शुक्रबार, जेठ ०४, २०८१
Friday, May 17, 2024

टोकियो – स्कुल बस कुरिरहेका कलिला विद्यार्थीहरुमाथि अन्धाधुन्ध चक्कू प्रहारमा उत्रेका १ जना संदिग्ध ब्यक्तिले आज बिहान टोकियो नजिकै पर्ने कावासाकीमा आतंक मच्चाएका छन् । चक्कू प्रहारबाट २ जनाको ज्यान गएको छ भने ती संदिग्ध आक्रमणकारी आफैले चक्कू प्रहार गरी आत्महत्या गरेका छन् ।

करीव १६ जनाको समुह जसमा धेरैजसो स्कुले विद्यार्थीहरु रहेका उनीहरुले बस कुरिरहेको अवस्थामा ती ब्यक्तिले चक्कू आतंक मच्चाएका हुन् ।
प्रहरी स्रोतका अनुसार उनीहरु कावासाकीस्थित प्राथमिक तहका एक निजी विद्यालयका विद्यार्थी थिए ।

करीव ५० वर्ष उमेरका देखिने ती आक्रमणकारीले दूवै हातमा चक्कू लिएर ’म तिमीहरुलाई मार्छु’ भन्दै चिच्यौंदै अन्धाधुन्ध आतंक मच्चाएका थिए । उनीहरुमाथि चक्कू प्रहार गरेपछि उनले आफ्नै घाँटीमा चक्कू प्रहार गरेका थिए । उनलाई तत्काल अस्पताल पुर्‍याईए पनि उनको मृत्यु भएको थियो । नोबोरितो स्टेशन नजिकै आजै बिहान ७:४५ बजे भएको उक्त घटना बारे स्थानीय अग्निनियन्त्रण विभागले प्रहरीलाई खबर गरेको थियो ।
प्रत्यक्षदर्शीका अनुसार छोटो केश भएका उनले चश्मा लगाएका थिए ।

प्रहरीका अनुसार चक्कू प्रहारबाट मृत्यु हुनेमा १ जना बालिकाको अस्पतालमा मृत घोषित गरिएको थियो भने अर्का ३० वर्षिय पुरुष थिए । यसबाहेक २ जना बालिका र अर्का ४० वर्षिय महिला गम्भीर घाइते भएका छन् ।

जापानी सञ्चारमाध्यमहरुका अनुसार उक्त विद्यालयले आजै अपरान्ह अभिभावकहरुको आकस्मिक बैठक राखेको छ भने ६ बजे पत्रकार सम्मेलनको आयोजना गरेको छ ।

यसैबीच जापान भ्रमणमा रहेका अमेरिकी राष्ट्रपती डोनाल्ड ट्रम्पले दुखद घटनामा परी ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली ब्यक्त गरेका छन् भने शोकाकुल परिवारजनमा समवेदना ब्यक्त गरेका छन् । उनले यस दुखद घडिमा अमेरिका र अमेरिकी जनता जापानको साथमै रहने धारणा ब्यक्त गरेका छन् ।  तस्विर: क्योदो ***

तपाईको प्रतिक्रिया