शुक्रबार, जेठ ०४, २०८१
Friday, May 17, 2024

काठमाडौं – गत साता भारतको केरलामा भएको विमान दुर्घटनामा बच्न सफल एक यात्रुले बीबीसी तमिलसँग कुरा गर्दै दुर्घटना अगाडिको नाटकीय क्षणको वर्णन गरेका छन् ।

“हामीले स्पीकरमा विमानचालको आवाज सुन्यौँ । उनले ‘क्यालिकट ल्यान्ड’ भनेको सुनियो, तर वाक्य पूरा हुन पाएन । त्यसको दुई वा तीन मिनेटपछि हाम्रो दुर्घटना भयो ।”

अगस्ट ७ को रातलाई यूजिन युसुफ यसरी सम्झन्छन् । उनी कोझिकोड (पुरानो नाम क्यालिकट) विमानस्थलमा प्रतिकूल मौसमका कारण धावनमार्गबाट चिप्लिएको एअर इन्डिया एक्सप्रेसको विमानमा रहेका १९० मानिसमध्ये एक हुन् । दुई विमान चालकसहित १८ जनाको मृत्यु भएको सो दुर्घटनामा विमान दुई टुक्रा भएको थियो ।

विमानको पछिल्लो भागमा बसेका युसुफलाई चोट लाग्यो, तर उनको ज्यान जोगियो । “ईश्वरको कृपाले म सुरक्षित र स्वस्थ छु। ओठ र हातमा लागेको सानो चोटसहित म घरमै क्वारन्टीनमा छु,” उनले भने ।

उक्त दुर्घटना यो दशकमा भएको भारतीय यात्रुवाहक विमानको सबैभन्दा नराम्रो दुर्घटनामध्ये एउटा थियो। तर एक अधिकारीले धेरै जनाको मृत्यु नहुनुलाई ‘चमत्कार’ भनेका छन् ।

के भएको थियो ?
युसुफका अनुसार अवतरण गर्नुभन्दा झन्डै ४५ मिनेट पहिले यात्रुहरूले पेटी बाँध्न थालेका थिए । तर २० मिनेटपछि पनि विमान आकाशमै घुमिरहेको थियो। “मलाई लाग्यो खराब मौसमका कारण चालकले धावनमार्ग देखेनन्,” उनले भने ।

केरलामा मनसुन चलिरहेको छ र केही स्थानमा यसले ठूलो क्षति गरेको छ । दुर्घटनाको दिन मुन्नर जिल्लामा बाढीका कारण आएको पहिरोले झन्डै ४० जनाको मृत्यु भएको थियो । दर्जनौँ अरू अझै हराइरहेका छन् ।

युसुफका अनुसार विमान अवतरण हुँदै गर्दा सबै कुरा चाँडोचाँडो भइरहेको थियो । उनले भने, “विमान तीव्र गतिमा थियो र त्यो केहीमा ठोकियो र दुर्घटना भयो ।” उनले विमानमा मानिस कराएको र रोएको सुनेको बताए ।

उनले पछिसम्म पनि विमान दुई टुक्रा भएको थाहा पाएनन् । विमानको पछिल्लो भागमा भएकाले उनलाई ठूलो चोट लागेन तर अगाडि बस्नेहरू त्यति भाग्यमानी थिएनन् । “विमानबाट निस्किन झन्डै २० मिनेट लाग्यो। मृत्यु भएका यात्रुको परिवारजनलाई मेरो हार्दिक समवेदना छ ।”

दुर्घटनाबारे के थाहा छ ?
उडान नं आईएक्स ११३४ मा १० शिशुसहित १८४ यात्रु र चालकदलका छ सदस्य थिए । कोरोनाभाइरस महामारीका कारण यूएईमा अलपत्र परेका भारतीय नागरिकहरू उक्त विमानमा स्वदेश फर्किएको बताइएको छ ।

उक्त बोइङ ७३७ विमान स्थानीय समयानुसार साँझ ७:४० मा दुर्घटनामा परेको थियो । भारतीय सञ्चारमाध्यमका अनुसार विमानचालकले पहिलो पटक अवतरण गर्ने प्रयास गर्दा वर्षाका कारण धावनमार्ग देखेनन् । दोस्रो प्रयासमा निश्चित स्थानभन्दा एक किलोमिटर पर विमान ओर्लिँदा चिप्लिएर खाल्डोमा परेको बताइएको छ ।

अनुसन्धानकर्ताहरूले विमानको ब्ल्याक बक्स फेला पारेका छन् । भारतीय उड्डयनमन्त्री हरदीप सिंह पुरीले शनिवार दुर्घटनास्थल पुगेर ब्ल्याक बक्स भेटिएको बताएका थिए । पुरीले विमानचालकको प्रशंसा गर्दै दुर्घटनाको कारणबारे बोल्ने बेला नभएको बताए ।

तपाईको प्रतिक्रिया