काठमाडौं – केही दिनअघि सामाजिक सञ्जालमा भइरहेको एउटा गतिविधी सार्वजनिक भयो। माइक्रोब्लगिङ साइट रेड्डिटमा पुरूषहरूले बनाएको गोप्य समूहमा महिलालाई यौनवस्तुको रूपमा चित्रण गरिएको थियो।
फेसबुक, ट्वीटर, इन्स्टाग्रामजस्ता साामजिक सञ्जालमा महिलाले राखेका आफ्ना तस्वीरलाई अनधिकृत रूपमा उपयोग गर्दै उनीहरूलाई विभिन्न अश्लिल लाञ्छना लगाइएको थियो। उनीहरूलाई गलत रूपमा चित्रण गर्दै ती गोप्य कक्षमा उनीहरूको आईडी सेयर गर्ने गरिएको थियो। चार हजार ५०० जति सदस्य भएको ‘नेपाली बेब्स’ नाम दिइएको सबरेड्डिट्समा विभिन्न क्षेत्रमा क्रियाशील महिलाहरूको तस्वीर र भिडिओ अनधिकृत रूपमा प्रयोग गर्ने गरेको सार्वजनिक भएको थियो।
आफ्ना तस्वीरहरू त्यसरी प्रयोग गरिएको पाइएपछि विभिन्न क्षेत्रमा क्रियाशील महिलाहरूले ती हर्कत सार्वजनिक गरेका थिए। त्यसरी सार्वजनिक गर्ने महिलालाई झनै लाञ्छना लगाउने गर्न थालिएपछि उनीहरले नेपाल प्रहरीको केन्द्रीय सार्वजनिक ब्युरोमा उजुरी गरेका थिए।
त्यसरी परेका उजुरीमाथि ब्युरोले आवश्यक विश्लेषण तथा अनुसन्धान भइरहेको जनाएको छ।
भारतमा सामाजिक सञ्जालमा विभिन्न ग्रुपहरुमा युवतीका तस्विरहरुको दुरुपयोग गरि यौनजन्य दुर्व्यवहार भइरहेको समाचार आइरहेका बेला नेपालको साइबर अपराध सम्बन्धी हेर्ने प्रहरीको केन्द्रीय साइबर ब्युरोले पनि अनुसन्धान गरिरहेको जनाएको छ।
साइबर ब्युरोले सामाजिक सञ्जालका विभिन्न प्लाटफर्महरु बाट तस्वीरहरु डाउनलोड गरी रेडिट नामक माइक्रो ब्लगिङ साइटमा अनधिकृत रुपमा प्रयोग भइरहेको सम्बन्धमा साइबर ब्युरोबाट आवश्यक विश्लेषण तथा अनुसन्धान भइरहेको जानकारी दिएको हो ।
दक्षिण दिल्लीका किशोरहरूले इन्स्टाग्राममा बनाएको ग्रुप ‘ब्वोइज लकर रूम’मा अश्लील टिप्पणी गर्दै स्कुले छात्राहरूको तस्वीर सेयर गर्ने गरेको सार्वजनिक भएको थियो।
सहपाठी छात्राको सामुहिक बलात्कार गर्नेसम्मको कुराकानी भएका स्क्रिन सटहरू ट्वीटरमा सार्वजनिक भएपछि प्रहरीले ती किशोरहरूको पहिचान गरेर गिरफ्तार गरेको थियो। ***