शुक्रबार, जेठ ०४, २०८१
Friday, May 17, 2024

काठमाडौं – सरकारको चार महिनाको लकडाउन र एक महिनाको निषेधाज्ञालाई पूरै असफल सावित गर्दै नेपालमा तीव्र गतिमा कोरोना फैलिँदै गएको छ । पछिल्लो एक महिनायता संघीय राजधानी काठमाडौंसहित देशका मुख्य सहरी क्षेत्रका समुदायस्तरमा पुगेको कोरोनाले भयावह रुप लिन थालेको हो ।

नेपालमा मृतक संख्या विश्‍वका अन्य देशको तुलनामा कम भए पनि संक्रमितको संख्या भने आकासिँदै गएको छ । एक सातायता नेपालमा कोरोना संक्रमितको संख्याले दिनदिनै नयाँ रेकर्ड बनाइरहेको छ । देशभर दैनिक २ हजार भन्दा धेरै संक्रमित भेटिँदा काठमाडौंका तीन जिल्लामै दैनिक १५ सयको हाराहारीमा संक्रमित भेटिन थालेका छन् ।

कति छन् सक्रिय सङ्क्रमित ?
नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या ९८,६०० नाघेको छ । अहिलेसम्म ५९० सङ्क्रमितको मृत्यु भएको देखिन्छ । निको हुने सङ्क्रमितको सङ्ख्या ७१,००० नाघेको छ ।

विहिबारसम्मको विवरण अनुसार देशभरि २६,६८४ जनामा सक्रिय सङ्क्रमण छ । तीमध्ये १४,९६७ जना घरमा र बाँकी ११,७१७ जना संस्थागत आइसोलेशनमा छन् । वाग्मती प्रदेशमा सक्रिय सङ्क्रमितको कुल सङ्ख्या अन्यत्रको भन्दा बढी छ । तीमध्ये अधिकांश काठमाण्डू उपत्यकाका हुन् । अहिले काठमाडौं उपत्यकामा १५,५८३ सक्रिय सङ्क्रमित छन् । यो देशभरि भएका सङ्क्रमितको ५८ प्रतिशत हो ।

-काठमाडौंः १२,४४१
-ललितपुरः २,०१६
-भक्तपुरः १,१२६

फेरि होला त लकडाउन ?
मन्त्रालयले यसअघि देशभरि सक्रिय सङ्क्रमितको सङ्ख्या २५,००० पुगे लकडाउन लगाउन सकिने सङ्केत गरेको थियो । के अब लडकाउन लाग्छ त ?  मन्त्रालयका प्रवक्ता गौतमले त्यसबारे अध्ययन भइरहेको र निर्णय हुन बाँकी भएको जनाए ।

‘अध्ययन गर्दैछौँ, शय्या उपलब्ध हुन्जेल हामी लकडाउन गर्दैनौँ । शय्या बढाइरहेका छौँ, अस्पताल पनि थपिरहेका छौँ,’ उनले भने, ‘के गर्ने भन्ने हामी हेर्दैछौँ हामीले निर्णय गरिसकेका छैनौँ ।’ देशभरि लकडाउन गर्ने योजना नभएको बरु कुनैकुनै जिल्लामा गर्नुपर्ने अवस्था आउन सक्ने उनको ठम्याइ छ ।

तपाईको प्रतिक्रिया