Deneme Bonusu Veren Siteler
आइतबार, मंसिर ०९, २०८१
Sunday, November 24, 2024

काठमाडौं – देशमा कोरोना महामारी छ, यतिबेला सिंगो शक्ति एकढिक्का भएर यो महामारीविरुद्ध लड्नुपर्ने हो तर, नेपालमा शीर्ष राजनीतिक दलहरु आफैभित्रको शक्ति संघर्षमा अल्झिरहेका छन् । त्यसबाट राप्रपा पनि अछुतो छैन । फुट्ने र जुट्ने क्रममा निरन्तरता दिने राप्रपामा फेरि जुटको शृङ्खला चलेको छ यद्यपी, पूर्णता भने पाएको छैन । संवैधानिक राजसंस्थासहित हिन्दुराष्ट्रको एजेण्डा बोकेको राप्रपामा पार्टीको झण्डा र चुनाव चिन्हमा अझै सहमति जुटिसकेको छैन । अब राप्रपा जुटले कहिले सार्थकता पाउँछ त ? यी र यस्तै समसामयिक राजनीति र कूटनीतिका विषयमा राप्रपाका एकजना अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीसंग समुद्रपारिका लागि नृप रावलले  गरेको कुराकानीको सम्पादित अंशः-

तपाईको पार्टी एकीकरण भएको धेरै दिन भयो तर तपाईहरु अझै पनि मिल्न सक्नुभएन किन ?
विवाद छैन अब, हामीहरुको सबै कुराहरु मिलीसकेको छ । पछिल्लो समयमा भएका छलफलहरु एकदमै सकारात्मक छन् । अब ५, ७ दिन भित्रमा हामी दर्ता पनि गर्न जान्छौं । अहिले दर्ता नभएको एउटा कारण के थियो भने कोरोनाले गर्दाखेरि झण्डै ३ महिना अफिस पनि बन्द भएको थियो । अब हाम्रो पार्टी एक हुने प्रक्रियामा छ । पार्टी एकता गर्ने सम्झौता निर्वाचन आयोगमा दिई नै सकिएको छ । त्यसै अनुसारको विधानहरु पेश गर्ने भनेको छ । विधानहरु पेश गर्ने सबै प्रावधानहरु भईसकेका छन् ।

चुनाव चिन्हमा कुरा नमिलेर अडि्कएको हो ?
चुनाव चिन्ह हलो नै हुन्छ, हामी हलो नै भएर जान्छौं । मूल कुरा के हो भने राष्ट्रिय प्रजातन्त्र पार्टी एक भएर राष्ट्रमा शक्तिशाली दलको रूपमा अब आउन आवश्यक छ । यो राष्ट्रिय आवश्यकता हो । यसलाई यथार्थतामा परिणत गर्नका लागि हामीहरु कटिवद्ध भएर लागेका छौं । त्यसमा हाम्रो एक मन, दृष्टिकोण, भावना छ । र हाम्रो ४ वटा एजेण्डा स्पष्ट छ । एउटा नेपालको पहिचान, हिन्दू राष्ट्रको पहिचान, दोस्रो नेपालमा संविधानभित्रको संवैधानिक राजसंस्था हुनुपर्छ भन्ने कुरामा हाम्रो दृष्टिकोण एकदमै प्रष्ट छ । तेस्रो अहिले नेपाललाई भ्रष्टाचार विगत केही वर्ष देखि बढेर गएको छ, यसको विरुद्धमा संघर्ष गर्ने शक्तिको आवश्यकता छ र यसले नेपाली जनतालाई जुन शोषण गरिरहेको छ, त्यो समाप्त गर्नका लागि राजनीतिक शक्ति, संघर्ष गर्नुपर्छ भन्ने छ । चौथो कुरा, नेपालीहरुलाई विदेशमा गएर मरुभूमिमा रगत पसिना बगाएर काम गर्नुपर्ने स्थिति होइन, नेपालभित्रै रोजगारी दिलाउनुपर्छ । रोजगारी दिलाउन सकिन्छ भन्ने कुरामा हामी दृढ छौं । यी चार वटा एजेण्डाहरु लिएर हामी अगाडि बढेका छौं ।

तर, तपाईहरुलाई जनताले पत्याएको देखिएन नि, अब जनमत पाउनेमा आशावादी हुनुहुन्छ ?
अहिले जनतामा निराशा छ, किन त भन्दा हरेक क्षेत्रमा लुट र भागबण्डा छ अहिले । न्यायालयमा, क्याम्पसमा, संवैधानिक नियुक्तिमा भागबण्डा छ । अहिले ४० वटा संवैधानिक इकाईको निर्णय गर्न बाँकी छ, त्यो किन बाँकी भयो भन्दा भागबण्डा नमिलेर । भागबण्डा पनि कसको ? प्रचण्डजीको कति, शेरबहादुरजीको कति, मावधजीको कति अनि हाम्रो ओलीजीको कति भन्नेमा । उनीहरुको ध्येय त यो देश भनेको हाम्रो बिर्ता हो, यो बिर्तामा जतिसक्दो लुटेर खानुपर्छ भन्ने होइन ? लुटतन्त्र बढेको छ । प्रजातन्त्रको आडमा अप्रजातान्त्रिक गतिविधि र लुटतन्त्र हावी भएको छ । यो अवस्थामा नेपाली जनताले विकल्प खोजेका छन्, विकल्पको रुपमा हाम्रो पार्टी आउनुपर्छ भन्ने हाम्रो मान्यता हो । हाम्रो एजेण्डा भनेको संविधानभित्रको राजसंस्था हुनुपर्छ, जनता सर्बोच्च हो र जनताले शासन गर्ने हो तर, संवैधानिक राजसंस्था हुनुपर्छ ।

२४० वर्षसम्म नेपाललाई राजसंस्थाले लुट्यो भनेर राजसंस्था हटाएको होईन र, फेरि तपाई राजसंस्था फर्काउने कुरा गर्नुहुन्छ ?
अहिलेका राजनीतिक दलहरुले यो १२ वर्षमा जति नेपाललाई लुट्नुभएको छ, नेपालको शोषण गर्नुभएको छ त्यसको त कल्पनै छैन नि ! नेपालको विकासको लागि आएको भनिएको पैसाको खर्च भएको छैन, जति खर्च भएको छ त्यसको दुरुपयोग भएको छ । अझै हेर्नुस् न ! कोरोनाको बेला यस्तो समस्या परेको बेला औषधिमा खुलेयाम भ्रष्टाचार भयो । किसान मल नपाएर मर्कामा छन्, विदेशमा जहाज पर्खिरहेका नेपालीको बिचल्ली छ । जनता मालिक हुन्, सरकार सेवक हो तर, यहाँ सेवकले नै मालिकलाई शोषण गरेर निरिह बनाएर राख्ने स्थितिमा आज नेपाल पुगेको छ । त्यसको विरोध गर्ने, आवाज उठाउने शक्ति नेपालमा भएन । प्रतिपक्ष बोल्दैन र सत्तापक्ष त मैले भनिहाले स्वार्थवादी-जनवादी लुट र भागबण्डामा रमाईरहेको छ ।

संघीय लोकतान्त्रिक गणतन्त्रमा राष्ट्रको अभिभावक भनेको राष्ट्रपति हो तर, तपाईहरु राष्ट्रपतिको विरोध गर्दै हुनुहुन्छ अनि कसरी विश्वास गर्ने ?
त्यो त जनतालाई हामी म्यासेज दिएर जान्छौं, आज नेपालमा सम्माननिय राष्ट्रपतिको पदलाई सबैले सम्मान गर्नुपर्छ र हामी पनि गर्छौ । तर त्यो पदको आज दुरुपयोग भएको छ, पार्टीका नेता कार्यकर्तालाई बोलाएर निर्देशन दिने, सत्ता संघर्षको लेखाजोखा गर्ने पार्टी अध्यक्षको रुपमा दुरुपयोग भईरहेको छ । यो निष्पक्ष भएन, जनताको पक्षमा छैन । संरक्षकले संरक्षणको रुपमा काम नगरेपछि, सेवकले सेवकको रुपमा काम नगरेपछि आवाज उठाउने कि नउठाउने ? संसद्ले उठाउनु पर्छ, अख्तियार दुरुपयोगले नियन्त्रण गर्नुपर्‍यो, न्यायालयले नियन्त्रण गर्नुपर्‍यो, प्रतिपक्षले आवाज उठाउनुपर्‍यो तर बिडम्बना ! न्यायालय हेर्नुहुन्छ भने न्यायधिशहरु भागबण्डाका छन्, न्यायालयबाट न्याय पाउने अवस्था छैन । समृद्ध नेपाल बनाउन हिडेको सरकार कानमा तेल हालेर सुतेको छ, भ्रष्टाचारलाई संरक्षण दिएर बसेको छ । त्यसकारण अब यसको विरुद्ध नेपाली जनता नउठेर हुँदैन, जनता सडकमा आउँछन् ।

त्यसोभए तपाईहरु सडकमा आउनुहुन्छ अब ?
सडकमा आउँछौं हामी तर अहिले कोरोनाको स्थिति छ । समय अनुकुल भएर पार्टी दर्ता हुने बित्तिकै यो प्रक्रियामा हामी चुप लागेर बस्दैनौं। यो देशको लुट राणाशासनलाई पनि बिर्साउने खालको छ, अहिले त विकास गर्छु भन्ने देशलाई माथि लैजान्छु भन्ने तर काम गर्दा भ्रष्टहरुलाई मात्र प्रोत्साहन गर्ने, भ्रष्टाचारी प्रक्रियालाई प्रोत्साहन गर्ने र भ्रष्टाचार नियन्त्रण गर्ने संस्थालाई निरिह गराएर राख्ने जुन संस्कार चलेको छ, यो पाखण्डीपन, नवसामन्तवाद हो । यसको विरुद्धमा जनता उठ्छन् । कुन समयमा कसरी उठ्ने हो, त्यो भन्न सकिँदैन तर उठ्न चाँहि उठ्छन् ।

प्रसंग फेरौं, अहिले नेपालको परराष्ट्र नीतिलाई कसरी हेरिरहनुभएको छ ?
अहिले नेपालको परराष्ट्र नीति लथालिंग भएको छ । के भइरहेको छ भन्ने पनि कसैलाई थाहा छैन । महाशक्ति राष्ट्र हुने इच्छा लिएर हिँडिरहेका दुई ठूला देश भारत र चीनको बीचमा हामी छौं । दुई ठूला देशहरुको बीचमा रहेको सानो देशको परराष्ट्र नीति भनेको नेपालको स्वतन्त्रता, सार्वभौमिकता र नेपाली जनताको आत्मसम्मानको संरक्षण गर्दै नेपालको प्रगतिका लागि योगदान गर्ने हुनुपर्दछ । हाम्रो जस्तो सानो मुलुकले परराष्ट्र नीतिको उद्देश्यलाई प्रष्ट पार्नुपर्छ । सुपर पावर मुलुक अमेरिका, विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको चीन र सुपर पावर बन्ने लक्ष्य लिएको भारतसंगको नेपालको परराष्ट्र नीति खल्बलिँदै गएको छ । हाम्रो लागि तीनवटै मुलुक अत्यन्तै महत्वपूर्ण छन् । अरु राष्ट्र पनि त्यत्तिकै महत्वपूर्ण होलान् । आफ्नो देशको राष्ट्रिय स्वार्थ, देशको स्वतन्त्रता, सार्वभौमिकतालाई बलियो गराएर लैजाने र यसको संरक्षण गर्ने अस्त्र भनेको नै परराष्ट्र नीति हो । त्यस कारण परराष्ट्र नीतिको महत्व साना राष्ट्रका लागि अझ बढि महत्वपूर्ण हुन्छ ।

नेपालको परराष्ट्र नीति लथालिंग छ भन्नुभयो, कसरी ?
भारतसंगको हाम्रो सम्बन्ध विभिन्न कारणले लथालिंग भएको छ । त्यो कतिपय अवस्थामा भारतकै कारणले पनि भएको हो । उसले नेपालको संवेदनशीलतालाई बुझ्न नसकेका कारण यस्तो भएको हो । तर, जेसुकै भएपनि भारतसंगको सम्बन्ध बिगार्नु उचित होइन । किनकी नेपाल र भारतबीच परापूर्वकालदेखि नै ऐतिहासिक, साँस्कृतिक सम्बन्ध हो । भारतसंगको सम्बन्ध बिग्रिएमा विगतका नाकाबन्दी र अन्य थुप्रै चुनौतीको सामना गर्नुपर्ने हुनसक्छ । चीन-भारत दुबै मुलुकसंग सन्तुलित सम्बन्ध बनाएर अघि बढ्नुपर्छ ।

नेपालले नयाँ राजनीतिक र प्रशासनिक नक्सा जारी गरेपछि भारतसंगको सम्बन्ध बिग्रेकै हो ?
अहिले त बिग्रेकै छ । यसलाई भारतले पनि सुधार्नुपर्छ, नेपालले पनि सुधार्नुपर्छ । सीमाको बारेमा विभिन्न दृष्टिकोणहरु छन् । नेपालको दृष्टिकोणमा लिम्पियाधुरा नेपालकै हो, किनभने हाम्रा प्रमाणहरु छन् । भारतले त्यसलाई मानेको छैन । उसले नमाने पनि त्यसलाई समाधान गर्ने ‘डिप्लोमेटिक डायलग’ (कूटनीतिक वार्ता), ‘डिप्लोम्यटिक च्यानल’ (कूटनीतिक संयन्त्र) बाट जानुपर्छ । तर, गाली गरेर हुँदैन । गाली गर्ने जुन शैली देखिएको छ त्यो ठीक छैन । गाली गर्नेले पनि आफ्नो सत्ता अड्याउन त्यसलाई हतियारको रुपमा प्रयोग गरेको देखिन्छ ।

अन्त्यमा, दुई देशका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता भएको छ, यसले नेपाल-भारत सम्बन्धमा आइसब्रेक गर्न सक्छ ?
मैले त देखिरहेको छैन । भारतको पनि नेपालप्रति पहिला जुन किसिमको व्यवहार भयो, नेपाललाई अघोषित नाकाबन्दीका कदमहरु भए । नेपाल सरकारले पनि आफ्नो बोलीवचनमा जुन किसिमको मित्रराष्ट्रहरुप्रति व्यवहारहरु गरेको छ, त्यसले गर्दा पनि वातावरण बिग्रेको हो । अयोध्यापुरीमा राम जन्मेको भनेर प्रधानमन्त्रीले भन्ने कुरा होइन नि । यदि त्यस्ता कुनै प्रमाण छन् भनेदेखि यहाँका विद्वानहरु र भारतका पनि विद्वानहरु छन्, पुरातात्विक प्रमाणहरु जुटाएर इतिहास खोजेर त्यसको बारेमा छलफल गर्नु, त्यो आफ्नो ठाउँमा छ होला । यसो गरेदेखि नेपालभित्र इज्जत बढ्छ कि भन्ने भावना लिएर आफ्नो असफलतालाई लुकाउनका लागि जनताको ध्यान अरूतिर मोड्ने जुन प्रयास अहिलेको सरकारबाट भएको छ, त्यो दूर्भाग्यपूर्ण हो ।***

तपाईको प्रतिक्रिया