शुक्रबार, जेठ ०४, २०८१
Friday, May 17, 2024

टोकियो – विपन्न तथा जेहेन्दार छात्राहरुका लागि शिक्षामा सहयोग गर्दै आईरहेको संस्था सेवा -SEWA (Society for Educating women in Asia) को आइतवार टोकियोमा साधारण सभा सम्पन्न भएको छ ।

इचीगायास्थित निप्पोन मियोहोजी बिहारमा भएको सो साधारण सभामा सहजीकरणको भूमिका निर्बाह गर्दै मनिता श्रेष्ठले नेपाली समाजमा नेपाली किशोरीहरुको अवस्था र उनीहरुले पढाईलाई निरन्तरता दिन नसक्नुका कारणहरुका बारेमा आफ्नो शोधपत्रको निचोड प्रकाश पारेकी थिईन् । सहभागीहरुले श्रेष्ठको धारणामाथि जिज्ञासा राखेका थिए ।

सेवाले सन् १९९५ देखि शिक्षामा पहुंच नहुने विपन्न तथा जेहेन्दार छात्राहरुलाई छात्रवृत्ति प्रदान गर्दै आईरहेको छ ।

सो अवसरमा उपस्थित सबैलाई स्वागत गर्दै सेवाकी अध्यक्ष सुष्मा ओमाताले सेवाका गतिविधिहरु माथि प्रकाश पारेकी थिईन् । सो अवसरमा सेवाले हाल ८ वटा विद्यालयका ४९ जना छात्राहरु सेवाको छात्रवृत्तिमा अध्ययनरत रहेको र त्यसमध्य ७ जना नेत्रबिहिन र ५ जना बहिराहरुलाई विशेष छात्रवृत्ति प्रदान गरिएको जानकारी गराईएको थियो ।

सेवाद्वारा उपलब्ध गराईएको छात्रवृत्तिबाट ४० जना छात्राहरु अहिले उच्चशिक्षा हासिल गरिरहेको जानकारी गराईयो । सेवाको छात्रवृत्तिमा पढाई सकेर हाल ३,४ जना किशोरीहरु नर्स तथा अन्य क्षेत्रमा जागीर समेत लागिसकेको सेवाकी अध्यक्ष ओमाताले बताईन् ।

सेवामा आबद्ध सदस्यहरुका अतिरिक्त आगन्तुक तथा पर्यवेक्षक जापानीहरुको उपस्थिति रहेको साधारण सभामा बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक हिसाबले विविधतायुक्त नेपाली समाजको संरचना र विशेषताका बारेमा पनि जानकारी गराईएको थियो ।

मध्यान्ह १२ बजे सुरु भएको सो साधारण सभा अपरान्ह ३ बजेसम्म चलेको थियो ।***

तपाईको प्रतिक्रिया