संसारभरी कोरोना भाइरसले महामारी मच्चाइरहेको छ । २०१९ को डिसेम्बरदेखि चिनको हुवान शहरबाट सुरुभई २२ अप्रिल २०२० सम्म आइपुग्दा विश्वका १८६ देशहरुमा संक्रमितको संख्या २५ लाख ७१ हजार नाघेको छ भने मृत्यु हुनेको संख्या १ लाख ७८ हजार बढी छ । त्यसैगरी ७ लाख १ हजार बढी मानिसहरुले कोरोना भाइरसलाई जितेर निको भएका छन् ।
तर संक्रमित हुने र मृत्यु हुनेको संख्या घडीको सेकेण्डको गतीमा अघि बढिरहेको छ । अमेरिका यस कोभिड-१९ बाट सबै भन्दा धेरै प्रभावित बन्न पुगेको छ । त्यसैगरी युरोयिन देशहरु पनि भाइरस देखि निकै नराम्ररी थलापरेका छन् । विश्वभर मानिसहरुमा एकखालको चिन्ता बढिरहेको छ कि भोली के हुने हो ? कोरोना भाइरसका कारण अमेरीकामा ५० लाख भन्दा बढी मानिसहरु ‘जबलेस’ बन्न पुगेका छन् । खाडी मुलुकहरुमा पनि कैयौं हजार मजदुरहरु काम विहिन बनेका खबरहरु बाहिर आएका छन् र ती देशहरुले मजदुरहरुलाई उनीहरुकै देशमा फर्काउन कूटनीतिक पहल समेत गर्न सुरु गरिसकेको खबर बिभिन्न अनलाईन पत्रपत्रिकाहरुले प्रकाशित गरेका छन् ।
नेपाल, भारत लगायतका एसियाली देशहरुमा कैयौं दिनदेखिको लकडाउनका कारण मजदुरहरु भोकभोकै परेका कारण उनीहरु खाली खुट्टा आफ्नै घर फर्कन कोसौंमाईल पैदलयात्रा गरेको कुरा आएको छ । नेपालका शहरहरु पोखरा, काठमाडौं, विरगञ्ज, विराटनगर, नेपालगंज, बुटवलबाट सयौं मजदुरहरु पोकापोकी बोकेर साना नानीबाबु हातले डोऱ्याउदै रुँदैरुदै गाउँ फर्कदै गरेका हृदयविदारक तस्बिरहरुले सामाजिक संजाल रंगिएको देख्दा कस्को मन रुन्न होला र ? यी यावत् समस्याको कारक कोरोना भाइरस हो तर त्यो देशको सरकारले लकडाउनको समयमा जनताको दैनिकी जस्तैकी अति आवश्यक पर्ने गास, बास र कपासको ग्यारेन्टी गरेर मात्र लकडाउनलाई प्रभावकारी बनाउन सकिन्न भन्ने कुरा बुझ्नु पर्ने हुन्छ ।
लकडाउनको नाममा भोकभोकै कोही पनि घरभित्र बस्न सक्दैनन् । भारत र नेपालको लकडाउनको अवस्था हेर्दा बिना तयारी जनताको अधिकारलाई ख्यालै नगरी केबल लादीएको हुनाले नै त्यहाँ भित्र बिरोधका स्वरहरु उठ्न थालेका हुन् । प्रजातन्त्रको सर्बमान्य सिद्धान्त ‘आफ्नो अधिकारलाई प्रयोग गर्दा अरुको अधिकारलाई हनन् गर्नु हुन्न’ भन्ने कुराको ख्याल गरेको पाईएन जस कारणले नै २१ औं शताब्दीको संचारको युगमा नेपाल र भारतको लकडाउन जनताको पक्षमा नभएर त्यसको विरोधमा देखिन पुग्यो । संसारभरी भारत र नेपालको इज्जतमा दाग लाग्न पुग्यो । खास लकडाउन कोरोना भाइरसबाट नजतालाई बचाउन सरकारले गरेको बन्द हो तर त्यसलाई सही तरीकाले चलाउन नजान्दा त्यो प्रतिउत्पादक बन्न पुग्यो । हामीले आशा र कामना गरौं कि ती देशका सरकारहरुले पीडित जनताको रोदन र क्रन्दनलाई समयमै बुझ्ने छन् र जनतालाई भाइरसबाट सुरक्षित राख्ने छन् ।
अब हामी जापानको सेरोफेरो तिर लाग्न चाहान्छौं । जापान एक घना आवादी भएको देश हो । ९९ प्रतिशत जनसंख्या शिक्षित रहेको जापानमा कैयौं पटक प्राकृतिक विपत्तीहरु आइपरेका छन् । कहिले सामुद्रिक आँधी त कहिले ठूलठूला भूकम्पहरु आउने गर्दछन । कहिले छपक्कै ५-६ मिटरसम्म हिउँ परेर बाटो घाटो बन्द हुने, यातायतका साधनहरु ठप्पै हुने पनि हुन्छ । यसखालका सयौं समस्याहरुसँग कठिन संघर्ष गर्दै आएका जापानीजहरुलाई यतीवेला कोरोना भाइरसले सताउन थालेको छ ।
चीनको नजिकै हुनु दुवै देशबीच आउजाउ बाक्लै भएपनि जापानमा कोरोना भाइरस विस्तारै बृद्धि भैरहेको कुरा तल दिइएका केही प्रतिनिधिमुलक उदाहरणहरुबाट बुझ्न गाह्रो पर्दैन । जापानको जिरो टेलिभिजनका अनुसार आजसम्म जापानमा १०८१४ जना मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन भने मृत्यु हुनेको संख्या २३६ पुगेको छ । त्यसैगरी २१७ जना सिकिस्त बिरामी छन् । टोक्योमा संक्रमितको संख्या ३,०८२ पुगेको छ । त्यसैगरी ओशाका १,२११, खानागावा ७८२, चिबा ६८२, साइतामा ६६४ फुकुओका ५१९ र ह्योगोमा ५१३ जना संक्रमित भएका छन ।
यसरी जापानको समग्र संक्रमित संख्या र मृत्युको संख्या माथि बिचार गर्दा यहाँ भाइरस संक्रमणको गति सुस्त देखिन्छ तर यो समुदायमा घुलमिल भैसकेको कुरा प्रष्ट छ । जापान सरकारले जापानभरी संकट काल लागू गरेको छ । जनता तथा व्यवसायीहरुको लागि राहत कार्यक्रम घोषणा गरेको छ । घरघरमा २ वटा धोएर पुनः लगाउन मिल्ने मास्क हुलाक मार्फत पठाउने काम भैरहेको छ । पहिले देशका करिब १ करोड ५० लाख जनता जो गरिबीको रेखामुनी रहेका छन् उनीहरुलाई ३० मान अर्थात ३ लाख नेपाली रुपिया दिने भनेर घोषणा गरिएको थियो तर त्यो कार्यक्रम केहि विवादास्पद बनेपछि पुनः सच्याएर देशका सबै जनतालाई १० मान ऐन अर्थात एकलाख रुपियाको दरले प्रदान गर्ने काम आगामी मेबाट शुरु गर्दै छ ।
तर देशमा संकटकाल लागु गरेपनि खाद्यन्नका पसलहरु, साना रेष्टुरेन्टहरु, कपडा पसलहरु, रेल, बस, ट्याक्सी लगाएका प्राइबेट कारहरुको निरन्तर चलिरहेको अवस्थाले गर्दा भाइरसलाई फैलिन नदिन अपनाईने सामाजिक दुरी कायम गर्ने काममा बाधा उत्पन्न भएको सहजै महशुस गर्न सकिन्छ । जस्ले गर्दा करिव १३ करोड जनसंख्या भएको जापानमा ६० वर्ष नागेकाहरु मात्र जनसंख्याको ४० प्रतिशत रहेको बताउदै गर्दा आगामी दिनहरुमा कोरोना भाइरसले समाजमा कस्तो प्रकारको प्रभाव पार्न सक्छ ? इटाली जस्तै कि अमेरीका ? वा स्पेन भन्ने मानिसहरुको पनि कमी छैन ।
जापानकै द जापान टाइमसमा उल्लेख गरेको समचार अनुसार यदी लकडाउन नगरीकन यसरीनै छाडीएको अवस्थामा र कोरोना भाइरसको फैलिने सिलसिला यही गतीमा अगाडी बढ्ने हो भने जापानभरी करिब ४ लाख मानिसले ज्यान गुमाउने छन् भनिएको छ । हाम्रो सोचाइमा पनि समयमै यस भाइरस विरूद्धको खोपको विकास गर्न सकिएन भने त्यो भन्दा केही कम मानिसले ज्यान गुमाउने निश्चित छ । यतीवेला टोकियोको अवस्थालाई हेर्दा टोकियोमा हस्पिटलहरु खचाखच भरिएका छन् । रुघाखोकी लागेका र ज्वरो आएका मानिसहरुलाई ज्वरोको औषधी खाएर घरमै बस्न भनिएको छ यानेकी त्यसखालका मिरामीलाई सिधै हस्पिटलजान रोकलगाइएको छ ।
हस्पिटलमा विरामिको अत्याधिक चाप बढेसँगै सरकारले होटलहरु भाडामालिएर बिरामी राख्ने काम गरेको छ । जापानभरी दशहजार भन्दा केही बढी र टोकियोमा ३ हजार भन्दा केही बढी बिरामी हुँदा त यो स्थिति छ भने भावी दिनहरुमा कस्तो अवस्था आउने हो सहजै अनुमान लगाएर भन्न सकिने आधार छैन् । अहिले नै कतिपय रेष्टुरेन्ट र कम्पनीहरूले घुमाउरो भाषामा काम खोज्न भनेका छन् त्यसको अर्थ कामबाट निकालेको भन्ने नै लाग्दछ ।
त्यसैले हामी सबै नेपाली समुदायमा यो अनुरोध गर्न चाहान्छौं कि आफूसँग भएको पैसा जथाभावी खर्च नगर्नुहोस र भविष्यमा के हुनेहो हामी कसैलाई पनि थाहा छैन् त्यसैले पछिको लागि जोहो गर्ने कुरामा दृढ रहनुहोस् । भाइरसदेखि टाढा रहनको लागि सोसल डिस्टेन्सन कायम गरौं, मास्क लगाऔं, अल्कोहल प्रयोग गरौं, जापान सरकारले निर्दिष्ट गरेका नियमहरू पालना गरौं, हात धुन नभुलौं र आफूपनि बाँचौं अरूलाई पनि बचाऔं ।