शुक्रबार, जेठ ०४, २०८१
Friday, May 17, 2024

काठमाडौं – विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को त्रास जताततै छ । अहिलेसम्म विश्वमा संक्रमित धेरै हुने देशको सूचीमा नेपाल ४० औं स्थानमा पुगेको छ ।

शनिबार एकैदिन ५ हजार ८ जना नयाँ संक्रमित थपिएसँगै नेपाल १ लाख ५ हजार ६ सय ८४ संक्रमित हुँदा विश्वभर धेरै संक्रमित हुनेको देशको सूचीमा नेपाल ४० औं स्थानमा पुगेको हो ।

विश्वभरको कोरोना सम्बन्धी अपडेट गर्दै आएको वेवसाइट वल्डोमिटरका अनुसार अहिलेसम्म २ सय १४ देश कोराोना भाइरसको संक्रमण फैलिएको छ । नेपाल भन्दाअघि ३९ औं स्थानमा काजकिस्तान छ । काजकिस्तानमा संक्रमितको संख्या एक लाख ८ हजार रहेको छ । नेपालमा शनिबार जस्तै आइतबार पनि संक्रमित थपिएमा नेपालले काजकिस्तानलाई पनि उछिन्नेछ ।

अहिलेसम्म विश्वभर ३ करोड ७४ हजारमा कोरोना पुष्टि भएको छ । जसमध्ये सबैभन्दा धेरै संक्रमित अमेरिका, भारत र ब्राजिलमा छन् । अमेरिकामा मात्रै ७९ लाखमा कोरोना पुष्टि हुँदा २ लाख १९ हजारको मृत्यु भएको छ । यस्तै ७० लाख ५१ हजार संक्रमित रहेको भारतमा १ लाख ८ हजारको मृत्यु भएको छ ।

५० लाख ९१ हजारमा संक्रमण पुष्टि भएको ब्राजिलमा डेढ लाखको मृत्यु भइसकेको छ । अमेरिका, भारत र ब्राजिलम मात्र संक्रमित र ज्यान गुमाएका व्यक्ति कुल संक्रमित र मृत्यु हुनेमध्ये झन्डै आधा रहेका छन् । अहिलेसम्म विश्वभर २ करोड ८१ लाख निको भएका छन् । १० लाख ७७ हजारको भने कोरोना संक्रमणका कारण ज्यान गएको छ ।

नेपालमा संक्रमितको संख्या एक लाख ५ हजार नाघेको छ भने ७४ हजार बढी डिस्चार्ज भएका छन् । अहिले देशभर ३० हजार ८१८ जना सक्रिय संक्रमित रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेको संख्या ६१४ पुगेको छ ।

तपाईको प्रतिक्रिया