टोकियो – एक मैत्रीपूर्ण खेलमा इंग्लिस क्लब चेल्सीलाई जापनिज क्लब कावासाकी फ्रन्टाले पराजित गरेको छ । प्रि-सिजनअघिको मैत्रीपूर्ण खेलमा चेल्सीलाई कावासाकीले १-० ले हराएको हो ।
जापानमा शुक्रबार भएको प्रस्पिर्धात्मक खेलमा फ्रान्क लाम्पार्डको चेल्सी स्तब्ध बनेको थियो । अन्तिम समयसम्म गोलरहित बराबरी रहेको भए पछि अन्तिम चार मिनेट समालिन नसक्दा चेल्सी पराजित हुन पुगेको थियो । ८६औं मिनेटमा कावासाकीका लागि लियान्द्रो डामियोले निर्णायक विजयी गोल गरेका थिए । लाम्पार्डले क्लब नेतृत्व लिएपछिको यो उनको पहिलो पराजय हो ।
सेन्ट प्याट्रिक एथ्लेटिकसँग यसअघि भएको खेलमा उनको टोलीले सानदार जित दर्ता गरेको थियो । चेल्सीले सो खेलमा सेन्ट प्याट्रिक एथ्लेटिकलाई ४-० ले हराएको थियो । त्यसैगरी, बोहिमेन एफसीसँग भने १-१ को बराबरी खेलेको थियो । अब चेल्सीले २३ जुलाईमा क्याटलान क्लब बार्सिलोनासँग खेल्दै छ ।