शुक्रबार, जेठ ०४, २०८१
Friday, May 17, 2024

काठमाडौं –  एक समय नेपाली चलचित्रमा चरित्र अभिनेताका रूपमा एकछत्र राज गरेका अग्रज कलाकार जयनेन्द्र चन्द ठकुरी अब हामीमाझ रहेनन् । १ सयभन्दा बढी नेपाली चलचित्रमा चरित्र अभिनेताका रूपमा अभिनय गरेका यी कलाकारको आइतबार बिहान ११:२० निधन भएको छ । उनको ८० वर्षको उमेरमा आफ्नै घर बागडोलमा निधन भएको हो ।

उनी लामो समयदेखि पक्षघात र मधुमेहको समस्याले पीडित थिए । करिब सात वर्षअघि पक्षघात भएपछि उनले फिल्ममा काम गर्न सकेनन् । त्यसपछिबाट उनी घरमै थलिएका थिए । परिवारका अनुसार उनको अवस्था सामान्य थियो । तर, एक्कासि मधुमेहले आइतबार उनको ज्यान लियो ।

उनको आइतबार नै काठमाडौंको पशुपति आर्यघाटस्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिएको छ । घरमा उनी आफ्नी छोरीसँगै बस्दै आएका थिए ।

यी कलाकार २०३५ देखि २०६० को अन्तिम दशकसम्म नेपाली चलचित्र उद्योगमा सक्रिय थिए । चलचित्रभन्दा अघि उनी नाटकमा सक्रिय थिए । कलाकार चन्दले नाटकबाट आफ्नो अभियन यात्रा सुरु गरेका हुन् । ४० को दशकमा उनले अभिनय गरेका जीवनरेखा, कान्छी, विश्वास, मायाप्रीति, अन्याय, भाग्यरेखा, अधिकारजस्ता चलचित्र नेपाली सिनेमाका चर्चित फिल्म हुन् ।

यस्तै, उनले चाँदनी, चोर, ज्वाला, देउकी, पर्खी बसे, दुई पल, अंगरक्षक, माया बैगुनी, एक्का ट्रायलजस्ता कैयौं चलचित्रमा अभिनय गरेका थिए । उनले १ सयभन्दा बढी टेलीचलचित्र तथा टेली शृंखलामा पनि अभिनय गरेका थिए । आफ्नो जीवन उनले अभिनयमै समर्पण गरे ।

उनको निधनप्रति नेपाल चलचित्र कलाकार संघले दुःख व्यक्त गर्दै जयनेन्द्र चन्द ठकुरीको निधनले नेपाली चलचित्र उद्योगले एक होनहार कलाकार गुमाएको संघका अध्यक्ष रवीन्द्र खड्काले बताएका छन् । चलचित्र विकास बोर्डलगायत चलचित्रसम्बन्धी विभिन्न संघसंस्थाले कलाकार ठकुरीको निधनप्रति दुःख व्यक्त गरेको छ ।

तपाईको प्रतिक्रिया