शनिबार, जेठ ०५, २०८१
Saturday, May 18, 2024

काठमाडौं – नेपाल राष्ट्र बैंकको गभर्नरको कार्यकाल पाँच महिना बाँकी हुँदा अब नेपाल राष्ट्र बैंकको नेतृत्वमा को पुग्ने भन्ने चर्चा सुरु भएको छ ।

नयाँ गभर्नरको आकांक्षीका रुपमा वर्तमान डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी, राष्ट्र बैंककै पूर्व डेपुटी गभर्नर तथा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी, राष्ट्र बैंककै पूर्व कार्यकारी निर्देशकद्वय मीनबहादुर श्रेष्ठ र भाष्करमणि ज्ञवालीलगायत छन् ।

गभर्नर डा. चिरञ्जीवी नेपाल आफ्नो ५ वर्षे कार्यकाल पूरा गर्दै आउँदो चैतमा अवकाश पाउँदैछन् । अर्थमन्त्री डा. युवराज खतिवडा भने बहालबाला अर्थसचिव डा. राजन खनाललाई गभर्नर बनाउने सोचमा रहेको स्रोतले बताएको छ । कांग्रेसनिकट गभर्नर नेपालसंग राम्रो सम्बन्ध नभएका अर्थमन्त्री अब आफ्नो अनुकुल व्यक्तिलाई सो पदमा ल्याउन चाहन्छन् । स्रोतका अनुसार आफूलाई धेरै सहयोग गरेका कारण खनाललाई उनले गभर्नर बनाउने आश्वासनसमेत दिएका छन् ।

खनालले आगामी माघ २२ गते नेपाल सरकारको सचिव पदबाट अवकाश पाउँदैछन् । उनले अवकाश पाएपछि रिक्त हुने अर्थसचिवमा भने राजश्व सचिव शिशिर ढुंगानालाई ल्याउने सोच अर्थमन्त्रीको छ । ढुंगाना यसअघि प्रधानमन्त्री कार्यालयमा थिए । राजस्व सचिववबाट प्रधानमन्त्री कार्यालयमा गएको १० महिनापछि उनी पुनः सोही पदमा फर्किएका हुन् । त्यसपछि ढुंगानालाई नै अर्थ सचिव बनाउने योजनासहित फर्काइएको अर्थ मन्त्रालय स्रोतले बताएको छ ।

तपाईको प्रतिक्रिया