शुक्रबार, जेठ ०४, २०८१
Friday, May 17, 2024

टोकियो – एक समारोहको आयोजना गरी जापानको टोकियोमा १२ औं गणतन्त्र दिवस मनाईएको छ । नेपाली राजदूतावास टोकियो जापानको आयोजनामा भएको सो कार्यक्रममा गणतन्त्र दिवसको उपलक्ष्यमा शुभकामना आदान प्रदान गरिएको थियो ।
समारोहलाई सम्बोधन गर्दै जापानका लागि नेपाली राजदूत प्रतिभा राणाले गणतन्त्र दिवसको उपलक्ष्यमा शुभकामना ब्यक्त गर्दै प्रजातन्त्र, गणतन्त्र र संबिधानले मार्ग प्रशस्त गरेको उपलब्धिलाई साकार बनाउँदै अगाडि बढ्न सबैलाई प्रेरणा मिल्ने विश्वास ब्यक्त गर्नुभयो । सो अवसरमा बोल्दै राजदूत राणाले आफुले राजदूत सम्हाले यता नेपाल-जापान दुईदेशबीचका सरकार तथा जनताबीचको द्विपक्षिय सम्बन्ध दिनप्रतिदिन परिणाममुखी बनाउन निरन्तर क्रियाशील रहँदै आएको र फलस्वरुप निकै उपलब्धिमुलक कामहरु भएकोमा खुशी ब्यक्त गर्नुभयो । राजदूत राणाले केहि महिना अगाडि मात्र नेपाल तथा जापान सरकारका परराष्ट्र मन्त्रीहरुको भ्रमण आदानप्रदान भएको र सो अवसरहरुमा महत्वपूर्ण समझदारीहरु भएको स्मरण गर्दै निमन्त्रणा आदानप्रदान भईसकेकोले निकट भविष्यमै दुई देशका प्रधानमन्त्रीस्तरिय भ्रमण आदानप्रदान हुनेमा बिश्वास ब्यक्त गर्नुभयो ।
उहाँले हालैमा नेपालमा सम्पन्न भएको लगानी सम्मेलनको वातावरण बनाउन र जापानी लगानीकर्ताहरुलाई आकर्षित गर्न जापानमा जेट्रो र युनिडोसंग समन्वय गरी लगानी सेमिनार सम्पन्न गरिएको स्मरण गर्नुभयो । उहाँले अगाडि भन्नुभयो – ’हामी हेइसेइ युगबाट रेइवा युगमा प्रवेश गरेका छौं, जापानी राजसंस्थाको नेपालप्रति अगाढ स्नेह रहेको नजिकबाट अनुभूत गर्ने अवसर पाएकी छु । यसबाट पनि प्रमाणित हुन्छ कि नेपाल र जापानबीचको मित्रता प्रगाढ रहेको छ ।’ सो अवसरमा राजदूत राणाले नयाँ भिसा प्रणाली अनुसार विदेशी कामदार जापान भित्र्याउने सन्दर्भमा ९ राष्ट्रभित्र नेपाल पनि परेकोले जापानको श्रमबजारमा नेपालीहरुले पाएको अवसरलाई सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले छिट्टै नै ओसाका-काठमाडौ सिधा उडान हुने लागेको र निकट भविष्यमै नारिता-काठमाडौंबीच पनि हवाईसम्पर्क कायम गराउन आफुहरु प्रयासरत रहेको जानकारी दिनुभयो ।

जाइकामार्फत नेपालमा विभिन्न परियोजनाहरुमा सहयोग भईरहेको, अधिकृत तहका सरकारी कर्मचारी र विद्यार्थीहरुलाई छात्रवृत्तिको ब्यवस्था गर्ने, जापानका दक्ष स्वयमसेवकहरु नेपाल पठाउने कार्यले मूर्तरुप पाएको, पर्यटकीय नगरी पोखराका लागि खानेपानी समस्या समाधान गर्न थप परियोजना प्रदान भएको जानकारी पनि सो अवसरमा राजदूत राणाले दिनुभयो । समृद्ध नेपाल अभियानमा सघाउन डायस्पोरामा रहेका विज्ञहरुको सुझाव संकलन गर्न जापानमा डायलग सिरिज सुरु गरिएको र अबको शृङ्खलामा आइटी सेक्टरसंग सम्बन्धित बिषयमा हुन लागेको जानकारी गराउँदै उहाँले सिरिजबाट प्राप्त सुझावको निचोड नेपाल सरकारलाई बुझाउने कार्यक्रम रहेको बताउनुभयो ।

जापानमा बढ्दो नेपालीहरुको संख्याको तुलनामा दूतावासमा पर्याप्त जनशक्ति नभएपनि दूताबासबाट प्रवाह गरिने सेवालाई कमी हुन नदिन यथासंभव प्रयासरत रहेको बताउँदै राजदूत राणाले जापानको नेपाली समुदायसंग सहकार्य, समन्वय र हातेमालो गर्दै आगडि बढ्न दूतावास सँधै तयार रहेको धारणा ब्यक्त गर्नुभयो । एक अर्को प्रसंगमा राजदूत राणाले सामाजिक सञ्जालतिर नेपालीहरुको सकारात्मक भन्दा नकारात्मक टिकाटिप्पणी आउने गरेकोमा चिन्ता ब्यक्त गर्नुभयो । ’हाम्रा आन्तरिक बिषयलाई विदेशीसामु सार्बजनिक गर्दा समग्रमा नेपाल र नेपालीकै छवि धुमिल हुने भएकोले यदि हामीबीच केही समस्या भए आपसी छलफल र समझदारीबाट समाधान गर्न सकिने भएकोले हामी सबै मर्यादित, जिम्मेवार र सकारात्मक बन्न सकौं, गणतन्त्र दिवसको अवसरमा यहि अपिल गर्न चाहान्छु’- राजदूत राणाले भन्नुभयो ।

समारोहमा एनआरएन आइसीसीका अध्यक्ष भवन भट्टलगायत जापानका विभिन्न सामाजिक तथा राजनैतिक संघसंस्थाका प्रतिनिधि, पत्रकार, ब्यवसायीहरुको उपस्थिति रहेको थियो ।***

तपाईको प्रतिक्रिया