शनिबार, जेठ ०५, २०८१
Saturday, May 18, 2024

टोकियो – हाल चलिरहेको ‘अमेरिकन आइडल’ को अडिसनमा छनोटसंगै नेपाली युवा दिवेश पोखरेल (अर्थर गन) दोस्रो चरणमा प्रवेश गरेका छन् ।

सांगीतिक क्षेत्रमा विश्वले नै उत्सुकताका साथ हेरिने ‘अमेरिकन आइडल’ का प्रतियोगी पोखरेलप्रति विश्वभर बाटै चासो बढेको छ ।

अमेरिकी टेलिभिजन च्यानल एबीसीबाट प्रसारण भएको पहिलो शृङ्खलामा नै उनी निर्णायकहरूको मन जित्न सफल भई दोस्रो चरणमा प्रवेश गरेका हुन् । १८ औं संस्करणको सो प्रतियोगिताको दोस्रो शृङ्खला अमेरिकी समय आइतबार बेलुका ८ बजे (नेपाली समय सोमबार विहान) प्रसारण हुने छ ।

नेपाली ठिटो दिवेश अमेरिकन आइडलको अहिलेसम्मकै ठूलो स्टार बन्न सक्ने अनुमान नेपाली संगीतकर्मी मात्र नभएर आइडलको निर्णायक मण्डलको पनि छ ।
अमेरिकन आइडलको निर्णायक केटी पेरीले ट्विटमार्फत दिवेशलाई बधाई दिँदै ‘म भित्रको प्रकाशले तिमीमा रहेको प्रकाश देख्यो !’ भनेकीछिन ।

यस्तै विचिटाको द विचिटा इगल अनलाइनले त दिवेश अमेरिकी आइडलमा छनोट भएकोमा समाचार नै बनाएको थियो ।

अमेरिकास्थित अनलाइन ‘हेभी’ले निर्णायकमध्येका लुक ब्रायनलाई उद्धृत गर्दै दिवेश अमेरिकन आइडलकै अहिलेसम्मका सबैभन्दा ठूला स्टार बन्नसक्ने बताएको लेखेको छ ।
नेपाली युवा दिवेश पोखरेल (अर्थर गन) सन् २०१४ मा उच्च अध्ययनका लागि काठमाडौंबाट अमेरिका पुगेका थिए ।

आफ्नी दिदीलाई पछ्याउँदै कन्सासको विचिटा पुगेका पोखरेलले संगीतलाई गम्भीरतापूर्वक लिन थालेको दुई वर्ष मात्र भयो । काठमाडौंको एस कलेज इन्स्च्यिुटमा व्यवस्थापनमा प्लस टु उत्तिर्ण गरेपछि उनी अमेरिका गएका थिए । अनलाइन अडिसन र विचिटामा अमेरिकन आइडलका छनोटकर्ता सँगको प्रस्तुतिबाट अडिसन पुगेका २१ वर्षीय उनले शुरुमा बब डिलनको ‘गर्ल फ्रम द नर्थ कन्ट्री’ गीत गाएका थिए ।

त्यसपछि क्रिडेन्स क्लियरवाटर रिभाइभ्ड ब्याण्डको ‘ह्याभ यू एभर सीन द रेन’ गीत गाएका थिए ।

दिवेशले सन् २०१९ को जनवरीमा नेपालमै आफ्नो ग्रहण एल्वमको लोकार्पण गरेका थिए । अर्थर गनका नाममा युट्युब च्यानलसमेत रहेको पोखरेलका एक दर्जनजति गीत छन् ।
बेलायतबाट सुरु भएको ‘सिङ्गिङ रियालिटी सो’ आइडल अमेरिका पुगेपछि ग्लोबल सो बन्न पुगेको छ । नेपालमा पनि विगत तीन सिजनदेखि नेपाल आइडल चलिरहेको छ ।***

तपाईको प्रतिक्रिया