काठमाडाैं – पाकिस्तानका तीब्र गतिका बलर मोहमद आमिरले टेस्ट क्रिकेटबाट सन्यास लिएका छन् । पाकिस्तान क्रिकेट बोर्डले आमिरले टेस्ट क्रिकेटबाट सन्यास लिएको जानकारी दिएको छ ।
२७ बर्षिय तीब्र गतिका बलर आमिरले तुरुन्तै देखि लागु हुने गरि टेस्ट क्रिकेटबाट सन्यास लिएका हुन् । सन्यास लिदै आमिरले एकदिवसीय र टी-२० क्रिकेटमा आफ्नो ध्यान दिन टेस्ट क्रिकेट नखेल्ने निर्णय गरेको बताएका छन् । उनले पाकिस्तानका लागि खेल्ने सधै अन्तिम इच्छा र उद्धेश्य रहेको भन्दै आगामी टी-२० विश्वकपका लागि आफुले अब ध्यान केन्द्रित गर्ने बताएका छन् ।
यो सजिलो निर्णय नभएपनि आउदै गरेको टेस्ट च्याम्पियनसिपमा छनौटकर्तालाई सजिलो होस् भने आफुले अहिले नै सन्यासको घोषणा गरेको उनले बताएका छन् । मोहमद आमिरले पाकिस्तानका लागि ३६ टेस्ट खेल खेल्दै ११९ विकेट लिएका छन् । उनले ४ पटक ५ विकेट हल लिएका छन् भने उनको टेस्ट क्रिकेटमा उत्कृष्ट प्रदर्शन वेस्टइन्डिज विरुद्ध ४४ रन दिएर ६ विकेट रहेको छ । सन् २००९ मा श्रीलंकाविरुद्ध टेस्ट डेभ्यु गरेका देब्रे हाते बलर आमिरको टेस्ट क्रिकेटमा औसत ३०.४७ रहेको छ ।