शुक्रबार, जेठ ०४, २०८१
Friday, May 17, 2024

टोकियो – नेपाली राजनीतिमा असाध्यै सरल र सादगी जीवनशैली बिताउने स्वच्छ छवि भएका नेताकोरुपमा परिचित छन् चित्रबहादुर केसी ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसीको वाक कौशल पनि निकै रुचाईन्छ । सलल बगेको सरल भाषा र गाउँले लवजमा रोचक टुक्का जोडेर आफ्ना अभिब्यक्तिलाई अझ आकर्षक बनाउन उनी माहिर मानिन्छन् । अधिकांश जनताको आवाज बुलन्द गर्दै लामो समयदेखि निरन्तर सक्रिय केसी राष्ट्रिय राजनीतिमा फिगर टावर मानिन्छन् ।

आजभन्दा ६४ वर्ष अगाडि अर्थात २०१२ सालमा ९ वर्षकी पार्वती केसीसंग लगनगाँठो कसेका नेता केसी त्यतिबेला १४ वर्षा थिए । तत्कालिन प्रचलन अनुसार मागी विवाह गरेका केसी बिबाह भएलगत्तै श्रीमती माइत र आफु पढाईका लागि काठमाडौं झर्नुपरेकोले बिबाहको ५ वर्षपछि मात्रै श्रीमतीसंग भेट भएको उनी बताउँछन् ।

गोर्खा भर्तीमा जानलाई ठिक्क परेका केसी कारणवश काठमाडौंमा अलमलमा पर्नुपरेकोले लाहुरे हुनबाट जोगिएकोमा ठिकै गरिएछ भन्ने लागेको उनले बताए ।
नेता केसीका २ छोरा र १ छोरी छन् । जिन्दगीभरि जनता र राष्ट्रलाई केन्द्रमा राखेर राजनीति गर्दै आएका केसी २०५६ देखि काठमाडौंमै छन् । समय समयमा आफ्नो गृहजिल्ला बागलुङ पुग्ने र जनतासंग भलाकुसारी गर्ने गरेको बताउने नेता केसी विगत २० वर्षदेखि एउटै कोठामा भाडामा बस्दै आएका छन् ।

जीवनका केही समय माष्टरी जागीर पनि खाएका नेता केसी पञ्चायतकालमा राजसंस्था र पञ्चायत विरोधी क्रियाकलापमा संलग्न भएको आरोपमा ९ महिना जेल समेत बसेको र हिरासतमा छँदा निर्मम यातना भोग्नुपरेको उनले बताए ।
सञ्चारकर्मीसंगको कुराकानीको क्रममा एउटा रमाईलो प्रसंगमा उनले भनेका छन् – ‘तत्कालिन समयमा बुहारीलाई साइजमा ल्याउन सौता हालिदिने अर्थात दोस्रो, तेस्रो बिबाह गराईदिने चलन थियो, मेरा दाजुका ३ वटी श्रीमती थिए, मलाई पनि घरबाट दोस्रो बिबाह गर्न तिब्र दबाब आएको थियो, तर मैले इन्कार गरें । पछाडि फर्केर हेर्दा जिन्दगीमा मैले सबैभन्दा राम्रो निर्णय गरेजस्तो लाग्छ ।’
मुलुकको उपप्रधानमन्त्रीसम्म भईसकेका नेता केसी निरन्तर संघीयता र वर्तमान सरकारको शासनशैलीको विरोध गर्दै आईरहेका छन् । देश भ्रष्टाचारी, दलाली र गुण्डागर्दीहरुको इशारामा चलिरहेको, लाखौं युवाहरु विदेशमा पलायन हुनुपरेको देशभित्रै रोजागारी र आशाका संभावनाहरु नदेखिएकोमा चिन्ता ब्यक्त गर्दै उनी विभिन्न मिडियाहरुमा छाईरहेका छन् ।

नेपाली राजनीतिमा सुख, सयल, धन, दौलत र आरामको जिन्दगीप्रति पटक्कै मोह नराख्ने आइकन नेताका रुपमा केसीलाई लिईन्छ, सत्ताका वरिपरि झुम्मिने नेताहरुले चित्रबहादुरबाट धेरै सिक्न आवश्यक छ र नेपालमा अरु धेरै चित्रबहादुरहरु जन्मिन आवश्यक छ ।***

तपाईको प्रतिक्रिया