिद्वन्द्वी डेमोक्रेटिक पार्टीका जो बाइडेन पनि पहिलोपटक विश्वको शक्तिशाली राष्ट्र अमेरिकाको राष्ट्रपति बन्ने दौडमा छन् ।

कोभिड–१९ बाट संक्रमित हुँदा पनि ट्रम्पले निर्वाचनलाई पहिलो प्राथमिकतामा राखेका छन् । उनले ह्वाइटहाउसबाट आफ्ना कार्यकर्ता र मुख्य जिम्मेवारी बहन गरेका पदाधिकारीलाई निरन्तर निर्देशन दिइरहेका छन् । चुनावी अभियान कमजोर नहोस् भनेर उपचाररत नेसनल सैनिक अस्पतालबाट समेत उनी ह्वाइटहाउस फर्किएका थिए ।
ट्रमका प्रतिद्वन्द्वी वाइडेन पनि सन् १९७० देखि राजनीतिमा सक्रिय छन् । फिजिसियन डा. सिएन कोन्लेयले राष्ट्रपति ट्रम्पले कोभिड– १९ संक्रमणको सबै उपचार पूरा गरेको जानकारी दिएका छन् । डा. सिएनले ट्रम्प छिटै नै चुनावी अभियानमा लाग्न सक्ने पनि जनाए । ‘अहिलेको अवस्थामा राष्ट्रपति ट्रम्पको स्वास्थ निकै राम्रो छ, उहाँको स्वास्थमा छिटै सुधार आएको छ,’ डा. सिएनले भने । ट्रम्पले यसै साता फेरि कोभिड–१९ को परीक्षण गर्नेछन् । यसपटक उनको नतिजा नेगेटिभ आउने डा. सिएनको अनुमान छ ।

एकातिर राष्ट्रपति चुनावको महोल तातिरहेको छ भने अर्कोतिर यसको खर्च पनि उत्तिकै बढिरहेको छ । विभिन्न एजेन्सीहरूका अनुसार सन् २०१६ को तुलनामा यसपटकको निर्वाचनमा ५० प्रतिशत बढी खर्च हुने सम्भावना छ । जसका कारण यसपटकको अमेरिकी राष्ट्रपति निर्वाचन इतिहासमै महँगो साबित हुने छाँटकाँट देखिएको छ ।
सेन्टर फर रेस्पोन्सिभ पोलिटिक्सले हालसम्मको खर्च विवरण सार्वजनिक गरेको छ । पोलिटिक्सको खर्च विवरणले सन् २०२० को निर्वाचन अहिलेसम्मकै महँगो हुने देखाएको छ । यसपटक चुनावमा ११ बिलियन डलर खर्च हुन सक्ने सेन्टर फर सेस्पोन्सिभको भनाइ छ । विश्वको विभिन्न राष्ट्रका राष्ट्रपति चुनावको तुलनामा यो निकै महँगो भएको रेस्पोन्सिभले दाबी छ ।

सन् २०१६ को निर्वाचनमा ६.८ बिलियन डलर खर्च भएको थियो । सन् २००८ पछिको अमेरिकी राष्ट्रपति निर्वाचन महँगो हुँदै गइरहेको ओपन सिक्रेट्स डाटा ओआरजीले जनाएको छ । सन् २००८ मा ६० हजार करोड नेपाली, सन् २०१२ मा ७३ हजार करोड नेपाली र सन् २०१६ मा ७५ हजार करोड नेपाली खर्च भएको थियो । ओपन सिक्रेट्सले १ जुलाईदेखि २० सेप्टेम्बरसम्मको खर्च डाटा निकालेको हो ।

उनीहरूका अनुसार आउँदो दिनमा थप खर्च बढ्ने अनुमान छ । यता सेन्टर फर रेस्पोन्सिभ पोलिटिक्सका कार्यकारी निर्देशक सिला क्रमहोजले सन् २०२० को राष्ट्रपति निर्वाचनले सबै रेकर्ड तोड्ने दाबी गरेका छन् । सेन्टरका अनुसार अहिलेसम्म १०.८ बिलियन डलर खर्च भइसकेको छ । डेमोक्रेटिकका उम्मेदवार बाइडेनले पहिलो डिबेटका लागि १० मिलियन डलर फन्ड जम्मा गरेको जानकारी दिएका छन् ।

रमाइलो पक्ष के छ भने यसपटकको निर्वाचनका लागि डेमोक्रेटिकले रिपब्लिकनको तुलनामा धेरै रकम संकलन गरेको छ । एक अध्ययनअनुसार डेमोक्रेटिकले अहिलेसम्म पाँच सय ३४ मिलियन डलर जम्मा पारेको छ । राष्ट्रपति ट्रम्पको पार्टीले चार सय २४ मिलियन डलर संकलन गरेको छ ।

कोभिड– १९ को महामारीका कारण यसपटक प्रेसिडेन्सियल क्याम्पियनका लागि खर्चको स्वरूप पनि परिवर्तन भएको छ । तैपनि निर्वाचनको खर्च ह्वात्तै बढेको छ । यसपटक मिडियामा प्रचारप्रसार गर्न पनि दुवै उम्मेदवारले मनग्य खर्च गरेका छन् । चुनावी क्याम्पिनिङका क्रममा अनलाइनमा पनि खर्च बढेको सेन्टर फर रेस्पोन्सिभको दाबी छ । दुवै उम्मेदवारले मेल इन ब्याटलको रणनीति अपनाएका छन् ।

अहिलेसम्म निस्किएको खर्चमा डेमोक्रेटिकले ५४ प्रतिशत तथा रिपब्लिकनले ३९ प्रतिशत चुनावी अभियानमा खर्च गरेका छन् । राष्ट्रपतिको चुनावका लागि विभिन्न व्यक्तिदेखि संस्थागतसम्म आर्थिक सहयोग प्राप्त हुन्छ । यसमा सबैभन्दा धेरै व्यक्तिगत डोनेसन हुन्छ । व्यक्तिगत सहयोगमा ३८.५८ प्रतिशत छ । नितान्त चिनजानबाट सहयोग गर्नेमा १७.७१ प्रतिशत छ । यसैगरी मध्यम किसिमको व्यक्तिगत सहयोगमा २२.२५ प्रतिशत तथा संगठनबाट ३.६२ प्रतिशत आर्थिक सहयोग गरेका छन् ।

तपाईको प्रतिक्रिया