टोकियो – जापानलाई सपनाको देश भनेर भनिन्छ । यही सपनाको देश जापानमा आफ्ना सूदुर भविष्यका अनगिन्ती सपनाहरु पूरा गर्नका लागि लाखौं विदेशीहरु अहोरात्र संघर्ष गरिरहेका छन् । कतिपय विदेशमा रहेकाहरु जापान आउनका लागि विभिन्न तानावाना बुनिरहेका छन् । तर यही सुविधा सम्पन्न देशमा जन्मेर, सुविधा सम्पन्न जीवनशैलीलाई चटक्कै माया मारेर आजभन्दा करीव २५ वर्ष अगाडिदेखि नेपालको ग्रामीण भेगमा शिक्षा, खानेपानी तथा स्वास्थ्य लगायतका क्षेत्रमा काम गरिरहेका ‘ओकेवाजे’ संग नेपाललाई मन पराउनुका कारण, नेपालमा उनले गर्दै आएको सामाजिक कार्य, एकजना जापानी नागरिकले लामो समयदेखि भोग्दै आएको नेपाल लगायतका बिषयमा केन्द्रित रही समुद्रपारिका लागि गरिएको कुराकानीको सम्पादित अंश :
तपाईको नाम ’ओकेबाजे’ कसरी रहन गयो, वास्तविक नाम के होला ?
मेरो नाम खाजुमासा खाकिमी हो । २५ वर्ष अगाडि म पहिलोपटक नेपाल गएको थिएँ । नेपालको गाउँमा गएर बस्न थालेपछि शुरुका दिनमा मलाई नेपाली भाषा आउँदैनथ्यो । केही नबुझेपछि मैले ‘ओके’ओके’ भनें । अंग्रेजीमा सँधै ओके, ओके भन्दै गर्दा साना-साना केटाकेटीहरुले मलाई ‘ओके बाजे’ भन्न थाले । त्यसपछि यो मेरो दोस्रो नाम अथवा निक नेमजस्तो भएको छ । त्यसरी मेरो नाम ‘ओके बाजे’ रहन गयो । अहिले साना ठूला सबैले ‘ओके बाजे’ भनेर बोलाउँछन् । काजुमासा खाकिमी गाह्रो नाम छ ।
‘ओके बाजे’ भन्दा तपाईलाई खुशी लाग्छ त ?
मलाई धेरै खुशी लाग्छ ।
पहिलो पटक नेपाल कहिले जानुभयो ?
म आजभन्दा करीव ३० वर्ष अगाडि अर्थात सन् १९८८ मा म पहिलो पटक ट्रेकिङको लागि नेपाल गएको थिएँ । सगरमाथा आधारशिविर घुमेर फर्केको थिएँ ।
शुरुमा जाँदा नेपाल कस्तो लागेको थियो ?
म टोकियोमा जन्मेको व्यक्ति हुँ । जुन बेला म नेपाल गएको थिएँ, त्यतिबेला टोकियो र नेपालको तुलना गर्दा ७० वर्ष अगाडिको जापान जस्तो लागेको थियो ।
पहिलो पटक गएर फर्केपछि कति समयपश्चात नेपालमा लामो समय बस्ने गरी जानुभयो त ?
पहिलो पटक नेपाल भ्रमण गरेको ५ वर्ष पछि १९९३ मा गएँ । मैले नेपालमा नै बस्ने सोच बनाउनुको मुख्य दुई कारण छन् । पहिलो, अन्नपूर्ण वेश क्याम्पतिर घुम्न जाँदा मेरो नेपाली सहयोगी हिउँ पहिरोमा परेर बित्नुभयो । मेरो सहयोगका लागि खटिनुभएका उहाँको मृत्यु भएपछि मलाई एकदमै नरमाइलो लाग्यो । उहाँको लागि पनि केही गर्ने कि भन्ने सोच आयो । दोस्रोपटक म नेपाल जाँदा आफै बस दुर्घटनामा परें । दुर्घटनामा पर्दा नेपालका नागरिकहरुले धेरै सहयोग गर्नुभयो । त्यतिबेला मेरो ६ वटा करङ नै भाँचिएको थियो । तानसेन मिसन अस्पतालमा भर्ना भएर बसें । त्यति बेला उक्त क्षेत्रका वासिन्दाहरुले धेरै सहयेाग गर्नुभयो । नेपालीहरु कतिसम्म सहयोगी हुने रहेछन् भन्ने कुरा बुझें । यी सहयोगी मान्छेहरुका लागि मैले केही गर्न पाए भन्ने सोच आयो । त्यसपछि सँधै मलाई नेपालीको लागि केही गर्न पाए हुन्थ्यो भन्ने ध्याउन्नले मात्र सताउन थाल्यो । त्यसैको फलस्वरुप मैले नेपाल जाने निर्णय गरें ।
नेपाल जानुभन्दा अगाडि के गर्नुहुन्थ्यो त ?
स्कुलमा अंग्रेजी शिक्षकको रुपमा काम गर्थें ।
अहिले वर्षमा कतिपटक जापान फर्कनुहुन्छ ?
म अहिले वर्षमा १ पटक करीव २ महिनाको लागि जापान आउँछु ।
जापान आएर के गर्नुहुन्छ त ?
जापान आएर मलाई सहयोग गर्ने संस्थाहरु, सहयोग गर्ने साथीहरुलाई गएको १ वर्षमा नेपालमा के-के काम भयो भनेर रिपोर्ट बुझाउँछु ।
नेपालबाटै इमेल आदानप्रदान गरेर कामको प्रगति विवरणहरु जानकारी दिए हुदैन र ?
म इमेल प्रयोग गर्न सक्दिन । कहिलेकाहीं आवश्यक परेमा नेपालका साथीहरुले सहयोग गर्नुहुन्छ ।
गाउँलेहरुले तपाईलाई के भन्छन ?
मेरो विचारमा उहाँहरुले मुखले मात्र भन्नुभएको होइन भने खुशी छन् । शुरुमा हामीले सानो क्षेत्र र स्केलमा काम थालनी गरेका हौं । सानो बालक जस्तो अवस्था थियो । सानो बच्चालाई सबै कुरा तिमी आफैले गर्नुपर्छ भनेर पनि संभव हुँदैन । सानोमा हरेक कुरा सहयोग गर्ने मात्रै हुन्छ र त्यस्तै थियो । तर अहिले संस्था ठूलो भएको छ । त्यहाँका नागरिकहरु बुझ्ने भईसकेका छन् । कतिपय कुराहरु आफैले पनि गर्न सक्छन् । गाउँका हरेक कुराहरु सँगै सम्पन्न गरेर सँगै खुशी हुने हो । अहिले उनीहरु सन्तुष्ट छन् र खुशी पनि छन् ।जापानभन्दा नेपालको बसाई लामो जस्तो भईसक्यो । वर्षमा एक पटक जापान फर्कदा कस्तो लाग्छ त, यतै बसौं जस्तो त लाग्दैन ?
धेरै राम्रो प्रश्न गर्नुभयो । सुरुसुरुमा नेपालमा एडजस्ट हुन गाह्रो लाग्थ्यो । जापान र नेपाल धेरै फरक भएकोले शुरुमा कस्तो कस्तो त हुन्छ तर एक हप्ता पछि बानी पर्छ । २ महिनाको व्यस्त दैनिकी पश्चात म फेरि मेरै नेपाल फर्कन्छु । नेपाल पुग्दा मलाई मेरै देश, मेरै जन्मघर फर्केजस्तो लाग्छ ।
तपाई जापान बसेर २ महिनापछि नेपाल फर्कदा गाउँलेहरु के भन्छन् त ?
कहिले फर्कनुभयो ? हाम्रो घरतिर कहिले आउनुहुन्छ त ? भनेर भन्नुहुन्छ ।
नेपालमा रहँदा तपाईको दैनिकी कसरी बित्ने गर्छ ?
विशेषगरी हिउँदमा चाँडै रात पर्छ तर म ढिलोमा पनि ८ बजे सुतिसकेको हुन्छु । विहान सँधै ४ बजे उठ्छु । दिनभरि उक्त दिनका कामहरुमा व्यस्त हुनेगर्छु ।
खाना आफै बनाउनुहुन्छ ?
गाउँलेहरुले पालो गरेर मलाई खाना खुवाउनुहुन्छ । मैले साधारण खाना दिनुस् भन्छु तर उहाँहरुले मीठो मसिनो बनाएर खुवाउनुहुन्छ ।
मनपर्ने खाना के हो ?
मनपर्ने खाना कोदोको रोटी हो । ढिडो र सिस्नो पनि मन पर्छ ।
जापान आउँदा यहाँको खाना खानुहुन्छ होला, कस्तो लाग्छ त ?
नेपाली खाना निकै मीठो हुन्छ तर जापानमा हरेक छाकमा नेपाली खाना खान पाइने संभावना भएन । त्यसैले जापानी खाना नै खान्छु ।
नेपालमा थुप्रै एनजिओ आईएनजिओहरु विभिन्न क्षेत्रमा काम गरिरहेका छन् । तपाईको कार्यशैली र अन्यमा के भिन्नता छ ?
सुरुमा श्रमदान जुटाउने संभावना बारे गाउँलेहरुसंग सल्लाह गर्छु । सानातिना आर्थिक सहयोग पनि गाउँलेहरुले गर्छन । उनीहरुको केही लगानी अनि केही श्रम नपरे त्यसको महत्व नै हुँदैन । आफ्नै लगानी र श्रम परेपछि उनीहरुलाई यसमा मेरो केही श्रम र केही रकम परेको छ भनेर भिन्दै माया हुनेरहेछ । मानौं १० लाखको योजना सम्पन्न गर्नका लागि शुरुमा मिटिङमा हामीले ७ देखि ८ लाखसम्म दिन सक्छौं बाँकी २ लाख तपाईहरुले जम्मा गर्न सक्नुहुन्छ कि हुन्न भनेर सोध्छौं । त्यसपछि गाउँलेहरुले २ लाखको लागि रकम उठाएर अथवा श्रमदान गरेर त्यो योजना सम्पन्न हुन्छ । सम्पन्न भईसकेपछि शुरुमा १० लाखको बनाइएको योजनामा बाँकी २ लाख फेरि थपेर अन्य कुराहरु बनाउँछौं जसले गर्दा योजना पनि सम्पन्न हुन्छ अनि गाउँलेहरु सन्तुष्ट र योजनाप्रति सबैको माया हुन्छ ।
सरकारी क्षेत्रबाट पनि सहयोग हुन्छ ?
पहिला यस्तो थिएन । नयाँ संविधान आएपछि विभिन्न प्रदेशहरु बनेको छ । यसले गर्दा सरकारी निकायसंग हामी नजिक भएको अनुभूत हुन्छ । जसले गाउँलेहरुको सक्रियतामा सरकारी निकायबाट पनि केही रकम विनियोजन हुने गरेको छ ।
पाल्पा लगायत अन्य ठाउँबाट पनि तपाईलाई योजनाको अनुरोध आउँछ होला नि ?
पाल्पा भन्दा अन्य क्षेत्रबाट पनि अनुरोध आउँछ । हरेक क्षेत्रमा म आफै उपस्थित भएर गर्ने गरेको हुनाले म जान नसक्ने टाढा-टाढा गर्ने गरेको छैन ।
जापानमा तपाईको आफन्त अथवा परिवार को-को हुनुहुन्छ ?
मेरो एक छोरा र एक छोरी छन् । श्रीमतीसंग पहिले नै पारपाचुके भैसकेको छ । छोराछोरीबाट नाती नातिनाहरु छन् ।
छोराछोरीबाट सहयोग हुन्छ ? के भन्नुहुन्छ ?
सुरुमा त विरोध गरेका थिए । हाम्रो लागि केही नसोचेर किन नेपालमा गएर काम गर्ने होला भनेर भनेका थिए । तर मैले नेपालमा गरेको कामहरुको बारेमा जानकारी पाएपछि अहिले उनीहरुले पनि सहयोग गरेका छन् । छोराको टोकियो भन्दा बाहिर नेपाली रेष्टुरेण्ट व्यवसाय छ । छोरी चिवामा बस्छिन् । छोराछोरीसँग वर्षमा एक पटक भेट हुन्छ । उनीहरुले आर्थिक लगायत अन्य कुराहरुमा पनि पूर्ण सहयोग गरिरहेका छन् ।
सुरुमा नेपालमा काम गर्छु भनेर कति पैसा लिएर जानुभएको थियो ?
नेपाली १० लाख जति । तर एक वर्षमा नै सबै सिद्धियो ।
त्यसपछि के गर्नु भयो त ?
सहयोगी दाताहरु खोजें । विभिन्न संघसंस्थाहरुमा मेरो योजना पठाएर उहाँहरुबाट पनि सहयोग पाइरहेको छु ।
तपाईले कुनै पनि योजनाको लागि पैसा जम्मा गर्नुहुन्छ अनि अर्को योजनाको लागि आर्थिक संकलन कसरी हुन्छ त ? सँधैभरी पैसा आईरहने दीर्घकालीन आर्थिक स्रोत के छ ?
गाउँ-गाउँ डुलेर बनाउन पर्ने आवश्यक योजनाहरुको अध्ययन गर्ने अनि जापानमा भएका दाताहरुसँग अनुरोध गर्ने हो । पहिलेदेखि काम गरेको र सम्पन्न भएको योजनाहरुले गर्दा विश्वास गर्नुहुन्छ ।
विद्यार्थी जीवनमा त अरु नै केही बन्ने लक्ष थियो होला नि ? त्यो बेलामा सोच्नुभएको भावी जीवन र अहिलेको दैनिकीमा के फरक छ ?
थियो होला । समय अनुसार मेरो सोचाई र भविष्यको लक्ष पनि फेरिंदै गयो होला । तर अरु मान्छेको दुःखमा मलम लगाउनु भन्दा अन्य ठूलो कुरा केही छैन जस्तो लाग्छ ।
तपाईको नेपाल बसाई कस्तो छ त ? फोटोमा त तपाईको घरमा विजुली पनि रहेनछ त ?
हो म एकदमै सामान्य जीवन विताउन चाहने व्यक्ति हुँ । गाउँलेहरुको घरमा विजुलीको व्यवस्था गरिदिएको छु तर म आफ्नै घरमा विजुली छैन । मेरो मोवाईल चार्ज गर्न पर्यो भने गाउँलेहरुकोमा लिएर जानुपर्छ ।
सुविधासम्पन्न देशमा जन्मेर यहाँको सुविधासम्पन्न जीवनशैली छोडेर नेपालको ग्रामीण जीवन गुजारिरहँदा जीवन भनेको के हो जस्तो लाग्छ ?
निकै राम्रो प्रश्न गर्नुभयो । जिन्दगी भन्ने कुरा ठूलो घर बनाएर, राम्रो गाडी किनेर, जापानी भाषामा ‘जेइताकु’ भन्छ त्यसले मात्रै खुशी ल्याउन सक्दैन । व्यक्तिको सबैभन्दा ठूलो खुशी सन्तुष्टि हो । मेरो खुशी भनेको नै अरुको खुशीमा खुशी हुनु अथवा अरु कसैको सहयोगी बन्नु नै सबैभन्दा ठूलो खुशी हो । जीवनमा जन्मेर के गरे त ? आफ्नै मात्र बारेमा सोच्ने त हजारौं हुन्छन् तर जीवनमा आफू लगायत अन्यको बारेमा सोच्नु नै सार्थक जीवन हो । कसैले जीवनमा सम्पत्ति कमायो, जीवनमा ठूलो घर किन्यो, गाडी किन्यो । त्यसको सबैले नक्कल गर्न चाहन्छन् । तर मेरो नक्कल गरोस भन्ने चाहान्छु । जापानमा आउँदा म सँधै दुई स्टेशन जति पैदल हिड्ने गरेको छु । यसबाट दिनको १ सय ५० येन वचावट हुन्छ । यसरी दुई महिनासम्म ट्रेन प्रयोग नगरी हिडेर बचाएको पैसा १२ हजार येनले नेपालमा कति किलो चामल किन्न सकिन्छ ? त्यो उनीहरुलाई बाड्दा आनन्द आउँछ । यो मेरो गेम हो । म यस्तै खालको गेम खेल्न मन पराउँछु । यस अगाडि त्यसरी बचाएको पैसाले नेपालका गरीवहरुलाई चामलको बोरा प्रदान गरें । एकजना १२ वर्षको वालकले चामलको बोरा अंगालो हालेर चुप्पा गरेको फोटोले म धेरै भावुक भएँ । सानो-सानो पैसाले पनि धेरै ठूलो खुशी ल्याउन सक्दो रहेछ भन्ने लाग्यो ।
आगामी दिनमा के गर्ने योजना छ त ?
अहिलेसम्म विभिन्न योजनाहरु सम्पन्न गरें । तर दीर्घकालीन आर्थिक स्रोत भने भएको छैन । आगामी दिनमा कृषिसँग सम्बन्धित आयआर्जन गर्ने कामहरु गर्ने योजना छ । कृषकहरुलाई फलफूल, तरकारी, वाख्रा तथा सुगुर पालन गर्नका लागि ऋण वितरण गर्ने र त्यसैबाट कृषकहरु आफ्नै खुट्टामा उभिन सक्ने बनाउने योजना छ । गाउँलेहरुले पनि यस विषयमा चासो देखाएका छन् । उनीहरुले हामी गर्दछौं भनेर भन्दा हामीले सपोर्ट गर्नुपर्छ । घरवारी नै बैंकमा राखेर ऋण लिन निकै झन्झटिलो र ब्याज महंगो पर्छ । तर हामीले सस्तो व्याजदरमा कृषकहरुलाई सहयोग गर्न सके हुन्थ्यो भन्ने लागेर यो काम गर्ने योजना बनाईरहेको छु । अहिले गाउँको मान्छेसँग किसानको लागि काम गर्दैछु ।
अन्त्यमा, जापानमा रहेका नेपालीहरुलाई के भन्न चाहनुहुन्छ ?
सबैभन्दा ठूलो कुरा परिवारसँग बसेर जीवन विताउन पाए हुन्थ्यो भन्ने लाग्छ । विविध कारणले परिवार नेपालमै छाडेर जापानमा काम गरिरहनु भएको छ । जापानको व्यस्त दैनिकी छ । यस्तै गरी नेपालमा केही काम गर्न सक्यौं भने नेपालमा पनि केही गर्न सकिन्छ होला । आधुनिक शैलीमा मेहनत गरेमा नेपालको कृषि क्षेत्रमा नै धेरै काम गर्न सकिन्थ्यो होला । तपाईहरु सँधै अर्काको मुलुकमा होइन आफ्नै देशमा गएर मेहनत गर्नुभयो भने नेपालमा पनि केही गर्न सकिन्छ । विदेश जाने भन्यो भने व्याजमा ऋण पाइन्छ तर नेपालमा नै केही गर्छु भन्नुभयो भने ऋण पाईदैन । तर दीर्घकालीन नेपालको लागि नेपालमा नै काम गर्न आवश्यक छ । अहिले नेपालमा युवाहरु नै छैन । जापानमा करीव ९० हजार हो तर अन्य मुलुकहरु समेत गर्दा धेरै नेपालीहरु विदेशिएका छन् । विदेशिएका नेपालीहरु देश फर्किएर काम नगरे नेपालको विकास संभव छैन । विदेश भनेको पाखुरामा बल हुँदासम्म मात्र हो । परिवारसँगै बसेर आफ्नै देशमा केही गर्ने सोच बनाउनुहोस् ।
प्रस्तुती: ऋतुकुमार दुरा