शनिबार, जेठ ०५, २०८१
Saturday, May 18, 2024

काठमाडौं – नेपालमा अहिले १ हजारभन्दा बढी कोरोना भाइरस संक्रमित भएको जिल्ला ११ पुगेका छन् । काठमाडौंमा भने संक्रमितको संख्या ५ हजार नाघेको हो ।

काठमाडौंसहित तराईका १० जिल्ला गरी देशभरका ११ जिल्लामा कोरोना भाइरसबाट संक्रमितको संख्या एक हजार नाघेको हो । पश्चिम कैलालीदेखि पूर्व मोरङसम्मका विभिन्न १० जिल्लामा प्रतिजिल्ला एक हजार भन्दा बढी संक्रमित भेटिएका छन् ।

स्वास्थ्य मन्त्रालयले आज सार्वजनिक गरेको तथ्यांकअनुसार कैलाली, बाँके, कपिलवस्तु, रूपन्देही तथा मोरङमा १ हजारभन्दा बढी संक्रमित छन् । यसैगरी प्रदेश २ का पर्सा, रौतहट, सर्लाही, महोत्तरी र धनुषामा पनि १ हजारभन्दा बढी संक्रमित छन् ।

विहिबार देशभर गरी १ हजार २२८ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या ४२ हजार ८७७ पुगेको छ । अहिलेसम्म २४,२०७ सङ्क्रमित निको भइसकेका छन् भने २५७ जनाको मृत्यु भएको छ ।

संक्रमित ७ हजार नाघे
उपत्यकामा संक्रमितको संख्या सात हजार नाघेको छ । बिहीबारसम्ममा ४ सय ९६ जना थपिएसँगै उपत्यकामा संक्रमितको संख्या ७ हजार ३८ पुगेको हो ।

अहिलेसम्म काठमाडौंमा ५ हजार ६ सय २२, ललितपुरमा ८ सय १८ र भक्तपुरमा ५ सय ९८ जना संक्रमित भइसकेका छन् । हाल उपत्यकामा बालबालिका, बुढापाका गरी हरेक उमेर समूहका संक्रमित देखिएको स्वास्थ्य मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का वरिष्ठ जनस्वास्थ्य अधिकृत उत्तमकुमार कोइरालाको भनाई छ ।

उनका अनुसार सुरक्षाकर्मी, बैंकका कर्मचारी, साना-ठूला व्यवसायी, स्वास्थ्यकर्मी, उपचारमा आएका बिरामी, समुदायका अन्य व्यक्तिलगायतमा संक्रमण बढी मात्रामा देखिएको छ । पछिल्ला केही दिनहरूमा काठमाडौंमा भेटिएका कोरोना संक्रमित बाहिरका जिल्लाबाट आएको नदेखिएको पाइएको छ ।

तपाईको प्रतिक्रिया