शुक्रबार, जेठ ०४, २०८१
Friday, May 17, 2024

काठमाडौं – सरकारले आगामी बुद्ध पूर्णिमाको अवसर पारेर लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने भएको छ ।सम्मेलन हुने भएपछि लुम्बिनी क्षेत्रका पर्यटन व्यवसायी उत्साहित भएका छन् । लुम्बिनीलाई प्राथमिकतामा राखेर बौद्ध सम्मेलन गर्नुले यहाँको पर्यटन व्यवसायमा मात्र नभई बृहत्तर लुम्बिनी विकासको योजना अघि बढाउन पनि सहयोग पुग्ने व्यवसायीको भनाइ छ ।

लुम्बिनी होटल एसोसिएसनका महासचिव लीलामणि शर्माका अनुसार बौद्ध सम्मेलनले अन्तर्राष्ट्रिय जगतमा लुम्बिनीको प्रचार हुनुका साथै पर्यटन प्रवर्धनमा ठूलो भूमिका खेल्ने बताएका छन् ।

सरकारले बुद्ध जयन्ती अर्थात् वैशाख शुक्ल पूर्णिमाको अवसर पारेर हरेक दुई वर्षमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्दै आएको छ । यस पटकको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा संयुक्त राष्ट्रसंघका पूर्वमहासचिव वानकी मुनसहित २१ वटा राष्ट्रका प्रतिनिधिलाई बोलाउने सरकारको तयारी छ ।

लुम्बिनीमा तेस्रोपटक अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन हुन लागेको हो । लुम्बिनीलाई सरकारले प्राथमिकतामा राखेको भन्दै लुम्बिनी क्षेत्रका पर्यटन व्यवसायीले बौद्ध सम्मेलन सफल पार्न आ-आफ्नो क्षेत्रबाट सहयोग गर्ने पनि बताएका छन् । सिद्धार्थ होटेल एसोसिएसनका उपाध्यक्ष मेघनाथ आचार्यले बौद्ध सम्मेलनलाई स्थानीय स्तरबाट सहयोग गरिने बताउनुभयो । बौद्ध सम्मेलनले लुम्बिनीको प्रचारप्रसारमा सघाउ पुगे पनि पर्यटकको बसाइ लम्ब्याउने खालका कार्यक्रम सरकारले सञ्चालन गर्नुपर्ने व्यवसायीको भनाइ छ ।

गौतम बुद्ध र मायादेवीका प्राचीन, ऐतिहासिक कथा तथा बुद्धका सन्देशसमेतलाई समेटेर वृत्तचित्र तयार गरी लुम्बिनी क्षेत्रमा यसको नियमित प्रदर्शन तथा प्रचारप्रसार गर्ने हो भने पर्यटकको बसाइ अवधि लम्बिन सक्ने संस्कृतिविद् गितु गिरीले बताउनुभयो ।

लुम्बिनीका होटल एसोसिएसनका अध्यक्ष मिथुनमान श्रेष्ठले लुम्बिनी आउने पाहुनाका लागि होटलमा स्थान अभाव हुन नदिइने बताउनुभयो । लुम्बिनीमा विहारले पनि व्यापार गरिरहेकाले सरकारले यसलाई भने नियन्त्रण गर्नुपर्ने उहाँको माग छ ।***

तपाईको प्रतिक्रिया