गैर-आवासीय नेपाली संघको निर्वाचनमा इ-भोटिङ प्रणालीको प्रभावकारिता

निकट भविष्यमा हुने गैर-आवासीय नेपाली संघ जापानको निर्वाचनका सन्दर्भमा दुई वर्ष पहिलेको निर्वाचन समितिमा रहेर काम गर्दाको मेरो अनुभव तथा त्यसबेला उठाईएका मुद्दाहरू संबोधन गर्ने उपायका सम्बन्धमा मेरो विचार प्रस्तुत गर्न मन लागेर यो लेख लेखेको हुँ । संघ-संस्थालाई लोकतान्त्रिक तरिकाले सञ्चालन गर्नका लागि स्वतन्त्र वातावरणमा स्वच्छ प्रतिस्पर्धा मार्फत कार्यसमितिको चयन गर्न अपरिहार्य हुन्छ, त्यसका लागि पारदर्शी निर्वाचन प्रक्रिया अपनाईन्छ, जहाँ सबै सदस्यहरू आफ्नो मत गोप्य तरिकाले जाहेर गर्ने अवसर पाउँछन् र उनीहरूको मत जस्ताको तस्तै गणना भई अधिकतम मत प्राप्त गरेका उम्मेदवार निर्वाचित हुन्छन् ।

गत निर्वाचनमा हामीले इन्टर्नेट भोटिङ प्रणाली विकास गर्‍यौं, जसको प्रयोग मार्फत जापानमा पहिलो पटक सबै मतदाताले आफ्नो स्मार्ट फोनन वा कम्प्युटर मार्फत मतदानमा संलग्न हुने अवसर पाए । इन्टर्नेट भोटिङमा मतदाताले सदस्यता दर्ता गर्दाको बखत प्राप्त आइडी र पासवर्डको प्रयोग गरी मतदान गर्न पाउँछन् । इन्टर्नेट मार्फत मतदाताले आफ्नो मताधिकारको प्रयोग गर्न पाउँदा निर्वाचन समिति र मतदाता दुवै पक्षलाई धेरै प्रकारका फाईदा हुन्छन् । मतदाताले आफ्नो घर, कार्यालय वा इन्टर्नेट सुविधा उपलब्ध भएका जुनसुकै ठाउँबाट मतदान गर्न पाउने हुनाले मतदाता नामावलीमा नाम भएका सबै मतदातालाई मतदानको समान अवसर प्राप्त हुन्छ । मतदाताको आफ्नो व्यवसायिक काममा कुनै बाधा हुँदैन र कुनै प्रकारको आर्थिक क्षति पनि हुँदैन । सार्वजनिक यातायात चढेर टाढा टाढा गएर मतदान गर्नुपर्ने बाध्यता पनि हुँदैन । त्यस्तैगरी निर्वाचन समितिका तर्फबाट पनि कागजको ब्यालोट पेपर बनाउन नपर्ने, विभिन्न मतदान केन्द्रमा पठाउन नपर्ने, मतदान स्थलका लागि हल बुकिङ तथा सुरक्षाको चिन्ता गर्नु नपर्ने हुनाले खर्च तथा समयको धेरै बचत हुन्छ । इन्टर्नेट भोटिङ प्रणालीलाई मतदाता, निर्वाचन समिति र उम्मेदवारको परस्पर सहयोगबाट अझ प्रभावकारी बनाउन सकिन्छ ।

मतदाताले गर्नुपर्ने काम 
सदस्यता लिँदा वा नवीकरण गर्दाको बखत सेट गरेको पासवर्डलाई यथासंभव चाँडो आफ्नै स्मार्ट फोन वा कम्प्युटरको प्रयोग गरेर आफूले मात्र थाहा पाउने गरी रिसेट गर्नुपर्दछ । पासवर्ड परिवर्तन गरेर गोप्य राखेमा आफ्नो मतदान अधिकार आफूमा मात्र रहने गरी सुरक्षित राख्न सकिन्छ । निर्वाचनको दिनका लागि भनेर आफ्नो मतदाता आइडी तथा पार्सवर्ड राम्ररी सम्झिने वा आफूले मात्र हेर्नसक्ने कागजमा लेखेर राख्नुपर्छ । यसो गरेमा निर्वाचनको दिन आफ्नो आइडी तथा पासवर्ड बिर्सेर वा नमिलेर मतदानबाट वञ्चित हुनुपर्ने अवस्था आउँदैन ।

निर्वाचन समितिले गर्नुपर्ने काम 
हरेक मतदाताले गोप्य मतदान गर्न पाउनका लागि निर्वाचनको दिन भन्दा कम्तीमा दुई हप्ता अगाडिबाटै इन्टर्नेट भोटिङ प्रणाली अभ्यासका रूपमा प्रयोग गर्न पाउने व्यवस्था मिलाउनु पर्दछ । सो प्राक्टिस अवधिलाई निर्वाचन कार्यक्रमको समय तालिकामा नै समावेश गर्नुपर्छ । सबैले बुझ्ने सरल, शुद्ध नेपाली भाषामा भोटिङ प्रणालीको प्रयोग म्यानुअल बनाएर विभिन्न माध्यम (जस्तै सामाजिक सञ्जाल, वेबसाइट, पत्रकार सम्मेलन, पत्रपत्रिका मार्फत प्रचार प्रसार गरेर मतदातासम्म पुर्‍याउन सकिन्छ ।

उम्मेदवारले गर्नुपर्ने काम
मतदातालाई मतदानमा सक्रियताका साथ भाग लिनका लागि प्रोत्साहन गर्ने काममा उम्मेदवारको गहन भूमिका हुन्छ । उम्मेदवारहरुले आफ्नो प्रचार प्रसार वा भोट माग्ने क्रममा मतदातालाई इन्टर्नेट भोटिङ प्रणालीका बारेमा जानकारी दिई पासवर्ड परिवर्तन गरी गोप्य राख्ने र प्राक्टिस गर्ने बारेमा सूचित गर्नुपर्दछ । प्राक्टिसका क्रममा मतदाताले अनुभव गरेका प्राविधिक कठिनाई तथा प्रयोग सम्बन्धित गुनासालाई निर्वाचन समितिसम्म पुर्‍याएर प्रणालीको सुधार गर्ने काममा सहयोग गर्नुपर्दछ ।

गत निर्वाचन पश्चात् इन्टर्नेट भोटिङका सम्बन्धमा मुख्यतयाः दुई त्रुटिहरू चर्चामा आएका थिए – -(१) एकै जनाले धेरै जनाको नामबाट मतदान गरेको, र
(२) मतदान प्रक्रिया र मतगणना प्रक्रिया सबैले बुझने स्तरको पारदर्शी नभएको ।

एकै जनाले धेरै जना मतदाताको नामबाट मतदान गर्न सकेको चाहिँ इन्टर्नेट भोटिङ प्रणालीको त्रुटि नभएर सदस्यता बनाउने प्रक्रियाको लापरवाहीका कारणले भएको थियो । एकै जना मान्छेले धेरै जनाको नाम संकलन गरी सबैको नामको आइडी र पासवर्ड आफैले राखेर पनि सबैको नाममा मतदान गरेको हुनाले यो समस्या आएको थियो । यो समस्या सकेसम्म समाधान गर्ने हेतुले मतदाताले आफ्नो पासवर्ड आफै परिवर्तन गर्नका लागि निर्वाचन समितिले पटक पटक आहृवान गरेको थियो । यो समस्याको निराकरण गर्नका लागि इन्टर्नेट भोटिङ प्रणालीको सुधार भन्दा पनि विदेशमा बसेका हामी नेपालीले आफ्नो आचरण र इमान्दारितालाई सुधार गर्न आवश्यक छ । एक जनाले धेरै जनाको नामबाट सदस्यता लिएर आइडी, पासवर्ड लुकाएर राख्नु नैतिकताले दिँदैन भन्ने अक्कल सम्बन्धित सबैमा पलाउन जरुरी छ । साथै सदस्यता दिने पदाधिकारीले पनि मतदाताको आइडी, पासवर्ड जस्तो अत्यन्त संवेदनशील प्राइभेट इन्फर्मेशन अर्कै व्यक्तिको हातमा सुम्पिनु गैर जिम्मेवारी र अनैतिक हो भनि हेक्का राखेर काम गर्न जरुरी छ । सचेत मतदाताले पनि यसरी अरू नै व्यक्ति मार्फत आएको आफ्नो पासवर्डलाई सकेसम्म चाँडो आफूले मात्र थाहा पाउने पासवर्डमा परिवर्तन गर्न जरुरी छ । सदस्यता वितरण गर्दा गलत तरिकाले आइडी, पासवर्ड वितरण गरिएको त छैन भनि हुनेवाला उम्मेदवारहरुले पनि बेलैमा सप्रमाण खबरदारी गर्न जरुरी छ ।

अब मतदान प्रक्रिया र मतगणना प्रक्रियाको पारदर्शिताका बारेमा चर्चा गरौं । इन्टर्नेट भोटिङ प्रणालीमा मतदानको समय सुरु भएपछि मात्र मतदाताले आफ्नो आइडी र पासवर्डको प्रयोग गरी मत खसाल्ने र खसालेको मत कम्प्युटर सर्भरमा भण्डारण गरिन्छ । त्यसैले यसमा उम्मेदवारका प्रतिनिधिहरूको उपस्थितिमा मतदान सुरु हुनुभन्दा पहिले मतपेटिका खाली भएको भनि देखाई रहनु आवश्यक नभएको ठानिएको थियो । साथै मतगणनाका बखत पनि कम्प्युटरमा केही क्लिकमा सबै नतिजा आउने र गणनाका क्रममा कम्प्युटरले कुनै धाँधली नगर्ने हुनाले ब्यालोट पेपर गन्नका लागि जस्तो उम्मेदवारका प्रतिनिधिहरुको आवश्यकता ठानिएन र पत्रकारहरूको उपस्थितिमा नतिजा सार्वजनिक गरिएको थियो । कागजी मतपत्रको प्रयोग गर्ने निर्वाचन प्रक्रियासंग मात्र चिरपरिचित हामी मध्येका केहीलाई यसरी उम्मेदवारका प्रतिनिधिलाई बाईपास गरेको देख्दा निर्वाचनको प्रक्रिया र इन्टर्नेट भोटिङ प्रणाली प्रति नै अविश्वास हुनु स्वभाविक हो जस्तो लाग्छ । यो समस्यालाई इन्टर्नेट भोटिङ प्रक्रियामा सानो हेरफेर गरेर सजिलै संबोधन गर्न सकिन्छ ।

इन्टर्नेट भोटिङ गराउँदा पनि उम्मेदवारका प्रतिनिधि राखेर मतदान शुरु गर्न र मत गणना गर्न सकिन्छ । यसका लागि निर्वाचन समिति र उम्मेदवारका प्रतिनिधिको समय, समझदारी र सहकार्यको आवश्यकता पर्दछ । निर्वाचनको दिन मतदान सुरु हुनु भन्दा दुई घण्टा जति अगाडि उम्मेदवारहरुका एक-एक जना प्रतिनिधि, पत्रकार तथा बुद्धिजीवी पर्यवेक्षकहरू समावेश गरी निर्वाचन समिति एक शान्त कोठामा भेला हुनुपर्छ । निर्वाचन समितिका प्राविधिक विज्ञले इन्टर्नेट भोटिङ मार्फत संकलन गरिने मत भण्डारण गरिने डाटाबेस खोलेर देखाई खाली रहेको कुरा प्रमाणित गर्न सकिन्छ । मतदानको समय सुरु भए पछि त्यहाँ उपस्थित प्रतिनिधिहरूलाई आ-आफ्नो स्मार्टफोनबाट मतदान गर्न लगाउनुपर्छ । यसरी मतदान हुँदै गर्दा मतदान गरिसकेका मतदाता संख्या बढेको दृश्य मतदान अवधिभरि सबैले देख्ने गरेर कम्प्युटर प्रोजेक्टर मार्फत डिस्प्ले गर्नुपर्दछ । मतदान गरेका मतदाता संख्या हेर्ने सुविधा इन्टर्नेट भोटिङ प्रणालीमा उपलब्ध छ, जुन गत निर्वाचनमा पनि इन्टर्नेटमा मतदान अवधिभरी हेर्न सकिन्थ्यो । सोही समयमा बाहिरका मतदाताले पनि मतदान गरिरहेको हुन सक्छन् । त्यसैले भित्रका एक प्रतिनिधिले मतदान गर्दा डिस्प्लेमा मतदान गरिसकेका मतदाताको संख्या एक भन्दा बढि अंकले बढेको हुनसक्छ, संख्या बढ्दै नबढ्नु समस्या हो, तर एक वा एक भन्दा बढिले बढ्नु भनेको सिस्टमले राम्ररी गणना गर्दैछ भन्ने प्रमाणित हुन्छ । तोकिएको मतदान अवधिभरि प्रतिनिधि र निर्वाचनको सिस्टमको व्यवस्थापन गर्ने प्राविधिक विज्ञ एउटा कोठामा सँगै बसेर मतदान प्रगति निरीक्षण गरेर बस्नुपर्दछ । यदि कुनै अकल्पनीय कारणले सिस्टममा समस्या देखिएमा सबैको सहमतिमा पारदर्शी तरिकाले समाधान गर्न सकिन्छ । कोठाको वातावरणलाई शान्त राख्नका लागि प्रतिनिधिहरूलाई मोबाइल फोनमा कुरा गर्न प्रतिबन्ध लगाउँदा राम्रो हुन्छ । समझदारीमा टेक्स्ट म्यासेजको प्रयोग गर्न अनुमति दिन सकिन्छ ।

यसरी मतदान हुँदै गई मतदानको अवधि सकिएपछि कोठामा उपस्थित सबै प्रतिनिधिको रोहबरमा मतगणनाको प्रक्रिया सुरु गर्न सकिन्छ । निर्वाचनको सिस्टमको व्यवस्थापन गर्ने प्राविधिक विज्ञले कम्प्युटरमा केही कमाण्ड टाइप वा क्लिक गर्ने बित्तिकै मतगणना पुरा हुन्छ र परिणाम आउँछ । उम्मेदवारका मत प्राप्ताङ्कलाई नतिजा प्रकाशनका लागि तोकिएको ढाँचामा लेख्न केही समय लाग्न सक्छ । त्यसपछि सबै प्रतिनिधिको हस्ताक्षर सहित निर्वाचनको नतिजा पत्रकार सम्मेलन गरी प्रकाशन गर्न सकिन्छ ।

गत निर्वाचनमा मैले डिजाइन गरेको इन्टर्नेट भोटिङ प्रणालीमा हरेक मतदाताले आफ्नो भोट जस्ताको तस्तै सिस्टममा भण्डारण भएको र सही गणना भएको भनि हेर्न सक्ने सुविधा उपलब्ध गराईएको थियो । त्यसका लागि मतदाताले मतदान गरिसकेपछि आफ्नो मतलाई रेकर्डका लागि पीडीएफ फाइलका रूपमा आफ्नो कम्प्युटरमा वा स्मार्ट फोनमा सेभ गरेर राख्न सकिन्छ । त्यो फाइलमा मतदानको बेला उक्त मतदाताका लागि मात्र भनेर सिस्टमले सिर्जना गरेको एउटा कोड पनि हुन्छ । जुन सम्बन्धित मतदातालाई मात्र थाहा हुन्छ । निर्वाचन समितिलाई पनि कुन कोड कसको भनि थाहा हुँदैन । यदि कुनै प्रतिनिधिले निर्वाचन नतिजामा हस्ताक्षर गर्नुभन्दा पहिले आफ्नो भोट जस्ताको तस्तै भण्डारण भएको छ छैन भनि चेक गर्न मन लागेमा आफ्नो कोड निर्वाचन समितिलाई उपलब्ध गराएर सजिलै हेर्न सकिन्छ ।

गत निर्वाचनका बेलामा इन्टर्नेट भोटिङ प्रणाली सुरक्षाका दृष्टिकोणले कमजोर हुने, भाइरस एट्याक वा डोसएट्याक हुन सक्ने जस्ता शंका-उपशंका आधारमा धेरै प्रश्नहरू उठेका थिए । तर त्यस्तो केही भएन । निर्वाचनका लागि प्रयोग गरिने कम्प्युटर सर्भर अत्यन्त सुरक्षित क्लाउड (जस्तै Amazon AWS) मा हुन्छन् । वेबसाइट डिजाइनका लागि तोकिएका आधारभूत सुरक्षा प्रक्रिया पुरा गरेको इन्टर्नेट निर्वाचन प्रणालीलाई बाहिरबाट एट्याक गरेर काम थप्प पार्न सजिलो छैन । त्यस्तै गरि एउटा आइपी एड्रेसबाट एकजना मतदाताले मात्र मतदान गर्न पाउने र एउटा फोनबाट एक जनाले मात्र मतदान गर्न पाउने प्रावधान प्रयोग गरी निर्वाचनलाई स्वच्छ बनाउन सकिन्छ भन्ने तर्क पनि आएको थियो, जुन कुरा प्राविधिक दृष्टिकोणले हेर्दा असंभव छ । अहिलेको इन्टर्नेटको संरचनामा मतदाताका कम्प्युटर तथा स्मार्ट फोनलाई ग्लोबल आईपी एड्रेस उपलब्ध हुँदैन र सर्भर पनि क्लाउडमा हुने हुनाले आइपी एड्रेसका आधारमा मतदाता छुट्याउन असंभव छ । निर्वाचनलाई स्वच्छ बनाउन आईपी एड्र्रेसका पछि नलागेर निर्वाचनमा संलग्न सम्पूर्ण मतदाता, उम्मेदवार र पदाधिकारीहरू राम्रो आचरणका पछि लाग्नुपर्छ ।

(लेखक डा. काफ्ले सूचना प्रविधिका वरिष्ठ अनुसन्धानकर्ता तथा गैर-आवासीय नेपाली संघ, जापानका सल्लाहकार हुनुहुन्छ)

तपाईको प्रतिक्रिया
© २००६–२०१८ सर्वाधिकार समुद्रपारिमा सुरक्षित