शनिबार, जेठ ०५, २०८१
Saturday, May 18, 2024

बझाङ – बुङ्गल क्षेत्रमा निर्माण भइरहेको कालङ्गा जलविद्युत् आयोजनामा काम गर्ने चार मजदुर सुरुङभित्र थुनिएका छन् । उनीहरु आइतबार दिउँसोदेखि सुरुङभित्र थुनिएका हुन् ।

दैलेखको गुराँस गाउँपालिका-३ का महेन्द्र शाही, सोही ठाउँका कर्ण शाही, अछामको तुर्माखाँद गाउँपालिका-६ का महेन्द्र साउँद र बझाङको बुङ्गल नगरपालिका-१ का शेरसिंह धामी सुरुङभित्र थुनिएको प्रहरी नायब उपरीक्षक गणेशबहादुर बमले जानकारी दिए । आठ सयमिटर लामो सुरुङ भएकाले अक्सिजनको मात्रा कम भएका कारण चारैजना बेहोस भएको हुनसक्ने उनले बताए । उनीहरुसँगै सुरुङभित्र गएका अन्य दुई मजदुर भने बाहिर निस्किन सफल भएको उनले बताए । ‘चार जनाको अवस्था अज्ञात छ’, बमले भने ।

प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेसहित नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली घटनास्थलतर्फ गएको छ । सुरुङभित्र रहेका मजदुरको उद्धारका लागि काठमाडौंबाट हेलिकप्टरमा नेपाली सेनाको टोली घटनास्थल पुगेको छ । पाँच वर्षदेखि निर्माणाधिन ६५ मेगावाट क्षमताको कालङ्गा आयोजनाको हाल सुरुङ खन्ने काम भइरहेको छ ।

तपाईको प्रतिक्रिया