शनिबार, जेठ ०५, २०८१
Saturday, May 18, 2024

काठमाडाैं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिस्टहरुले मुलुकको लागि कुनै राम्रो काम गर्न नसकेको आरोप लगाएका छन् । मित्र युवा क्लबले दशैंको अवसरमा शनिबार काठमाडौमा गरेको शुभकामना आदान प्रदान कार्यक्रममा सभापति देउवाले कम्युनिष्टका काण्डै काण्डले मुलुककै बेइज्जत भएको आरोप समेत लगाए ।

महरा काण्डले मुलुकको शीर निहुरीएको भन्दै उनले दुई तिहाईको सरकारले मुलकलाई बर्वाद बनाएको बताए । उनले पीडित महिलालाई दुई तिहाईको बलमा डर, धम्की दिएर बयान फेर्न लगाएको भन्दै पीडितलाई न्याय दिनुको सट्टा पीडित बनाएको आरोप लगाए । त्यस्तै कांग्रेसका नेता प्रकाशमान सिंहले दुई तिहाईको दुहाई दिने सरकारलाई जनताले खोज्ने बेला आएको बताए । उनले महँगी बढ्दा समेत सरकारले कुनै तदारुकता देखाउन नसकेको आरोप लगाए ।

नेता भिमसेनदास प्रधानलगायतले सरकारले चाडबाडमा बढ्दो कालोबजारी, बेथिति र भ्रष्टाचार रोक्न नसकेको बताए । चाडबाडको अवसरमा मित्र युवा क्लबले बिभिन्न व्यक्तिहरुलाई सम्मानित गर्नुको साथै खाद्यान्न, लत्ताकपडा वितरण गरेको थियो ।

तपाईको प्रतिक्रिया