Deneme Bonusu Veren Siteler
आइतबार, मंसिर ०९, २०८१
Sunday, November 24, 2024

टोकियो – केही समय अगाडि महिला राजनैतिक नेतृत्व सम्बन्धि एक अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन नेपालको तर्फबाट तीनजना सभासद जापान आउनुभएको थियो । ती मध्यकी एक नेपाली काँग्रेसबाट राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सभासद तथा नेकाको भात्तृसंस्था नेपाल महिला संघकी केन्द्रिय महासचिव धना खतिवडा हुनुहुन्थ्यो । लामो समयदेखि महिला हक, हित, अधिकार र सशत्तिकरणका लागि निरन्तर क्रियाशील रहँदै आउनुभएकी काँग्रेस नेतृ खतिवडासंग नेपालको राजनीतिमा महिलाहरुको सहभागिता, पहुँच र समग्र नेपाली महिलाहरुको अवस्थाका बारेमा ‘समुद्रपारि’ का लागि गरिएको कुराकानीको सम्पादित अंश : –

नेपालको राजनीतिमा नेपाली महिलाहरुको अवस्थालाई कसरी मुल्याङ्कन गर्नुहुन्छ ?
राजनीति भनेको समाज सेवाको एउटा डरलाग्दो फाँट हो । यो एउटा फलेको वृक्ष पनि हो । यसमा हामी महिला पनि पर्र्छौ । हामी नेपाली महिलाहरु नेपालको राजनीतिमा सहभागिताका हिसाबले निकै फड्को मारेको मान्नुपर्दछ । यो संतोष गर्ने अवस्थामा भएपनि चुनौती भने अझै धेरै बाँकी छन् । नीति निर्माण र निर्णायक तहमा भने अझै हाम्रो पहुँच पुग्न सकेको छैन । महिलाको सहभागिता तलदेखि माथिसम्म पुग्यो भने मात्र उनीहरु निर्णायक हैसियत राख्न सक्दछन् । उदाहरणका लागि सात प्रदेशमध्य कम्तीमा पनि २ प्रदेशमा महिला मुख्यमन्त्रीको प्रावधान गरिनुपर्थ्यो, त्यसो गरिनबाट हामी चुकेका छौं । सिंहदरबारको अधिकार गाउँगाउँमा पुर्‍यायौं त भनियो तर अधिकाँश सांसदहरु त्यसमा पनि अझ महिला जनप्रतिनिधिहरुले अहिले बिजनेश पाएका छैनन् । सचेतना तथा सशक्तिकरणका लागि हामीले अझै धेरै काम गर्न बाँकी छन् ।

महिला आन्दोलनका बाँकी कार्यभार के के हुन र यसमा देखिएका समस्याहरुलाई कसरी केलाउनुहुन्छ ?
समावेशी प्रणालीका कारण महिलाहरुको उपस्थिति राजनीतिमा पहिलेभन्दा बढ्दो भएपनि यतिले मात्रै पुग्दैन । संघीय प्रणालीका तीनै तहमा मेयर पुरुष र उपमेयर महिला हुने ब्यवस्था त गरियो यसले सहभागिता बढाए पनि नेतृत्वको बिकास गर्ने काम बाँकी देखियो, जसले गर्दा महिलाले काम गर्न नसकेको आरोप लाग्ने संभावना देखिन्छ । त्यसकारण हाम्रा बाँकी अधिकार प्राप्तीको लर्डाईँमा अब पार्टी भन्दा माथि उठेर सबै महिलाहरु एकजुट भएर अगाडि बढ्नुको विकल्प छैन । मुख्यतयाः महिलाहरुबीच एकतालाई सवलीकरण गर्दै अगाडि बढ्नु अहिलेको मुख्य चुनौती हो ।

तपाईको पार्टी नेपाली काँग्रेसमा महिलाहरुको स्थिति कस्तो छ ?
गत आम निर्वाचनमा नेपाली काँग्रेसबाट प्रत्यक्ष निर्वाचनमा जम्मा ६ जना महिलाले टिकट पाए । यसले पनि नेपाली काँग्रेसभित्रको महिलाको पहुँच र स्थितिलाई प्रतिविम्वित गर्दछ । अब भने पार्टीको बिधानमा केहि नयाँ प्रावधानहरुसहित स्पष्ट किटान गरेका छौं । पदाधिकारीमा ७ जना सहमहामन्त्री मध्य १ जना महिला हुनैपर्ने ब्यवस्था गरेका छौं । हरेक तहमा ३३ प्रतिशत महिला अनिवार्य गरेका छौं । एक ब्यक्ति, एक जिम्मेवारीको ब्यवस्था गरिएको छ । यसबाट खर्चिलो र महंगो राजनीतिलाई कम गर्ने अपेक्षा गरिएको छ । जिल्ला तहमा सभापति पुरुष भए उपसभापति महिला हुनुपर्ने बिषयलाई उठान गरिएको छ । तथापि विद्यमान केन्द्रिय समितिमा भने हाम्रो पार्टीमा महिलाहरुको संख्या करीव २९ प्रतिशत छ । यो संख्या अरु पार्टीमा भन्दा बढि हो । निर्णायक तहमा भने महिलाहरु अझै पछाडि देखिन्छन् । महिलाहरुबीच एकता हुन सकेको छैन यसले गर्दा भोलिका दिनमा नेकपा नेतृ अष्टलक्ष्मी शाक्य माइनस हुनुपरेजस्तै काँग्रेसमा पनि सक्षम महिला नेतृ माइनस हुने दिन नआउला भन्न सकिन्न । त्यसकारण अब नेपाली काँग्रेसमा ३३ प्रतिशत महिलाहरु अनिवार्य आउने छन् उनीहरुको मत नै निर्णायक हुने कुरामा दुई मत छैन । धन, डन र बाहिरबाट भाडामा ल्याईएकाहरुबाट निर्वाचन प्रभावित पार्ने सँस्कारलाई अब महिलाहरुले नै निस्तेज पार्नेछन् । यसोहुँदा अब नेपाली काँग्रेस बचाउने भनेको महिलाहरुले नै हो । यसका लागि तलदेखि माथिसम्म अत्यधिक संख्यामा साधारण सदस्यहरु बढाउने कार्य हाम्रो अबको चुनौती रहेको छ ।

नेपाली राजनीतिमा महिलालाई सहानुभूतिस्वरुप समानुपातिकमा सीमित गर्न खोजिएको देखियो नि, तपाईहरुको आन्दोलनको नतिजा यहि हो त ?
नेपाली महिलाका आफ्नै समस्या छन् । उनीहरु भरखर मात्र राजनीतिमा अगाडि आईरहेका छन् । हामीबीच असमानताको डरलाग्दो खाडल छ । पुरुषप्रधान समाजमा त्यसको अवशेष धेरै बाँकी छन् । हरेक जिम्मेवारीमा महिलालाई सहायक भूमिकाभन्दा माथि सकेसम्म राखिदैन । भोलि आउने परिस्थिति हेरेर पुरुषहरुद्वारा ’एस म्यान’ महिलाको खोजी गरिन्छ । खर्चिलो र तडकभडकको प्रत्यक्ष चुनाव लड्न महिलाहरु सक्दैनन् भन्ने मानसिकता हामी आफैमा पनि रहीआएको छ । समाज पढ्न सजिलो छैन । चुनाव जित्न जनताको मन जित्न सक्नुपर्दछ । यी र यस्ता बिषयमा अन्तरपार्टी महिला सञ्जालभित्र यथेष्ट बहस, छलफल र गृहकार्य हुन सकेका छैनन् । कतिपय अवस्थामा पार्टीको दायराभन्दा माथि रहेर बोल्नुपर्ने हुन्छ, त्यस्तो अवस्थामा पार्टीको बाउण्डरीले गर्दा सत्यतथ्य कुरो बोल्नका लागि समस्या देखिने गरेका छन् । तर पनि समावेशी चरित्रको राजनैतिक प्रणालीले महिलालाई धेरै अगाडि बढाएको छ । यो हाम्रो आन्दोलनको उपलब्धि हो । यो भन्दा माथि जान त मिहिनेत गर्नैपर्छ । कतिपय अवस्थामा पार्टीको दायराभन्दा माथि उठेर सबै महिला एकजुट भएर लाग्ने हो भने अरु धेरै उपलब्धि हासिल गर्न सकिन्छ । इक्युटी र इक्वालिटीमा जान थप मिहिनेतको जरुरी छ । त्यो हामी गर्छौं। संगसंगै माथि जान सकियो भने मात्र महिला अधिकार सुरक्षित हुन्छ ।

दुईतिहाईको सरकारको कार्यसम्पादनलाई कसरी हेरिरहनुभएको छ ?
सरकारले जति काम गर्नुपर्थ्यो, त्यो गर्न सकेको छैन । सरकारले प्रतिपक्षको साथ लिन पनि सकेन । कता कता सरकारमा दुईतिहाईको दम्भ देखिन्छ । हुन त आजको जमानामा तानाशाही लाड्न चाहेर पनि कसैले सक्दैन तर पनि विद्यमान शिक्षा प्रणालीलाई बुर्जुवा शिक्षा भनेर स्कुलिङ गरेको पार्टी सरकारमा छ । बाघ कराउनु, शिकार हराउनु भनिएझैं १४ वर्ष जेलनेल बसेका केपी शर्मा प्रधानमन्त्री छन् तर पनि सरकारको एकपछि अर्को कार्यशैली हेर्दा कतै यो सरकार गलत ट्रयाकमा त गइरहेको छैन भन्ने आशंका उब्जाएको छ । गुठी बिधेयक, सुरक्षा विधेयक, शिक्षा बिधेयक जस्ता बिषयमा सरकारले देखाएको रवैयाले त्यो आशंकालाई थप बल प्रदान गरेको छ । अब जनताले दुःख पाउनुछैन । सरकारले राम्रो काम गरोस् ५ वर्ष हैन ३० वर्ष चलाओस् तर जसरी पनि देश बन्न पर्‍यो ।

प्रतिपक्षको भूमिका पनि अपेक्षित भएन, काँग्रेस आफै एजेण्डाबिहिन छ भन्ने ब्यापक जनगुनासोलाई के भन्नुहुन्छ त ?
हो हामीले पनि प्रतिपक्षको भूमिका प्रभावकारी निर्वाह गर्न सकेनौं । धेरै कुरा प्रतिपक्षलाई पनि थाहा छैन । विषयवस्तुलाई मिहिन ढंगले विवेचना गर्ने, समीक्षा गरेर अगाडि जानेतिर ध्यान दिएनौं । हामीकहाँ एउटा सँस्कार के बस्यो भने सत्तापक्षले बोल्यो भने राम्रो कुरामा पनि प्रतिपक्षले बिरोध गर्नैपर्ने र प्रतिपक्षले सहि कुरा बोल्दा पनि सत्तापक्षले बिरोध गर्नैपर्ने स्थिति छ । यसो हुनुमा जनप्रतिनिधीहरुमा स्कुलिङको अभाव हो भन्ने लाग्छ । यसमा सुधार हुनु आवश्यक छ । अब पनि प्रतिपक्षले राम्रो भूमिका खेल्न सकेन भने हामीले हासिल गरेका संघीयता, गणतन्त्र जस्ता उपलब्धिलाई सफल हुन नदिन खेलिरहेका शक्तिले हाम्रो देशमा अस्थिरता जन्माउने छन् । तर नेपाली काँग्रेसले त्यस्तो हुन कदापि दिने छैन ।

सरकार ’समृद्ध नेपाल खुशी नेपाली’ को नारा लिएर मुलुक निर्माणको महाअभियानमा लागेकै छ त, तपाईहरुको बिरोध के का लागि ?
समृद्धिको अझै पनि बाटो क्लियर देखिदैंन । नारा ठीक छ तर नारा मात्र राम्रो भएर भएन । नाराअनुसारको रणनीति, कार्यनीति र कार्यक्रमलाई देखिनेगरी कार्यान्वयनको तहमा लैजाने बिषय महत्वपूर्ण हो । अहिलेसम्म त्यस्तो खाका केही देखिएको छैन । दुईतिहाईको सरकार छ, मानौ त्यो पनि बिस्तारै आउला भनेर सकारात्मकरुपमा लिऊँ तर एउटा डरलाग्दो पक्ष के छ भने बेरोजगारीको चर्को समस्या, ६० लाखभन्दा बढि ऊर्जाशील युवाशक्ति विदेश पलायन छ । यसबारे सरकारको ध्यान गएको देखिदैंन, उनीहरुलाई समृद्धिको अभियानमा नजोडेसम्म देशमा परिवर्तन गर्न संभव देखिदैंन । समृद्धिको यात्रामा सत्तापक्ष र प्रतिपक्ष भनेर हुँदैन, संगै हिड्नुपर्छ । यसका लागि सत्तापक्षले उदार छाती देखाउन सक्नुपर्छ । हामीलाई रुख पनि चाहिन्छ, घाम पनि चाहिन्छ र हँसिया, हथौडा पनि चाहिन्छ । सबै मिलेर जान सके मात्र समृद्धि आउँछ ।

मुलुकको समृद्धिमा प्रवासका नेपालीलाई कसरी जोड्न सकिन्छ ?
देशको माया सबैलाई छ र हुनुपर्छ । विनाश पछि विकास आउँछ । तर विकास गर्न अरुबाट चर्को ऋण लिएर भन्दा विदेशमा रहेका नेपालीहरुले आर्जन गरेका सीप, अनुभव, विज्ञता र उनीहरुको पूँजीलाई सरकारले उचित व्यवस्थापन गर्न सकेमा विदेश पलायन भएका युवाशक्ति स्वदेश फर्कने र नेपालीहरुकै पूँजीबाट देशमा रोजगारीसंगै समृद्धि हासिल गर्न सकिन्छ । त्यसका लागि प्रभावकारी कार्यविधी बनाएर लगानीमा सरकारले साझेदारी गर्न आवश्यक छ । विदेशका नेपालीहरुलाई सामुहिक लगानीमा प्रोत्साहित गरी त्यसमा आधा हिस्सा सरकारले लगानी गरिदिनुपर्छ । संभावित उद्योगधन्दाको पहिचान गरी विदेशका नेपालीलाई समुहमा लगानी गर्न प्रोत्साहित गर्ने र कुल लागतको आधा हिस्सा कम्तीमा पनि १५ वर्षका लागि सरकारले बिना ब्याज लगानी गरिदिने ब्यवस्था हुने हो भने धेरै नेपालीहरु स्वदेश फर्कने वातावरण बन्न सक्छ । यसबाट स्वदेशमै रोजगारीका प्रशस्त अवसरहरु पनि सिर्जना हुने देखिन्छ । मेरो विचारमा यसरी विदेशका नेपालीहरुलाई नेपालको समृद्धिमा सरिक गराउन सकिन्छ । सरकारको ध्यान यतातिर जान आवश्यक छ, गफ मात्रै गरेर समृद्धि आउँदैन ।

अन्त्यमा, के भन्न चाहानुहुन्छ ?
सर्बप्रथम विदेशमा बसेर पनि नेपाली समुदायलाई सुसूचित गराउने सह्रानीय कार्यमा लामो समयदेखि लागिपर्दै आउनुभएको नेपाली समाचार र समुद्रपारि परिवारप्रति आभारी छु । यस प्रकाशनको थप प्रगति र निरन्तरताको कामना गर्दछु । यस प्रकाशनमार्फत जापानबासी नेपालीहरुसंग साक्षात्कार गर्ने र मेरो भनाई राख्ने अवसर दिनुभएकोमा हार्दिक धन्यबाद दिन चाहान्छु । निश्चित उद्देश्यका लागि विदेश रोजिनु स्वभाविक भए पनि यहाँहरु जस्ता होनहार जनशक्ति देशमा आवश्यक परेको बेला माटोप्रतिको कर्त्तब्य सम्झेर स्वदेश फर्कन तयार हुन सक्नुपर्छ । देश बनाउन एउटा पुस्ताले त्याग गर्नैपर्छ, त्यो पुस्ता भनेको हामी नै हौं । भावी पुस्ताले हामीलाई धिक्कार्ने ठाउँ राख्न हुँदैन । सबै मिलेर देशलाई जुरुक्क उठाउने बेला आएको छ । सँधै विदेश बसेर हुँदैन । ***
प्रस्तोता – तिलक मल्ल

तपाईको प्रतिक्रिया