बिहिबार, जेठ ०३, २०८१
Thursday, May 16, 2024

टोकियो– कोरोना भाइरसको संक्रमण निरन्तर बढ्दै जाँदा मध्य जापानको आइची प्रिफेक्चरले आफ्नै आपतकाल घोषणा गरेको छ । आइची प्रिफेक्चरका गभर्नर ओमुरा हिदेआकीले शुक्रबार आपतकालको घोषणा गरेको हुन ।

संक्रमितहरुको संख्या निरन्तर बढ्दै जानु र को बाट कसरी संक्रमण फैलिरहेको छ भन्ने कुरा पत्ता लगाउन गाह्रो परेकाले आपतकाल घोषणा गरिएको हो । उनले केन्द्र सरकारलाई समेत पहिले आपतकाल घोषणा गरिएका ७ प्रिफेक्चरहरुमा आइचीलाई समेत थप गर्न आग्रह समेत गरेका छन् ।

आइची प्रिफेक्चरमा कोरोना भाइरसको संक्रमण थप फैलिन नदिन सबैको सहयोगका लागि अनुरोध गर्दै उनले आपतकालको समय आगामी मे ६ तारिकसम्म कायम रहने बताए । उनले आइचीबासीहरुलाई अति आवश्यक बाहेक बाहिर ननिस्कन, हुलमुलमा नजान समेत आग्रह गरे ।

हाल त्यहाँ संचालित कुनैपनि कम्पनीहरुलाई बन्द गर्न भने भनिएको छैन ।

त्यस्तै गिफु प्रिफेक्चरले पनि यस्तै किसिमको व्यवस्था लागू गरेको छ । क्योतो प्रिफेक्चरका गभर्नरले पनि केन्द्र सरकारलाई आपतकाल घोषणा गरिदिन अनुरोध गरेको छ ।

जापानमा निरन्तर बढिरहेको कोरोनाभाइरसबाट हालसम्म ५ हजार ६ सय जनाभन्दा बढि संक्रमित भएका छन् भने १ सय भन्दा बढिले ज्यान गुमाइसकेका छन् । ***

तपाईको प्रतिक्रिया