बिहिबार, जेठ ०३, २०८१
Thursday, May 16, 2024

टोकियो – कोरोना भाइरसको संक्रमण फैलन नदिन जापानभर विद्यालय बन्द तथा कर्मचारीहरूले घरबाटै काम गर्ने क्रम बढेपछि रेस्टुराँहरू सुनसान देखिन थालेका छन् । चर्चित पर्यटकीय स्थानहरू बन्द गरिनुका साथै खेल प्रतियोगिता एवं सांगीतिक कार्यक्रमहरूसमेत रद्द भएका कारण सार्वजनिक क्षेत्रमा मानिसको चहलपहल ह्वात्तै घटेको छ ।

भाइरसको संक्रमण फैलन सक्ने भन्दै धेरै व्यक्ति भेला हुने सभा, समारोह, पार्टी, भोजभतेरसमेत नगर्न सरकारले अनुरोध गरेपछि ठूला रेस्टुराँ तथा पार्टी आयोजना गरिने स्थानहरू सुनसान देखिन थालेका छन् । विद्यालय बन्द हुँदा बालबालिका हेरचाह गर्न कार्यालयमा काम गर्ने कर्मचारीहरूले छुट्टी लिने क्रम बढेको छ । जापानमा दर्जनौं ठूला व्यावसायिक प्रतिष्ठान र कार्यालयहरूले घरबाटै काम गर्न कर्मचारीहरूलाई सुविधा दिएपछि रेस्टुराँ व्यापारमा थप मन्दि छाएको छ ।

बिहानको लन्च तथा साँझको खाना खाने समयमा ग्राहकले भरिभराउ रहने फास्टफुड खालका रेस्टुराँ तथा जापानी शैलीका इजागाया रेस्टुराँहरू खाली देखिन थालेका छन् । साकुरा फुल्ने मौसम त्यसमा २०२० टोकियो ओलम्पिकको रन्काले यो समय पर्यटकले भरिभराउ हुने ठानिएको व्यस्त रेल स्टेसन र पर्यटकीय गन्तव्यका होटलहरू खाली हुँदा व्यापार चौपट हुन थालेको व्यवसायीहरूले बताउन थालेका छन् ।

धेरैजसो होटल तथा ठूला रेस्टुराँहरूले ज्यालादारी कर्मचारी कटौती गरेका छन् । कतिपय प्रतिष्ठानहरूले कर्मचारीहरूलाई बेतलबी बिदा दिनुका साथै कम कर्मचारीमै रेस्टुराँहरू नियमित सञ्चालन गरिरहेका छन् । विद्यार्थी तथा कर्मचारीकै भरमा सञ्चालन हुँदै आएका एवं पर्यटकीय क्षेत्र नजिकका होटल रेस्टुराँहरू खोल्ने समय घटाइएको छ । प्राय रेस्टुराँहरूले विशेष छुटको अफर लगाउन थालेका छन् भने रेस्टुराँ व्यवसायलाई टिकाइ राख्न होम डेलिभरिमा विशेष जोड दिन थालेका छन् ।

व्यापारमा मन्दी आउँदा नेपाली मारमा
जापानमा अध्ययन तथा रोजगारीसहित पारिवारिक भिसामा रहेका ९० हजार नेपालीमध्ये आधा बढी होटल रेस्टुराँसँग सम्बन्धित क्षेत्रमा काम गर्ने अनुमान गरिन्छ । करिब ५ हजारको संख्यामा व्यापारिक भिसामा जापानमा रहेका नेपालीमध्ये ८० प्रतिशतले रेस्टुराँ क्षेत्रमा लगानी गरेका छन् ।

अधिकांशले नेपाली, भारतीय र केही एसियन देशका खानाका रेस्टुराँ सञ्चालन गर्दै आएका छन् । जापानमा रहेका नेपाली व्यवसायीहरूले कोरोना भाइरसको संक्रमणले ग्राहक घट्दै जाँदा व्यावसायिक भार थपिने चिन्ता व्यक्त गर्न थालेका छन् । होटल रेस्टुराँमा पार्ट टाइम काम गर्ने तथा अन्य सेवाप्रदायक क्षेत्रमा काम गर्ने विद्यार्थीसहित अन्य नेपालीको काम गर्ने समय कटौती हुन थालेपछि उनीहरूमा आर्थिक बोझको चिन्ताले सताएको पाइन्छ ।

जापानमै कमाएर पढाइ खर्च जुटाउने र जापान आएको ऋण नेपालमा तिर्नुपर्ने बाध्यतामा रहेका विद्यार्थीहरू कोरोना भाइरसको संक्रमणले कामको समय घट्दा प्रत्यक्ष मारमा पर्न थालेका छन् । जापान सरकारले विद्यालय बन्द हुँदा कार्यालयमा काम गर्ने गृहिणी महिलामा परेको असर कम गर्न आर्थिक सहायता गर्ने बताए पनि होटल रेस्टुराँ क्षेत्रमा परेको आर्थिक भारलाई कम गर्ने बारेमा छुट्टै राहत प्याकेजको कुनै घोषणा गरेको छैन ।

यद्यपि विद्यालय जाने बालबालिका हेर्न कार्यालय जान नपाउनेहरूको हकमा भने कम्पनीहरूलाई सहायता गर्ने घोषणा जापान सरकारले गरिसकेको छ । जापान सरकारले कोरोना भाइरससँग जुध्न २ खर्ब ७० अर्ब जापानी येनको राहत प्याकेज गत साता घोषणा गरेको छ ।

तपाईको प्रतिक्रिया