शुक्रबार, जेठ ०४, २०८१
Friday, May 17, 2024

टोकियो – एभरेष्ट इन्टरनेशनल स्कुल जापानको आठौं साधारण सभाले सञ्चालक समितिको रिक्त अध्यक्षमा एनआरएन आइसीसीका निवर्तमान अध्यक्ष भवन भट्टलाई सर्बसम्मत चयन गरेको छ । गत वर्ष भएको सातौं साधारण सभाले दुई वर्षको कार्यकालका लागि चयन हुनुभएका अध्यक्ष डा. भूपालमान श्रेष्ठले आफ्नो कार्यब्यस्तताको कारण देखाउँदै राजीनामा दिएकोले रिक्त हुन आएको अध्यक्ष पदमा भट्टलाई चयन गरेको हो । आइतबार स्कुलको आफ्नै भवनको सभा कक्षमा प्रमोटरहरुको साधारण सभा भएको हो ।

अध्यक्ष डा. श्रेष्ठको सभापतित्वमा भएको सो साधारण सभामा सञ्चालक समितिको तर्फबाट सदस्य कमलचन्द्र आचार्यले स्वागत मन्तब्य राख्नुभएको थियो भने प्रमोटरहरुका तर्फबाट सदस्य बिशेश्वर रेग्मी र सल्लाहकार महेशकुमार श्रेष्ठले मन्तब्य राख्नुभएको थियो ।

साधारण सभामा प्रमोटर समेत रहनुभएका प्रिन्सिपल विष्णु भाटले गत शैक्षिक वर्षको कार्यप्रगती प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने अध्यक्ष डा. श्रेष्ठले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो । यसैगरी स्कुलका कार्यकारी समितिका सदस्य इ. मेघराज नेपालले प्रस्तावित नियमावली र सञ्चालक समितिका सल्लाहकार डा. बलराम श्रेष्ठले एभरेष्ट इन्टरनेशनल स्कुल जापानको भावी मोडालिटीका बारेमा प्रस्तावित प्रतिबेदन पेश गर्नुभएको थियो । प्रस्तुत प्रतिबेदनहरुमाथि बृहत छलफल र अन्तरक्रिया पछि साधारण सभाले आवश्यक संशोधन सहित पारित गरेको छ । जसअनुसार गैर नाफामुलक संस्था नेपाल एजुकेशन सेन्टरको तत्वावधानमा सन् २०१३ अप्रिलदेखि सञ्चालनमा आईरहेको एभरेष्ट इन्टरनेशनल स्कुललाई अब छिट्टै स्टक कम्पनी (खाबुशिकी खाइस्या) को रुपमा रुपान्तरित गरी सेवाभाव र सामुदायिक उत्तरदायित्व सहितको अवधारणा अनुसार ब्यवसायिक (बिजनेश) मोडलमा लैजाने साधारण सभाले पारित गरेको छ ।

साधारण सभाले रिक्त अध्यक्षको पदपूर्ती गर्नुका साथै ३ सदस्यीय कार्यकारी (सचिवालय) समितिलाई ५ सदस्यीयमा बिस्तार गरेको छ, जसअनुसार भवन भट्ट, मेघराज नेपाल, भूषण घिमिरे, कमलचन्द्र आचार्य र सुजाता श्रेष्ठ रहनुभएको छ ।

सभालाई सम्बोधन गर्दै नयाँ अध्यक्ष भवन भट्टले एभरेष्ट इन्टरनेशनल स्कुललाई मुनाफा कमाउने उद्देश्यले भन्दा पनि अपनत्व बोध हुने गरी सामुदायिक सम्पत्तिकोरुपमा बिकास गर्न चाहेको बताउनुभयो । उहाँले अगाडि भन्नुभयो – ‘हाम्रा सामु चुनौतीहरु अवश्य थपिएका छन्, लगानीकर्ता, समुदाय र अभिभावकको अपेक्षा आ-आफ्नै प्रकारका छन् । अब हाम्रो सेवालाई राजधानी टोकियोमा मात्र सीमित नगरी डिजिटल प्रविधि मार्फत जापानका अन्य सहरका साथै आवश्यकता र माग अनुसार अन्य मुलुकका घना नेपाली बस्तीहरुमा समेत बिस्तार गर्दै लगिने छ ।’

साधारण सभालाई समापन गर्दै सभाध्यक्ष डा. श्रेष्ठले स्कुलको स्थापना कालदेखि हालसम्मका विभिन्न आरोह अवरोहहरुको स्मरण गर्दै ती सबै असहज परिस्थितिमा साथ र सहयोग गर्ने सम्बन्धित सबैमा धन्यबाद ब्यक्त गर्नुभयो । उहाँले भावुक मुद्रामा अगाडि भन्नुभयो – ’शिनओकुबो स्थित जिएमटी इन्टरनेशनलको सानो कार्यालयबाट तत्कालिन सानो टिमले सुरु गरेको जापानमा नेपाली स्कुल स्थापना गर्नुपर्छ भन्ने हाम्रो अभियान आजको यो बृहत अवस्थामा आईपुग्छ भनेर कल्पनासमेत गरिएको थिएन । हामीलाई धेरैले पत्याएका थिएनन्, सपनालाई साकार पार्न हामीले निकै मिहिनेत गर्नुपर्‍यो । मासिक न्युनतम शुल्क लिने गरी सन् २०१३ मा १३ जना विद्यार्थीबाट सुरु भएको एभरेष्ट इन्टरनेशनल स्कुलले आज आएर एउटा ठूलो आकार ग्रहण गरेको छ । अहिले झण्डै पौने ३ सय जना विद्यार्थी अध्ययनरत छन्, करीव ३२ जना शिक्षक तथा कर्मचारीहरु कार्यरत छन् भने स्कुलको आफ्नै भौतिक संरचना छ । तथापि यो पर्याप्त छैन, यसलाई अझ परिष्कृत र बिस्तार गर्दै जानुपर्ने चुनौतीहरु अरु थपिएका छन् । मैले आफुले प्रमुख जिम्मेवारीबाट विश्राम लिए पनि आफ्नो तर्फबाट सक्दो सहयोगी भूमिका रहने विश्वास दिलाउन चाहान्छु ।’

आठौं साधारण सभा समारोहमा प्रमोटर समेत रहनुभएका भाइस प्रिन्सिपल राजेन्द्र तामाङको सञ्चालन रहेको थियो ।

एभरेष्ट इन्टरनेशनल स्कुलमा हालसम्म ६५ जना शेयरहोल्डरहरुको लगानी रहेको छ । प्रमोटरहरुको लगानी रकमबीच विद्यमान ठूलो अन्तरलाई समन्वय गर्ने पनि साधारण सभाले पारित गरेको छ । जसअनुसार हालसम्म जतिसुकै भएता पनि न्युनतम शेयर रकम १० लाख येनको हुने गरी समझदारी कायम गरिएको छ । केहि वर्ष अगाडि स्कुलले आफ्नै भवन खरिद गर्दा केही लगानीकर्ताहरुले मन खोलेर लगानी बढाएका थिए ।

हाल एभरेष्ट इन्टरनेशनल स्कुलमा १० कक्षासम्म पढाई भईरहेको छ भने १२ कक्षा सम्मको लक्ष छ । विद्यार्थीहरुमा नेपाली, अंग्रेजी र जापानी गरी तिनवटै भाषामा दखलता एभरेष्ट स्कुलको प्रमुख विशेषता मानिन्छ ।
एभरेष्ट इन्टरनेशनल स्कुल नेपाल सरकारद्वारा मान्यता प्राप्त नेपाल बाहिरको एक मात्र र पहिलो स्कुल हो । एभरेष्ट इन्टरनेशनल स्कुलको स्थापना जापानमा रहेका नेपालीहरुले सामुहिक रुपमा गरेको समुदाय लक्षित सबैभन्दा उत्कृष्ट र उदाहरणीय कार्य मानिन्छ ।***

तपाईको प्रतिक्रिया