काठमाडाैं – चितवनमा धुर्मुस-सुन्तली फाउन्डेसनले निर्माण गरिराखेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम सुचारू भएको छ । रगंशाला सुरक्षाका लागि लगाइएको बार गएकाे जेठ १५ गते स्थानीयले डोजर लगाएर भत्काइदिएपछि स्थगित भएको निर्माणको काम फेरि सुरु गरिएको हो ।
स्थानीयसँगको विवादपछि रोकिएको काम मंगलबारदेखि पुन: सुचारू गरिएको फाउन्डेसनका सिताराम कट्टेल (धुर्मुस) ले जानकारी दिए । रंगशाला निर्माणका लागि चितवनमा गठन भएको पाँच हजार एक सदस्यीय मूल समितिको सोमबारको बैठकले रंगशाला बनाउन अनुकूल वातावरण तयार गरिदिएको कट्टेलले उल्लेख गरेका छन् ।
समितिले मंगलबारदेखि जिल्लाव्यापी सहयोग अभियान सञ्चालन गर्ने तयारी पनि गरेको छ । क्रिकेट मैदान बनाउँदा एक छेउमा रंगशालाको जग्गा सडकका लागि छाड्नुपर्ने भन्दै स्थानीयले अवरोध गरेपछि रंगशाला निर्माणको काम अवरूद्ध थियो ।