शुक्रबार, जेठ ०४, २०८१
Friday, May 17, 2024

ललितपुर – ललितपुरको महालक्ष्मी नगरपालिका-८ लुभूको एकै घरका १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बल्खुस्थित बयोद्या अस्पतालमा कार्यरत ल्याब टेक्निसियनमा यही असार १७ गते कोरोना संक्रमण पुष्टि भएसँगै उनका परिवारका अन्य सात जनामा र भाडामा बस्ने दुई गरी १० जनामा गरिएको स्वाब संकलनमा सबैको नतिजा पोजेटिभ आएको हो ।

नर्सले आफू संक्रमित देखिनुअघि आमालाई लुभूस्थित स्वस्तिक फार्मेसीमा अन्य रोगको समस्या भएर उपचारका लागि ल्याएको वडाध्यक्ष विश्वराज श्रेष्ठले बताए । सो फार्मेसीमा कार्यारत श्रेष्ठका दुई छोराले यही असार २१ गते पाटन र टेकुमा गरेको स्वाब परीक्षणमा उनीहरुको रिपोट समेत कोरोना पोजेटिभ आएको श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठलगायत उनका नाती र बुहारी भने हाल होम क्वारेन्टाइनमा छन् । फार्मेसीमा कार्यरत जेठो छोरा र अर्का चिकित्सक भनिएका कान्छा छोरा भने हाल सशस्त्र प्रहरीको अस्पताल बलम्बुमा उपचार गराइरहेका छन् ।

सो वडामा यसका अलवा विदेशबाट फर्किएकी एक महिला, ग्वार्कोको बी एण्ड बी अस्पतालमा उपचारका लागि गएका एक पुरुष र स्थानीय अर्की एक महिला गरी हालसम्म लुभूका १५ जनालाई कोरोना संक्रमण पुष्टि भइसकेको नगर प्रमुख रामेश्वर श्रेष्ठले जानकारी दिए ।

उनले भने, ‘यसका अलवा वडा नं ६ सिद्धिपुरका तीन, वडा नं १ र वडा नं ४ इमाडोलका एक-एक गरी अन्य पाँच जनासमेत कोरोना पोजेटिभ देखिएको छ, नगरपालिकाभित्र हालसम्म कूल २० जना कोरोना पोजेटिभ देखिएका छन् ।’

यी संक्रमितको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । लुभूका यी १२ व्यक्तिमा एकैदिन यही असार २५ गते कोरोना संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख डा खगेश्वर गेलालले बताए ।

तपाईको प्रतिक्रिया