Deneme Bonusu Veren Siteler
आइतबार, मंसिर ०९, २०८१
Sunday, November 24, 2024

काठमाडौं – देशमा कोरोना संक्रमण बढ्दैछ, नागरिक आक्रान्त छन् । यो बेला सरकारले नागरिकलाई ढाडस दिनुपर्ने हो तर, त्यो अनुभूति आम जनताले गर्न सकेका छैनन् । सरकार सञ्चालन गरिरहेको दल र प्रमुख विपक्षी दलमा घर झगडा बल्झिदा जनतामा निराशा छाएको छ । यहि निराशाकाबीच विपक्षी दल नेपाली काँग्रेसको १४ औं महाधिवेशनको माहोल तात्दै छ । नेकपाको बहुमतीय सरकारमा प्रतिपक्षको भूमिका कमजोर भएको, पार्टी प्रजातान्त्रिक समाजवादको मर्मलाई भुल्दै गएको, संगठन विस्तारमा एक पक्षको मनोमानी भएको जस्ता मुद्दालाई लिएर कार्यकर्तादेखि केन्द्रीय तहसम्मै बहस छ । यसै सन्दर्भमा सरकारका काम कारबाहीको समिक्षा र कांग्रेस महाधिवेशनका विषयमा केन्द्रीत रहेर केन्द्रीय सदस्य समेत रहेका नेपाली काँग्रेसका प्रभावशाली नेता डा. मिनेन्द्र रिजालसंग समुद्रपारिका लागि नृप रावलले गरेको कुराकानीको सम्पादित अंशः-

कोरोना कहरले नेपाली राजनीतिमा कस्तो असर पार्‍यो ?
हामीले तीन महिना लकडाउन गर्‍यौं । लकडाउनको मुल मान्यता के हो भन्दाखेरि तयारी गर्ने, संक्रमणलाई रोक्ने, अस्पतालको क्षमता, क्वारेन्टिनको व्यवस्था, बाहिरबाट आएका नागरिकहरुको व्यवस्थापन गर्ने । तर सरकारले झण्डै ४ महिनाको अवधिमा यी काम गर्न सकेन । यी सबै काम नगर्दा विश्व स्वास्थ्य संगठनको प्रक्षेपण थियो नेपालमा १५ सयदेखि २ हजारसम्म संक्रमित हुन्छन् भनेर तर, अहिले २२ हजार पुगिसक्यो, संक्रमण कहाँ पुग्छ भनेर थाहा छैन । सरकारलाई जुन तीन महिनाको समय थियो कोरोनाको व्यवस्थापन गर्ने, अर्थतन्त्रलाई व्यवस्थापन गर्ने यी काम नगरेर सत्ताको लडाईमा सरकार लाग्यो, यस्तो कि नेपालमा केही पनि छैन । यस्तो बेलामा प्रधानमन्त्री स्तरहिन कुरा गरेर हिडिराख्नु भएको छ, न जनताको व्यवस्थापन गर्न सक्नुभयो न त सरकारको नै । अहिले सरकारको अकर्मण्यताको परिणाम व्यहोर्दैछौं । यसले धेरैको ज्यान पनि जानसक्छ, धेरै मान्छे संक्रमित हुन्छन् नै अर्थतन्त्र पनि निकै धराशयी हुन्छ भन्ने चिन्ता छ ।

भनेपछि कोरोना नियन्त्रणमा सरकार पूर्ण असफल भयो ?
यो त जग जाहेर नै छ नि, कसरी कोरोनाबाट जनतालाई जोगाउने, कसरी अर्थतन्त्रलाई संकुचित हुन नदिने, कसरी भारतले अतिक्रमण गरेको हाम्रो भूमि फिर्ता गर्ने भन्नेतर्फ ध्यान गएन । प्रधानमन्त्रीको ध्यान शक्ति संघर्षमै छ, अझ पछिल्लो एक महिनायता त दैनिकजसो बालुवाटारमा नेकपाका नेताबीच झगडा भईरहेको छ । यो झगडा गर्ने बेला हो कि जनतालाई दुःख र महामारीबाट जोगाउने बेला हो ? त्यसकारण जनता एक ठाउँमा छन् । सरकार सत्ता र शक्ति कसरी जोगाउने भन्ने खेलमा छ, यो भन्दा दुःख लाग्दो कुरा के हुनसक्छ ? जनताले ढाडस खोजेको थियो सरकारबाट तर सरकार जनतालाई के हुन्छ थाहा छैन । कोरोनाको त्रासबाट सचेत भएर जनतालाई जोगाउने होइन कि कोरोनाको बहानामा पार्टीभित्रको मान्छेलाई पनि थिचोमिचो गर्ने, दबाउने, पकडमा राख्ने र पूरै राजनीतिलाई आफ्नो स्वार्थमा राख्ने तिर प्रधानमन्त्रीको ध्यान छ । यसरी गलत प्राथमिकता बोकेको मान्छेले मुलुकलाई ठूलो दुर्घटनामा पुर्‍याउँछ ।

पछिल्लो एक महिनायता नेकपामा चर्केको घर झगडालाई कसरी हेरिराख्नु भएको छ ?
म नेकपाको झगडामा निरपेक्ष छु तर, जनतालाई कोरोनाबाट जोगाऔं । अनि अलिकति नर्मल टाइम भएपछि जति मारामार गर्नुहुन्छ मलाई कुनै चासो हुँदैन, कोरोनाबाट जनतालाई बचाउनका लागि एकता आवश्यक छ । कुन नेता राम्रो कुन नराम्रो भनेर मैले चासो लिइरहनुपर्ने काम छैन तर, ओलीजीप्रतिको निराशा जनतामा बढ्यो । एउटा कुनै मानिसप्रतिको यति ठूलो लोकप्रियताबाट यति ठूलो निराशा आयो भने त्यो ओलीजीप्रतिको हो । आज भन्दा ३ वर्ष अगाडि चुनावमा जाँदाखेरी उहाँकै लोकप्रियताका कारण कम्युनिस्ट पार्टीले चुनाव जित्यो, मान्छेलाई के लाग्यो भन्दा भारतले नाकाबन्दी गर्दा एउटा उभिने नेता भनेर ओलीजीलाई सम्मान गर्थे । उहाँले ठूलठूला सपना देखाउनुभयो- ‘रेलगाडी, पानीजहाज, राजमार्ग, घरघरमा ग्यास, ठूला विकासको’, जनताले पत्याए यो मान्छेले पार लगाउँछ कि भनेर । तर त्यो मान्छे आज अढाई वर्षमा हास्यपात्र भएको छ, उसले बोलेको कुरा प्रहसन जस्तो लाग्छ आम नागरिकलाई । जसका कारणले नेकपाले दुईतिहाई जनताको मत पायो, लोकप्रियताको चुलीमा पुग्यो तर आजको दिनमा सबैभन्दा अलोकप्रिय मान्छे केपी शर्मा ओली हुनुहुन्छ । सरकारप्रति चरम निरासाका कारणले ४ पुस्ताले दुख गरेर बनाएको संविधान र लोकतन्त्र नै जोखिममा पर्ने हो कि भन्ने चिन्ता छ हामीलाई ।

अब पार्टी महाधिवेशनको कुरा गरौं, फागुनमा महाधिवेशन होला त ?
सभापति शेरबहादुर देउवा र रामचन्द्र पौडेल फागुनमै महाधिवेशन गर्ने तयारीमा हुनुहुन्छ । तर देशमा कोरोनाको संक्रमणले भयावह रुप लिने हो कि भन्ने डर छ । त्यसले गर्दा महाधिवेशन भनेकै समयमा होला कि नहोला भन्ने पनि छ । महाधिवेशन सम्बन्धि गतिविधि हामीले फागुनमा रोकेर साउनमा सुरु गरिरहेका छौं । तर, पछिल्ला दिन कोरोनाबाट मृत्युदर पनि बढ्न थालेको छ । अब त्यसलाई निरन्तरता दिन सक्छौं कि सक्दैनौं, हेरौं । अवस्था सामान्य भयो भने त हाम्रो काम सहज रुपमा जाला, मंसिरको मसान्तसम्म क्रियाशील सदस्यता टुंगिन्छ । त्यसको ६ दिनपछि पुस ६ गते वडाको अधिवेशन भनिएको छ । हामीकहाँ सबैभन्दा बढी विवादित हुने विषय नै क्रियाशील सदस्यता वितरणमा हो । त्यही मतबाट को जित्छ, को हार्छ, टुंगो लाग्छ । त्यसैले क्रियाशील सदस्यताको कारण फागुन ७ भन्दा अलि ढिला होला कि ? क्रियाशील सदस्यता चित्त नबुझ्ने खालको भयो भने अधिवेशनको प्रक्रिया अगाडि नबढ्ने अवस्था आउन सक्छ ।

विभागहरुमा सभापतिले गरेको मनोनयनमा पौडेल पक्षको चित्त बुझेको छैन नि ?
निश्चय नै । आज देउवाले सभापतिको रुपमा काम गरिरहनु भएको छैन । उहाँ १४ औं महाधिवेशनको सभापति पदका उम्मेदवार शेरबहादुर देउवाको प्रचार अभियानको रुपमा पार्टीलाई सञ्चालन गरिराख्नुभएको छ । त्यो भन्दा दुःखद् केही पनि हुँदैन । अहिलेसम्म पार्टीभित्र विवादको केन्द्रमा त्यही विषय छ । मैले आजभन्दा ६ महिना अगाडि नै भनेको थिएँ – उहाँ महाधिवेशनको नतिजा आफ्नो पक्षमा पारेर मात्रै महाधिवेशनमा जान चाहानुहुन्छ । यसो भन्दा शिष्टाचार नहोला । तर, अहिले उहाँको पक्षमा वातावरण देखिन्न । तैपनि प्राविधिक रुपमा आफ्नो पक्षमा वातावरण बनाउन उहाँले जे पनि गर्न सकिन्छ भनेर सबै गर्नुभएको छ । यसरी पार्टीको अधिवेशन कसरी आफ्नो पक्षमा ल्याउन सकिन्छ भन्ने कुराबाट अभिप्रेरित भएर काम गर्दा मुलुकको राजनीति दर्घटनामा पर्न सक्छ ।

पार्टीभित्रको यस्तो संक्रमणको अन्त्य गर्न तपाईंसहितको नयाँ पुस्ता नेतृत्व लिन तयार छ त ?
बूढो त हामी पनि भयौं तर, हाम्रो पनि दाइ पुस्ताको उमेरले हामीलाई छोपेको छ र हामी बूढो भएको मानिसले देखेका छैनन् । अरु पार्टीमा मेरै उमेरका साथीहरु प्रमुख नेतृत्वमा छन् । म भन्दा ४,५ वर्ष मात्रै जेठो प्रचण्ड, माधव नेपाल मूल नेतृत्वमा हुनुहुन्छ । मैले देउवालाई लामो समय साथ दिएँ, उहाँलाई छोडेको ५, ६ वर्ष मात्रै भएको छ । मलाई यहाँसम्म ल्याउन उहाँको सहयोग छ । म कृतज्ञ छु । म जुन समूहमा छु, यता पनि गुनासो छैन । म विस्तारै आफूलाई कन्भिन्स गरिरहेको छु, अहिले पनि ठूला नेताहरुलाई दोष दिएर हामी उम्कने बेला छैन । उहाँहरुले नगरे आफुले जिम्मेवारी लिने हो । तर, मैले मूल नेतृत्वमा चुनौती दिनसक्ने अवस्था छैन । चाहना त छ तर, त्यसले मात्रै भएन । त्यसैले अहिले देउवा, रामचन्द्र पौडेललाई गुनासो गरेर, निराशा व्यक्त गरेर भन्दा हामीले गरेर देखाउन सक्ने हामी हुनुपर्‍यो ।

उसो भए नेतृत्वका लागि दाबेदार को-को छन्, तपाईं कुन पदको प्रत्याशी हुनुहुन्छ ?
म सभापति पदको उम्मेदवार होइन, त्यसपछिका मुख्य पदको दाबेदार हुँ । त्यहीअनुसारको तयारीमा छु । एक जना सभापतिको उम्मेदवार त शेरबहादुर देउवा नै हुनुहुन्छ । यता म संलग्न भएको रामचन्द्र पौडेल समूहमा थुप्रै आकांक्षी हुनुहुन्छ । तर, कसैले पहिले सभापति र पछि जुन पद पाए पनि हुन्छ भन्ने सोचले उम्मेदवारी दिनुहुँदैन ।

नेपाली कांग्रेसका कार्यकर्ताले कस्तो नेतृत्वको अपेक्षा गरेका छन् भन्ने तपाईंलाई लाग्छ ?
यता धेरै कुरा नगरौं, म आफ्नो भविष्यलाई जोखिममा राखेर बोल्न सक्दिनँ । तर यति भन्नैपर्छ, हामीले विगतमा जसरी सनातनी रुपमा पार्टी चलायौं, त्यसरी काँग्रेस चल्दैन भन्ने सन्देश देशभरका युवादेखि बृद्धासम्मका कार्यकर्ता र नेताहरुले दिनुभएको छ । प्रष्ट रुपमा साथीहरुले यो कुरा उठाउनुभएको छ । त्यसैका आधारमा हो मैले पहिलो होइन, दोस्रो पदमा उठ्छु भन्ने आत्मविश्वास लिएको ।

कांग्रेसलाई ‘मास बेस्ड पार्टी बन्न कुन चरित्रले रोक्यो जस्तो लाग्छ ?
शेरबहादुर देउवा समूहका चार-पाँच जना साथीको कुलिनतन्त्रबाट पार्टी चलेको छ । त्यसैगरी भोलि रामचन्द्र पौडेल समूहका सात जनाको शासन कांग्रेसमा हुने भयो भने देशले खोजेको जस्तो कांग्रेस बन्दैन । मैले विधान बनाउने बेला पनि कुरा गरेको थिएँ – कांग्रेस साँच्चै ‘मास बेस्ड’ पार्टी हुनुपर्‍यो, ‘क्याडर बेस्ड’ पार्टी बनाउँदा देशमा कम्युनिस्ट नै सबैभन्दा ठूलो पार्टी हुन्छ । कांग्रेस ‘टप हेभी पार्टी भएको छ । नेपाली कांग्रेस २०४६ पछिसम्म देशको मुख्य पार्टी थियो । पार्टीभित्र धेरैजना मन्त्री, उपप्रधानमन्त्री र प्रधानमन्त्री भइसकेका व्यक्तित्व हुनुहुन्छ । हाल प्रधानमन्त्री भएका एक जना हुनुहुन्छ । तर, उपप्रधानमन्त्री वा मन्त्री तहका उपल्लो ओहोदामा पुगेका व्यक्तित्व धेरै हुनुहुन्छ । यसरी हेर्दा हाम्रो पार्टी टाउको निकै ठूलो र शरीर तथा खुट्टा सानो हुँदै गएको पार्टी बन्यो । अबका युवा नेताले बलियो जरासहितको पार्टी चिनाउने सोच्नुपर्‍यो । त्यसका लागि खुला रूपमा सदस्यता लिन पाउने व्यवस्था गर्नुको विकल्प छैन ।

अन्त्यमा, अहिले प्रतिपक्षको भूमिका शून्यप्रायः देखिन्छ, किन होला ?
हाम्रो दलमा ठूला नेताहरु देउवाजी, सशांकजी, प्रकाशमानजी बाहेक ठूला खालका नेता सबैले चुनाव हार्नुभएको छ । त्यसैले उहाँहरुको पनि ध्यान संसदमा हाम्रो पार्टीले खेलेको भूमिकामा छ । तर, हाम्रा साथीहरु संसदमा आफ्नो भूमिकाबारे चासो दिनुहुन्न, सरकारले के गरिरहेको छ उहाँहरुलाई याद हुन्न । पार्टीमा देउवा किन प्रभावकारी हुनुभएन, महाधिवेशनमा कसरी परिचालन गर्ने, गुट व्यवस्थापन कसरी गर्ने भन्नेमा मात्र उहाँहरुले ध्यान दिनुभएको छ । त्यसकारण पनि हामीले प्रभावकारी प्रतिपक्षको भूमिका निर्वाह गर्न सकेका छैनौं । र, अहिले कम्युनिस्ट पार्टीप्रति घोर निराशा छ । जनता काठमाडौंमा मात्र होइन, देशभरबाट सडकमा आए । जनता राजनीतिक सत्ताको खोजी गरेर आएका होइनन् । ‘इनफ इज इनफ’ को आन्दोलनमा आम मान्छे आए । यस्तो अवस्थामा स्वभाविक रूपमा विपक्षप्रति आशा राख्नुपर्ने हो । तर जनताले विपक्ष पार्टीको नेतृत्वमाथि भरोसा गरेनन्, आफै सडकमा आए । यस्तो परिस्थिति आउँदासम्म कांग्रेसले यस विषयमा सोच्नुपर्छ कि पर्दैन ? यो परिवेशमा कांग्रेसले आफूलाई भरोसाको केन्द्र बनाउनुपर्थ्यो । अब ६ महिनाभित्र पनि कांग्रेस आमजनताको पार्टी बन्न नसके हाम्रो महाधिवेशन निरर्थक हुन्छ । त्यतातिर प्रयत्नशील रहौं भन्ने मेरो भनाइ हो । यो आजको चुनौती पनि हो ।***

तपाईको प्रतिक्रिया