बिहिबार, जेठ ०३, २०८१
Thursday, May 16, 2024

टोकियो । विश्वभर माहामारीका रुपमा फैलिइरहेको कोरोना भाइरसका संक्रमितहरुको संख्याले जापानमा पनि ६ हजारको सीमा पार गरेको छ ।

शुक्रबार बेलुकासम्ममा घरेलु रुपमा संक्रमित र चीनबाट चार्टर गरि ल्याइएकाहरु व्यक्तिहरु सहितको संख्या ६ हजार १ सय ८४ जना पुगेको छ । त्यस्तै योकोहामा पोर्टमा क्वारेन्टायन गरेको डाइमण्ड प्रिन्सेस क्रुज पानीजहाजका यात्रुहरु सहितको तथ्यांक हेर्ने हो भने जापानमा संक्रमितहरुको संख्या ६ हजार ८ सय ९६ जना पुगेको छ । जापानमा हिजो एक दिनभित्र मात्रै ६ सय ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

जापानको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयका अनुसार संक्रमित व्यक्तिहरु मध्ये १०९ जनाको स्थिति नाजुक छ भने १६ सयभन्दा बढि जना निको भएर घर फर्किसकेका छन् ।

जापानमा अहिलेसम्म कोरोना भाइरसको कारणले १३० जनाभन्दा बढिको मृत्यु भैसकेको छ ।

जापानको टोकियो सबैभन्दा प्रभावित क्षेत्र बनेको छ, यहाँ शुक्रबार मात्र १८९ जनामा कोरोना भाइरसको परिक्षण पोजेटिभ देखिएको थियो । बिहिबार १८१ जनामा देखिएको संक्रमण शुक्रबार थप बढेको छ ।

कोरोना भाइरसको संक्रमण उकालो लाग्दैगर्दा प्रधानमन्त्री शिन्जो आबेले जापानका ७ प्रिफेक्चरहरुमा आपतकालको घोषणा गरेका थिए । उच्च जोखिममा रहेको टोकियो र ओसाका सहित अन्य ५ प्रान्तमा मानिसहरुलाई अत्यावश्यक बाहेक घरबाहिर ननिस्कन, भिडभाड हुने स्थानमा नजान भनिएको छ । त्यस्तै आइची प्रिफेक्चरले आफ्नै आपतकाल घोषणा गरेको छ भने त्यहाँका गभर्नरले केन्द्र सरकारसंग आपतकाल घोषणा गरिएका प्रिफेक्चरहरुको सूचीमा आइचीलाई पनि समावेश गर्न अनुरोध गरेका छन् । क्योतो प्रिफेक्चरका गभर्नरले समेत केन्द्र सरकारसंग आफ्नो प्रिफेक्चरमा समेत आपतकालको घोषणा गरिदिन अनुरोध गरेका छन् ।

टोकियो महानगरमा संचालित विभिन्न व्यवसायहरुलाई बन्द गर्न गभर्नर युरिको कोइकेले शुक्रबार आग्रह गरेकी छन् । उनले सरकारको निणर्यमा साथ दिने साना तथा मझौला कम्पनीहरुलाई आर्थिक सहयोगको घोषणा समेत गरेकी छन् ।***

तपाईको प्रतिक्रिया