शुक्रबार, जेठ ०४, २०८१
Friday, May 17, 2024

काठमाडौँ – नेपालमा कैदीबन्दी कोरोना भाइरस संक्रमणको उच्च जोखिममा देखिएका छन्। कैदीबन्दीको खचाखच बसाइ र दैनिक भेटघाटमा आउने आफन्तका कारण जोखिम बढ्दै गएको कारागार प्रशासनले जनाएको छ।

गृह मन्त्रालयले कारागारमा कोरोना फैलिए के गर्ने भनेर अध्ययन गर्न कारागार व्यवस्थापन विभागलाई निर्देशन दिएको छ। यस विषयमा केही दिनदेखि छलफल चलिरहेको र आवश्यक अध्ययन भइरहेको मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले बताए।

कारागार व्यवस्थापन विभागका निमित्त प्रमुख लामिछानेले कैदीलाई संक्रमणको आशंका लागेमा तत्काल आइसोलेसनमा राख्न अध्ययन भइरहेको जनाए।

‘अहिले तत्काललाई केन्द्रीय कारागार सुन्धारा र ललितपुरस्थित नक्खु कारागारमा राख्न सकिन्छ कि भन्ने छ,’ लामिछानेले भने, ‘अवस्था जटिल भए बाहिर पनि राख्न सकिने गरी अध्ययन गरिरहेका छौं।’

केन्द्रीय कारागारमा ३० शय्याको अस्पताल छ। केन्द्रीय कारागारको अस्पतालमा तत्काल चार जनासम्मलाई आइसोलेसनमा राख्न सकिने डा. श्रेष्ठले बताए। यहाँ बिरामीको चाप समेत धेरै छ। दैनिक ८० देखि १ सय ५० जना बिरामी चेकजाँचमा आउने गरेको अस्पतालले जनाएको छ। तर, १५ बेडको महिला वार्डमा भने बिरामीको चाप कम हुने गरेको डा. श्रेष्ठले बताए।

नक्खुमा १५ शय्याको अस्पताल बने पनि सञ्चालनमा आएको छैन। यहाँ आपत परे थप बेड राख्न सकिने जेलर अधिकारीले बताए। कैदीबन्दीका लागि सबैभन्दा उत्तम विकल्प यही अस्पताललाई हेरिएको छ।

तपाईको प्रतिक्रिया