शुक्रबार, जेठ ०४, २०८१
Friday, May 17, 2024

काठमाडौँ – छोटो भिडियो सेयरिङ प्लेटफर्म टिकटक प्रतिबन्ध लगाउने देशहरूको सूचीमा पाकिस्तान पनि थपिएको छ । चिनियाँ एप टिकटकलाई यसअघि भारत, अमेरिकालगायतका देशहरूले प्रतिबन्ध लगाइसकेका थिए । शुक्रबारदेखि पाकिस्तानले पनि प्रतिबन्ध लगाएको हो ।

‘अनैतिक सामग्रीहरू’ भएको निष्कर्ष निकाल्दै पाकिस्तानले शुक्रबारदेखि टिकटकलाई देशभित्र प्रतिबन्ध लगाउने निर्णय गरेको अधिकारीहरूले जनाएका छन् । चीनसँगको सदाबहार मित्र भए पनि चिनियाँ एपलाई मुलुकभित्र प्रतिबन्ध लगाउनुपर्ने बाध्यता सिर्जना भएको अधिकारीहरूको भनाइ छ ।

टिकटकबाट मुस्लिम धार्मिक संस्कारको उल्लंघन र त्यसलाई असर पार्ने कार्य भइरहेकाले त्यसलाई नियन्त्रणका लागि टिकटक प्रतिबन्ध लगाउनुपरेका उनीहरूले बताएका छन् । पाकिस्तानी दूरसञ्चार प्राधिकरणद्वारा जारी वक्तव्यमा सामाजिक तथा धार्मिक संस्कार बिथोल्ने गतिविधि भएको भन्दै टिकटकका विरुद्धमा उजुरीहरू परेको उल्लेख गरिएको छ ।

मुस्लिम संस्कारअनुसार महिलाले बुर्का लगाउनुपर्ने, शारीरिक अंगहरू प्रदर्शन गर्न नहुनेलगायतका कडा सांस्कृतिक व्यवस्था भए पनि टिकटक प्रयोगकर्ताहरूले त्यसलाई उल्लंघन गरेको उजुरीकर्ताहरूको दाबी छ ।

तपाईको प्रतिक्रिया