शुक्रबार, जेठ ०४, २०८१
Friday, May 17, 2024

सेवाग्राहीलाई इन्सेन्टिभ बोनस पनि दिईने

टोकियो – जापानमा चौबिसै घण्टा खुल्ला हुने सामुदायिक पसल (कन्भिनियन्स स्टोर) सेवेन इलेभेन कम्पनी र लोशन इन्कले म्याद सकिन लागेका राइस बल (ओनिगिरी) लञ्च बक्स (बेन्तोउ) लगायतका खाद्यपदार्थ भारी छूट मूल्यमा विक्री गर्ने भएको छ । म्याद समाप्तीका कारण वर्षेनी ठूलो मात्रामा खेर गईरहेको खाद्य पदार्थलाई खेर जानबाट रोक्न ती कम्पनीहरुले भारी छूट गरी विक्री गर्ने नीति अगाडि सारेका हुन् ।
क्योदोन्यूजका अनुसार ती दुई कम्पनीहरुबाट मात्र जापानभरिमा वर्षेनी ६० लाख टन खाद्यपदार्थ खेर जाने गरेका छन् ।
म्याद सकिना लागेका त्यस्ता खाद्यपदार्थका क्रेतालाई कम्पनीले किनेको मूल्यको ५ प्रतिशत इन्सेन्टिभ बोनस पनि दिने भएका छन् । त्यस्तो बोनस लञ्च बक्स, राइस बल, चाउचाउ, पाउरोटी लगायतका ५ सयवटा खाद्यपदार्थमा दिईने छ । जापानभरि रहेका करीव २० हजार सेवेन इलेभेन र लोशनबाट यस्ता सेवा उपलब्ध गराईने भएको हो ।

ती कम्पनीहरुले सबैभन्दा पहिले एहिमे र ओकिनावा प्रिफेक्चरमा परीक्षणकारुपमा उक्त सेवा सुरु गर्ने भएका छन् । ती ठाउँहरुमा अपरान्ह ४ बजेपछि वा म्याद सकिनु केही घण्टा अघिका क्रेताहरुलाई इन्सेटिभ बोनस दिईने भएको छ । परीक्षण जुन ११ देखि अगष्ट ३१ सम्म गरिने छ ।

’हामीले सन् २०३० सम्ममा हाल खेर गईरहेको खाद्यपदार्थको मात्रामा करीव आधा कम गर्ने छौं – एक पत्रकार सम्मेलनमा बोल्दै लोशन इन्कका अध्यक्ष सादानोबु ताकेमासुले भने – ’खेर जाने खाद्यपदार्थलाई जोगाई यसबाट हुने मुनाफाबाट दिईने बोनसबाट सेवाग्राही लाभान्वित हुनेछन् भने अर्कोतर्फ विक्रि नभई खेर जान लागेका खाद्यपदार्थको विक्रिबाट पसलका मालिकहरु पनि लाभान्वित हुनेछन् ।’

लोशनले २ हजार ५ सय पसलबाट अघिल्लो वर्षको मार्च सम्ममा करीव ४४ हजार टन खानयोग्य खाद्यपदार्थ खेर फालेको थियो ।

संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनका अनुसार संभारभरिमा एक वर्षमा १ दशमलव ३ विलियन टन खानयोग्य खाद्यपदार्थ खेर जाने गरेको छ ।***

तपाईको प्रतिक्रिया