काठमाडौँ – सरकारले आगामी २ वर्षभित्र सबै सरकारी कारोबारलाई नगदरहित बनाउने भएको छ । संघीय संसदको सयुक्त बैठकमा आर्थिक वर्ष २०७७/०७८ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले २ वर्षभित्र सबै सरकारी कारोबारलाई नगदरहित बनाउने बताएकी हुन् ।
उनले व्यक्तिबीचको कारोबार र सबै किसिमका व्यवसायको भुक्तानी विद्युतिय माध्यमबाट गर्न सकिने व्यवस्था मिलाइने समेत बताएकी छन् ।
नेपालमै बन्दाबन्दीका कारण इन्टरनेट, बिजुली, पानी, टेलिफोन, डिसहोमको बक्यौता तथा शुल्क तिर्न ई–बैङ्किङ सेवा नलिएकोमा पछुतो मान्ने धेरै छन् ।
भौतिक तथा प्राविधिक विकासका उच्चतम अवस्थामा पुगेका देशको दैनिक जीवन अहिले ग्याजेटमा कैद भइसकेको छ । कोरोना महामारीमा मानव जाति घरमै थुनिँदा अब साँच्चै डिजिटल डिभाइसको महत्व महसुस भएको हुन सक्छ ।
कोरोना महामारीबीच नै फेसबुकले एउटा इमोटिकनको विकास गरी सार्वजनिक ग-यो । मायाको भावमा दुई हातले अँगालो हालेको यो इमोको नाम ‘केयर’ दिइएको छ । जसको अर्थ ‘परिस्थितिले टाढा रहे पनि पर्वाह गरेको छु भन्ने हुन्छ ।
विश्वव्यापी श्रम प्रवाहका कारण नेपालजस्ता देशका युवा लाखौँको सङ्ख्यामा विदेशमा छन् तर यस्तो बन्दाबन्दीमा पनि परिवारसँग नजिक गराएको छ, उही फेसबुक, इमो, ह्वाट्सयापले । यसरी हेर्दा खुसी, माया, दयाजस्ता कुराको प्रसार र अभिव्यक्ति पनि अब डिजिटलाइज्ड भएको छ ।
म्यासाच्युसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीकी प्राध्यापक शेरी टर्कल पनि मानिसले मानवीय गुण डिभाइसमा भरेको विचार राख्नुहुन्छ ।