शुक्रबार, जेठ ०४, २०८१
Friday, May 17, 2024

टोकियो – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको भवन निर्माण सहयोगार्थ टोकियोमा आईतवार एक विशेष साँगीतिक कार्यक्रम सम्पन्न भएको छ ।
प्रतिठानको जापान शाखाले आयोजना गरेको उक्त कार्यक्रममा नेपाली तथा जापानी कलाकारहरुको साँगीतिक प्रस्तुती रहेको थियो ।

शाखाका अध्यक्ष युवराज आचार्यको सभापतित्व र वरिष्ठ गायक तथा संगीतकार ईश्वर गुरुङको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रम राष्ट्रियगानबाट सुरु भएको थियो भने सभाध्यक्ष र प्रमुख अतिथिले दीप प्रज्वलन गरी कार्यक्रमको उदघाटन गरेका थिए ।

प्रमुख अतिथिको आसनबाट बोल्दै वरिष्ठ गायक गुरुङले जापानमा रहेका राम्रा प्रतिभाहरुलाई माथि उठाउन प्रतिष्ठानले थप मिहिनेत गर्नुपर्ने धारणा ब्यक्त गरे । उनले अगाडि भने – ’पछिल्लो समयमा लोकदोहोरीको क्षेत्रमा विसंगती, विकृति एवं छाडापन भित्रिएको छ, यसतर्फ सचेत रही मौलिक एवं उत्कृष्ट सिर्जनामा शाखाको ध्यान जान आवश्यक छ ।’
शाखाका उपाध्यक्ष सूर्य खड्काको स्वागत मन्तब्य रहेको सो कार्यक्रममा शाखाका सल्लाहकार समेत रहेका पत्रकार तिलक मल्ल, बेलुकाजी थापा र पत्रकार महासंघ जापान शाखाका अध्यक्ष मोहन घले लगायतको शुभकामना मन्तब्य रहेको थियो ।

कार्यक्रममा सूर्य खड्का, छवि पाण्डे, प्रेम बस्नेत, रामशरण रसाईली, खड्क पुन, विमला थापा, हिरा श्रीष, खेम पौडेल, अमित सापकोटा, चेतन घर्तीमगर, समुन्द्र पौडेल लगायतका कलाकारहरुले लोकगीत, सालैजो, भजन तथा कौडा लगायतका लोकभाकाहरु प्रस्तुत गरेका थिए ।

यसैगरी कार्यक्रममा जापानी गायिका आओइ सानोले पानाको पात, रेशम फिरिरी जस्ता नेपाली गीत गाएर नेपालप्रतिको आफ्नो मोह गीतबाटै प्रकट गरिन् भने अर्का जापानी किशोरी हावा मल्लले ’जाउँ जाउँ रेलैमा’ बोलको नेपाली गीतमा नृत्य गरेर कार्यक्रममा थप रौनकता प्रदान गरिन् ।

राजधानी काठमाडौंमा प्रतिष्ठानको केन्द्रिय भवन निर्माणमा सहयोग गर्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रममा विभिन्न ढंगले सहयोग गर्ने सबैमा धन्यवाद ब्यक्त गर्दै सभाध्यक्ष आचार्यले औपचारिक समारोहको समापन गरेका थिए । कार्यक्रममा शाखाका सचिव नारायण कँडेलको सञ्चालन रहेको थियो ।***

तपाईको प्रतिक्रिया