शुक्रबार, जेठ ०४, २०८१
Friday, May 17, 2024

टाेकियाे – जापानले अमेरिकासँग  १ सय ५ वटा लडाकु जहाज किन्ने भएको छ । यही साता भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चार दिने जापान भ्रमणका क्रममा लकहिड मार्टिन नामक अमेरिकी कम्पनीले बनाएका एफ -३५ मोडलका लडाकु जहाज किन्ने घोषणा गरिएको हो ।

गत डिसेम्बरमै जापानले ती जहाज किन्ने कुरा सार्वजनिक भएको थियो । जापानी प्रधानमन्त्री सिन्जो अबेसँगको सम्झौतापछि राष्ट्रपति ट्रम्पले भनेका छन्- जापानले १ सय ५ वटा एफ-३५ स्टिल्थ जहाज किन्ने घोषणा गरेको छ । यी जहाज किन स्टिल्थ हुन्छन् भने तपाईं यिनलाई देख्न (राडारबाट) सक्नुहुन्न ।

यी जहाज किनेसँगै जापान अमेरिकाका सहयोगी देशहरूमध्ये सबैभन्दा धेरै एफ-३५ जहाज भएको देश बन्नेछ । यसअघि अष्ट्रेलियाले यस्ता ७२ जहाज किन्नलाई १७ अर्ब डलर छुट्याएको छ भने दक्षिण कोरियाले ४० वटा जहाज अर्डर गरिसकेको छ । सउलले थप २० वटा एफ-३५ जहाज किन्ने निर्माता कम्पनी लकहिडको आशा छ ।

जापानको यो निर्णयसँगै एसिया प्रशान्त क्षेत्रमा हतियार दौड सुरू हुने विश्लेषकहरूले बताएका छन् । जापानको यो कदमले सबैभन्दा बढी चीनलाई झस्काएको छ । पछिल्लो समय प्रशान्त सागरका विभिन्न क्षेत्रमा बलियो उपस्थिति जनाइरहेको चिनियाँ जनमुक्ति सेनालाई यसले चुनौती थपेको छ ।

यसअघि चीनले पनि यस्तै नदेखिने एफ-२० जहाज आफ्नो सेनालाई दिएको थियो । तर उक्त चिनियाँ जहाजको इन्जिनमा समस्या देखिएको थियो । जापानले गरेको नयाँ निर्णयसँगै बेइजिङलाई आफ्नो स्टिल्थ जहाजको दौडमा व्यापक सुधार गर्ने दबाब परेको छ । –एजेन्सी

तपाईको प्रतिक्रिया