टोकियो – आजभन्दा २८ वर्ष अगाडि अर्थात सन् १९९१ मा पहिलोचोटी नेपाल पुगेका र त्यसपछि पटक पटक गरी दर्जनौ पटक नेपाल घुमेका कोबायाशी मासाकी नेपाललाई नजिकबाट र राम्रोसंग चिन्ने जापानी नागरिक हुन् । जापानमा पनि उनको धेरै नेपालीहरुसंग राम्रो हिमचिम छ । जापानमा नेपालीहरुले गरेका ब्यवसायहरुका बारेमा पनि उनी राम्रै जानकार छन् । नेपालीहरुद्वारा संचालित प्रायः रेष्टुरेन्टहरुमा उनी पुगेकै हुन्छन् । नियमित कलम चलाउने उनी एक लेखक र ब्लगर पनि हुन् । आफु पुगेको पसल वा ठाउँका बारेमा उनले केहि न केहि आफ्नो धारणा सामाजिक सञ्जालमार्फत ब्यक्त गर्दै आएका छन् । जसका कारण पनि कतिपय नेपालीका पसल जापानीहरुमाझ परिचित गराउन मदत पुग्ने गरेको छ । स्कुले जीवनदेखि नै नेपालप्रति गहिरो लगाव राख्दै आएका कोबायाशी नेपाल र नेपालीका एक शुभचिन्तक एवं सहयोगी मित्र हुन् । उनी हिन्दी र नेपाली भाषा बोल्न जानेका छन । नेपाल र नेपालीसंगको लामो निकटता र अनुभवका आधारमा जापानमा रहेका नेपालीहरु र नेपालप्रतिको उनको धारणा एवं दृष्टिकोणका बारेमा केन्द्रित रही समुद्रपारिका लागि गरिएको कुराकानीको सम्पादित अंश :
तपाई आफ्नो परिचय कसरी दिनुहुन्छ ?
मेरो नाम कोबायाशी माकी हो । म आजभन्दा ४८ वर्ष पहिले टोकियोको मिताका भन्ने ठाउँमा साधारण परिवारमा जन्मिएको हुँ । हाल म सानोतिनो ब्यवसाय गर्दै आएको छु । मलाई स्कुले जीवनदेखि नै नेपालका बारेमा निकै चासो थियो । त्यसकारण पनि पहिलोचोटीको विदेश भ्रमण नेपाल र भारत हुन पुग्यो । धेरै हिसाबले मलाई नेपाल निकै मन पर्छ ।
नेपालको के कुराले तपाईलाई आकर्षित गर्यो ?
नेपाल आफैमा प्राकृतिक सौन्दर्यताले भरिएको देश हो । त्यहाँका हिमाल, पहाड, नदिनाला, झरना, तालतलैया मनमोहक लाग्छन् । प्राचीन सभ्यता झल्काउने पाटन, भक्तपुर जस्ता सहर, विश्वसम्पदाको सूचीमा रहेका पुरातात्विक महत्वका स्थानहरु आकर्षक लाग्छन् । त्यहाँका मानिसहरु सरल, मृदुभाषी, दयालु र अतिथिप्रति असाध्यै श्रध्दाभाव राख्दछन् । नितान्त मौलिक जीवनशैलीमा रमाउने स्वभावका नेपालीहरुसंग भलाकुसारी गर्न छुट्टै आनन्द लाग्छ । नेपाली खाना मलाई ज्यादै मन पर्छ । दालभात, तरकारी जति खाए पनि धित मर्दैन । त्यसकारण पनि मलाई नेपालले तानिरहन्छ अनि घरिघरि त्यहाँ पुग्ने गर्दछु ।
विदेश भ्रमण तपाईको शोख कि बिजनेश ?
युनिभर्सिटीको विद्यार्थी छँदै पार्टटाईम काम गरेर बचाएको पैसाले विदेश घुम्न निस्कन्थे । त्यसकारण पनि मैले देशविदेशका भाषा, सँस्कृति, रहनसहन, जीवनशैली, त्यहाँको हावापानीका बारेमा बुझ्ने मौका पाएँ । विदेश भ्रमण मेरो शोखले नै हुने गरेको छ, अहिले भने ब्यवसायसंग पनि जोडिएको छ ।
अहिलेसम्म कुन कुन मुलुक पुग्नुभयो ?
नेपाल, भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, हङकङ, सिंगापुर, दक्षिण कोरिया, थाईल्याण्ड, मलेसिया, फिलिपिन्स, म्यान्म्यार, भियतनाम, दुबाई, अमेरिका, बेलायत, फ्रान्स लगायतका देशहरुमा पुगेको छु ।
विदेश घुम्दा त्यहाँको भाषाका कारण पर्ने प्रभावका केहि अनुभव छन कि ?
घुम्न जाँदा काम चलाउन सकिने हिन्दी र नेपाली भाषा स्वध्ययनबाट सिकेको छु । मिल्दोजुल्दो भएकोले हिन्दी जानेपछि नेपाली सिक्न अझ सजिलो भयो । अंग्रेजी पनि समस्या छैन । यति भएपछि विदेशमा लगभग काम चल्ने गरेको छ । यता ब्यवसायमा पनि लगभग विदेशीहरुसंग बढि काम पर्ने भएकोले भाषाले सहज बनाएको छ । जापानी भाषामा असहज महशुस गर्ने सेवाग्राहीसंग आफुले जानेको भाषामा संवाद गर्न सजिलो भएको छ । विदेशमा घुम्न जाँदा त्यहाँको भाषामा मात्रै पहुँच भयो धेरै सहज बनाउँदो रहेछ ।
हाल के गर्दै हुनुहुन्छ ?
युनिभर्सिटीको ग्रायजुशयन सकेपछि केहि वर्ष जागीरे जीवन बिताए पनि त्यसपछि मैले आफ्नै ब्यवसाय सुरु गरेको हुं । मेरो आफ्नो एशिया हण्टर कम्पनी छ, सोही कम्पनीमार्फत विशेषगरी जापानमा रेष्टुरेन्ट क्षेत्रका ब्यवसायमा प्रयोग हुने भाँडाकुँडा, ह्याण्डीक्र्याफ्टका सामानहरु नेपाल र भारतबाट आयात गरी जापानमा विक्रि गर्दै आईरहेको छु । त्यसका साथै प्याकेजमा यातायात तथा ढुवानी सेवा पनि उपलब्ध गराउँदै आएको छु । मेरो ब्यवसायिक कारोबार धेरैजसो नेपालीहरुसंग नै हुने गरेको छ ।
जापानमा नेपालीहरुका ब्यवसाय कस्तो पाउनुभएको छ ?
धेरै राम्रो प्रगति गर्नेहरु पनि हुनुहुन्छ । ठूला ठूला डिपार्टमेन्ट स्टोरभित्र लोभलाग्दो बिजनेश गरेर उदाहरणीय बन्न सफल ब्यक्तिहरु पनि हुनुहुन्छ । उहाँहरुबाट सिक्दै नव-प्रवेशीहरु पनि मिहिनेत गरिरहनुभएको छ । समग्रमा राम्रो गरिरहनुभएको छ । तथापी सफलताको उचाई हासिल गर्नेहरु र निर्वाहमुखी ब्यवसाय गर्नेहरुबीचको खाडल फराकिलो हुँदै गएको आभास हुन थालेको छ ।
रेष्टुरेन्ट ब्यवसायमा लागेका ठूलो संख्याका जापानका नेपालीहरुलाई के सल्लाह दिन चाहानुहुन्छ ?
खाना बेचेरै सफल हुने उद्देश्य राखेर मिहिनेतका साथ लाग्ने हो भने ढिलोचाँडो ब्यवसायिक सफलता हासिल हुन सक्छ । जापानी सेवाग्राहीको मनोभावनालाई ध्यानमा राखी सोहीअनुसारको स्पष्ट मेन्युसहितको स्वाद र सेवा दिन सक्नुपर्दछ । जापानीहरु खाना र सर्भिस मन पराए भने मात्र दोहोर्याएर जाने हुन् त्यसकारण उनीहरु पटक पटक आउने बनाउन के गर्नुपर्दछ त्यसमा बढि ध्यान दिनुपर्दछ । कतिपयको रेष्टुरेन्टमा मेन्युमै समस्या छ । कुन देशको खाना दिन चाहेको हो प्रष्ट देखिदैन । ठूलो लगानी गरेर ब्यवसाय गर्दै गर्दा मेन्यु पनि सोही अनुसारको स्तरिय र स्पष्ट हुनु जरुरी छ ।
नेपाल घुम्न जाने जापानीहरुको संख्या अपेक्षित बढ्न नसक्नुको कारण के होला ?
पहिलो त, नेपाल चिनाउन जापानमा त्यति प्रचार प्रसार पुगेको छैन, जति हुनुपर्थ्यो । दोस्रो, जापानीहरुको घुम्न जानका लागि खर्च गर्न सक्ने आर्थिक हैसियत पहिलेको भन्दा खुम्चिएको छ । तेस्रो, नेपालमा पछिल्लो भूकम्पका कारण क्षति पुगेका संरचनाहरुको पुननिर्माणका कामहरु अझै सम्पन्न भईसकेका छैनन् भन्ने जापानीहरुको बुझाई रहेको छ । नेपालको ताजा अपडेटका समाचारहरु जापानको मिडियामा त्यति धेरै आउँदैनन्, जसले गर्दा नेपालको बारेमा जापानीहरुमा जानकारीको अभाव छ । चौथो, नेपालको तर्फबाट नेपाल जाउँ जाउँ लाग्ने कुनै त्यस्तो आकर्षक स्किमहरु पनि आउने गरेका छैनन् । यिनै कारणहरुले गर्दा विदेश घुम्न असाध्यै मन पराउने जापानीहरुको रोजाईमा नेपाल जति पर्नुपर्थ्यो त्यति नपरेको हुनसक्छ ।
जापानीहरुलाई नेपाल घुम्न जानका लागि आकर्षित गर्न के गर्नुपर्ला ?
जापानमा नेपालको बारेमा पर्याप्त प्रचार प्रसार हुनुपर्यो । ठूलो संख्याका जापानीहरु नेपालबारे अनभिज्ञ छन् । उनीहरुलाई लक्षित गरी विभिन्न फेस्टिवल, खाना, कला, संस्कृतिको प्रचार मार्फत नेपाल चिनाउन सकिन्छ । जापानी भाषामा लेखिएका पोष्टर, पम्फ्लेट, लेख जस्ता चिनारीमुलक सामग्री मार्फत नेपाललाई जतिसक्दो बढि चिनाउन आवश्यक छ । हालसम्म हुने गरेका नेपाल फेस्टिवल नेपालीहरुका लागि ठीकै भएपनि जापानीहरुका लागि आकर्षित गर्न सकेको देखिदैन । जापानीहरुलाई लक्षित गरी उनीहरुलाई प्राथमिकतामा राखेर सोही अनुसारको कार्यक्रम तय गरिनु राम्रो हुन्छ । अर्कोतर्फ नेपाल सरकार, पर्यटन बोर्ड लगायतका सरोकारवला निकायले नाम चलेका जापानी सेलिब्रेटी, युट्युबर, ब्लगरहरुलाई नेपाल आमन्त्रण गरी नेपालको चिनारी बढाउने खालको कार्यक्रम गर्ने हो भने प्रभावकारी हुन सक्छ, जसले गर्दा नेपाल जाने जापानी पर्यटक बढ्न सक्छन् ।
नयाँ भिसा प्रणाली अन्तर्गत जापानमा ठूलो संख्याका विदेशी कामदार भित्र्याउने नीति कार्यान्वयनको चरणमा छ, यस बिषयमा आम जापानीहरुको धारणा कस्तो पाउनुभएको छ ?
कामदार अभावलाई पूर्ती गर्न ल्याईएको यो नीति ठीक छ । आफ्ना देशका नागरिकबाट खाँचो टर्न नसकेपछि विकल्पमा विदेशी कामदार भित्र्याउने स्थिति आएको सबैले जानेबुझेकै कुरो हो । देशभित्र पर्याप्त युवा कामदार नहुँदा अर्थतन्त्रमा परेको असर जगजाहेरै छ । निश्चित मापदण्ड पुर्याएर प्रक्रियागत ढंगले विदेशी कामदार आएर विभिन्न क्षेत्रमा योगदान दिन सके भने देशकै लागि राम्रो हुने छ भने सम्बन्धित कामदारहरु पनि लाभान्वित हुने छन ।
हालैमात्र तपाईको एउटा पुस्तक बजारमा आएको रहेछ, पुस्तकले दिन खोजेको सन्देश के हो ?
पुस्तकको नाम ’निहोननो नाका नो इन्दो ताइरिकु शोकु किको’ (日本の中のインド亜大陸食紀行) अर्थात ’जापानभित्रको इन्डियन उप-महाद्विप ’ बाटै धेरै कुरा स्पष्ट हुन्छ । जापानमा रहेका विशेष गरी दक्षिण एशियाली मुलुक भारत, नेपाल, बंगलादेश र पाकिस्तानका नागरिकहरुका बारेमा यस पुस्तकमा लेखिएको छ । उनीहरु जापानमा के कसरी बसेका छन् भन्ने बिषयमा आफ्नो लामो संगत, उठबस र देखेभोगेको अनुभवका आधारमा शियर गरेको छु । उनीहरुको जीवनशैली, दिनचर्या, पेशा-ब्यवसाय, कला, सँस्कृति, रहनसहन, चाडपर्व, खानपान, रितिरिवाजका बारेमा प्रतिनिधिमुलक विभिन्न ब्यक्ति, ब्यक्तित्वसंग गरेका कुराकानी, अनुभव र ब्यवसायका प्रकृति लगायतका बिषयमा जापानीहरुमाझ पुर्याउने सानो प्रयास गरेको छु । हाम्रो देशमा आएका विदेशी मित्रहरुले ब्यवसायका विभिन्न क्षेत्रमा संलग्न भई अथक मिहिनेत र परिश्रम गरिरहनुभएको छ, उहाँहरुको अवस्था के छ, जापानमा बस्दै गर्दा सजिला असजिला पाटोहरु के कस्ता छन् ब्यवसायिक स्थिति कस्तो रहेको छ जस्ता बिषयमा केलाउने प्रयत्न गरेको छु । पारस्परिक संवाद तथा सहकार्य मार्फत विदेशी र जापानीहरुबीच भाइचाराको सम्बन्ध बिकास गरौं भन्ने सन्देश यस पुस्तकबाट दिन खोजिएको छ । आशा एवं विश्वास छ यसबाट आउने प्रतिक्रियाले मलाई अर्को संस्करण प्रकाशन गर्न प्रेरित गर्नेछ ।
अन्त्यमा, के भन्न चाहानुहुन्छ ?
सूचना र संचारको सेवा दिन नेपालीहरुलाई लक्षित गरी लामो समयदेखि जापानबाट संचालित हुँदै आएको समुद्रपारि डट कममा मेरो आफ्नो भनाई राख्ने अवसर दिनुभएकोमा धन्यबाद दिन चाहान्छु । म आफु जापानी भएपनि लामो समयदेखि यसको शुभचिन्तकको हैसियतले नेपालीभाषी पाठकहरुबीच सूचना संप्रेषणको क्षेत्रमा यसले पुर्याएको योगदान सह्रानीय रहेको पाएको छु । जापान जस्तो ब्यस्त मुलुकमा रहेर कठिन कार्यको लामो यात्रामा अनवरत कलम चलाईरहने यहाँहरु सबैप्रति आभार ब्यक्त गर्न चाहान्छु र यस प्रकाशनको उत्तरोत्तर प्रगति र निरन्तरताको शुभकामना दिन चाहान्छु । जापानमा रहनुभएका सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुको जापान बसाई फलदायी बन्न सकोस् भन्ने शुभेच्छा साट्न चाहान्छु । ****
प्रस्तोताः तिलक मल्ल