काठमाडौं – अपमानजनक चिन्ह प्रयोग गरेको भन्दै सामाजिक सञ्जाल फेसबुकले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको चुनावी अभियानसँग सम्बन्धित एउटा विज्ञापनलाई हटाइदिएको छ ।
फेसबुकका अनुसार उक्त विज्ञापनमा उल्टो रातो त्रिकोण प्रयोग गरिएको छ जुन जर्मनीमा नाजीहरूले कम्युनिस्ट लगायतका आफ्ना विपक्षीहरूको वर्णन गर्न प्रयोग गर्थे । ट्रम्पको चुनावी अभियानको व्यवस्थापन गरिरहेको समूहले भने उक्त विज्ञापन उग्रवामपन्थी समूह एन्टिफातर्फ लक्षित गरिएको बताएको छ ।
उक्त समूहले त्यो चिन्ह प्रयोग गर्ने गरेको उनीहरूले दाबी गरेका छन् । फेसबुकले भने त्यो विज्ञापनले आफ्नो नीतिको उल्लङ्घन गरेको बताएको छ । उक्त विज्ञापन अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उपराष्ट्रपति माइक पेन्सका नाममा खोलिएका फेसबुक पेजहरूमा प्रकाशन गरिएको थियो ।
करिब २४ घण्टासम्म रहेका ती विज्ञापन फेसबुकले हटाउनु पहिले लाखौँले हेरेका थिए । “फेसबुकले अझै पनि इमोजीका रूपमा उल्टो रातो त्रिकोण प्रयोगमा राखेको छ। त्यो हामीले प्रयोग गरेको चिन्ह जस्तै छ,” ट्रम्पको चुनावी अभियानका प्रवक्ताले भने ।
एक अमेरिकी नागरिक जोर्ज फ्लोइडको मृत्यु पछि भएका देशव्यापी प्रदर्शनहरू एन्टिफाले सुरु गरेको हालसालै मात्रै ट्रम्पले आरोप लगाएका थिए । उनले त्यो समूहलाई “आन्तरिक आतङ्कवादी सङ्गठन” समेत भनेका छन् । तर कानुनका ज्ञाताहरूले भने त्यस्तो भन्ने उनलाई चुनौती दिएका छन् ।
एन्टिफाले जातीय विभेद लगायतका विषयमा आवाज उठाउँदै आएको छ । उक्त समूहको निश्चित नेता नरहेको बताइएको छ । बीबीसी